+
+

कर्मचारीको सरुवा, बढुवा अनलाइन प्रणालीमार्फत गर्न सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १० गते २०:२०

१० साउन, काठमाडौं । सरकारले गठन गरेको सरुवा व्यवस्थापन कार्यदलले बुधबार प्रतिवदेन बुझाएको छ ।

निजामती कर्मचारीहरुको सरुवासम्बन्धी समस्या हल गर्न भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले २९ जेठमा सहसचिव बलराम रिजाल संयोजकत्वमा समिति गठन गरेका थिए । जसमा सहसचिव हेमराज तामाङ, उपसचिवहरु महेन्द्रप्रसाद साँखी, खिलराज राई र कमानसिं थापामगर सदस्य थिए ।

उक्त कार्यदलले मन्त्री मोदीलाई बुझाएको प्रतिवेदनमा कर्मचारी सरुवा अनलाइन प्रणालीबाट गर्न सुझाव दिइएको छ । त्यसका लागि एउटा सफ्टवेयर विकास गर्न पनि कार्यदलको सुझाव छ ।

कर्मचारीको पदपूर्तिदेखि अवकाशसम्मका सम्पूर्ण विवरणलाई सफ्टवेरमार्फत व्यवस्थित गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । कर्मचारी व्यवस्थापन प्रणाली (पीएमएस) विकास गर्ने र सो प्रणालीलाई निजामती किताबखानाको वैयक्तिक सूचना प्रणाली (पीआइएस)सँग आबद्ध गर्न पनि प्रतिवेदनमा सुझाव दिइएको छ ।

त्यसपछि त्यसै सफ्टवेयरमार्फत बिदा स्वीकृत, सरुवाका लागि निवेदन, सरुवा सहमति, पदस्थापन, काज, कामकाज, रमाना, बरबुझारथ, हाजिर भएको जानकारी, बढुवा, विभागीय कारबाही, अनुशासन र आचरणसम्बन्धी अभिलेख, वैदेशिक अध्ययन, तालिम, निलम्बनसमेतका विवरणको व्यवस्थापन गर्न पनि सुझाव दिइएको छ ।

‘सफ्टवेयरमा संगठन संरचना र दरबन्दीको अद्यावधिक विवरण, टिप्पणी व्यवस्थापन (उठान, पेस र सदर) लगायत अभिलेख तथा स्वतः अद्यावधिक हुने व्यवस्था गर्नुपर्ने, लोकसेवा आयोगको भर्ना प्रणालीको तथ्यांकसँग यो प्रणालीलाई आबद्ध गरी कर्मचारीको माग आकृति फारामदेखि सिफारिससम्मको विवरण स्वतः लिने व्यवस्था, अतिरिक्त समूह र फाजिलमा रहेको कर्मचारीको विवरणलगायत विषय समेट्नुपर्ने’, प्रतिवेदनमा उल्लेख छ ।

कार्यदलले बुझाएको प्रतिवेदन तत्काल लागू गर्नेगरी मन्त्रालयमा गृहकार्य भइरहेको मन्त्री मोदीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?