+
+

मधेश एमालेको एक वर्ष : तोकिए पाँच काम, जनकपुरमा मिथिला भवन

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १२ गते १४:३८

१२ साउन, काठमाडौं । नेकपा एमालेले मधेश प्रदेशमा एक वर्षसम्म चल्ने कार्यक्रमको खाका तयार पारेको छ । गत चुनावमा अपेक्षित नतिजा नआएपछि एमाले संगठनात्मक सुधार गर्न एक वर्षे अभियानमा छ ।

त्यो अभियानअन्तर्गत पार्टी सचिव योगेश भट्टराईलाई एमालेले मधेशको इन्चार्ज बनाएर पठाएको छ । उनी इन्चार्ज भएर गएपछि प्रदेश कमिटीले वर्षदिने कार्यक्रमको खाका तयार पारेको हो ।

‘मधेश प्रदेशको सचिवालय बैठकले एक वर्षसम्म चल्ने कार्यक्रमको तालिका अनुमोदन गरेको छ’, मधेश प्रदेश प्रचार संयोजक अरविन्द सिंह भन्छन् । सिंहका अनुसार, गत २ साउनको बैठकले पारित गरेको कार्यक्रम वर्ष दिनसम्म मधेश प्रदेशमा चल्नेछ । अभियान अन्तर्गत मधेशको आर्थिक-सामाजिक विकासको खाका तयार पार्नुलाई एमालेले प्राथमिकतामा राखेको छ ।

वर्षदिनसम्म चल्ने कार्यक्रमले मधेश विकासको २५ वर्षे दीर्घकालीन योजना बनाउने सचिव भट्टराई बताउँछन् । ‘पार्टी संगठन विस्तार र वैचारिक प्रशिक्षण चल्ने नै भयो’ उनी भन्छन्, ‘हामी मधेशको विकासमा दीर्घकालीन योजना समेत बनाउँदैछौं ।’

उर्बर भूमि मधेशमा अहिले पनि गरिबी, बेरोजगार र पछौटेपन रहेकाले दीर्घकालीन योजना बनाउने उनी बताउँछन् । त्यसका लागि जुली महतोको संयोजकत्वमा सामाजिक-आर्थिक रुपान्तरण समृद्धि खाका समिति गठन गरिएको छ । यो समितिले मधेशको संभावना, विकासको प्राथमिकता र सामाजिक समस्या हल गर्न चाल्नुपर्ने कदमको योजना बनाउनेछ ।

‘देशको खाद्य आवश्यकता धान्न सक्ने संभावना भएको मधेशमा सिंचाइको अभावले उत्पादन बढाउन सकिएको छैन’ भट्टराई भन्छन्, ‘सामाजिक समस्याहरु डरलाग्दो छ, यी सबैको समाधान खोज्नेगरी योजना ल्याउँछौं ।’

आर्थिक-सामाजिक विकासको खाकासँगै एमालेले दोस्रो कामका रुपमा एक वर्षे संगठनात्मक गतिविधिको खाकालाई अगाडि बढाएको छ । जसमा नयाँ सदस्य बढाउने र पार्टी प्रवेशलाई प्राथमिकतामा राख्नेछ । त्यसका लागि सुमनराज प्याकुरेल संयोजक रहेको समिति गठन भएको छ ।

यो समितिले पार्टी प्रवेशलाई एकद्वार र व्यवस्थित गर्नेछ । एमालेले यो वर्षभित्रै १ लाख ७१ हजार सदस्य बनाउने योजना बनाएको छ । मधेशमा एमाले अरु प्रदेशको तुलनामा कमजोर रहेको पार्टी केन्द्रकै निष्कर्ष छ ।

प्रदेश कमिटीले भने ८० हजार हाराहारी पार्टी सदस्य मध्ये ५० हजार बढीले नवीकरण गरेको निष्कर्ष निकालेका छ । तर जनसंख्याको तुलनामा एमाले सदस्य धेरै भने होइन । मधेशमा ६१ लख १४ हजार जनसंख्या छ ।

गत चुनावमा भने मधेशमा एमाले पहिलो शक्ति बनेको छ । ३२ मध्ये प्रतिनिधिसभातर्फ अहिले एमालेले १० सिट जितेको छ भने प्रदेशसभामा २३ सिट पहिलो दल छ । तर जनमतका आधारमा कांग्रेस पहिलो शक्ति हो ।

प्रदेशसभातर्फ समानुपातिक मतमा कांग्रेसले २०.४९ प्रतिशत र एमालेले १८.०१ प्रतिशत मत पाएको छ । यो एक वर्षे अभियानमा एमालेले अर्को चुनावमा पहिलो शक्ति बन्नेगरी आधार तयार पार्ने योजना बनाएको छ ।

एमालेले अभियानको तेस्रो कामका रुपमा प्रदेश पार्टी कार्यालय भवन निर्माण तय गरेको छ । लिलानाथ श्रेष्ठको संयोजकत्वमा समिति बनाएर एमालेले जनकपुरमा मिथिला भवनका नाम पार्टी कार्यालय बनाउनेछ ।

चौथों काम, मधेशमा कम्युनिष्ट इतिहास अभिलेखलाई राखिएको छ । पुरुषोत्तम पौडेलको संयोजकत्वमा गठन भएको समितिले यो काम गर्नेछ ।

पाँचौं काम, अधिवेशन हो । आगामी ५ र ६ असोजमा प्रदेश अधिवेशन तोकेको एमालेले २० भदौभित्र जनसंगठनहरुको प्रदेश कमिटी निर्माण गर्ने भएको छ ।

आगामी फागुनसम्म जिल्ला र पालिका तहसम्म अधिवेशनबाट पार्टी नेतृत्व तयार हुने प्रचार संयोजक सिंह बताउँछन् ।

यसरी संगठित हुने कार्यकर्तालाई वैचारिक रुपमा प्रष्ट पार्न पार्टी स्कूलले प्रशिक्षण दिन थालेको छ । ‘केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी र जिल्ला अध्यक्षहरुको वैचारिक कार्यक्रम सकिएको छ’ सिंह भन्छन्, ‘अब कार्यकर्ता प्रशिक्षणका लागि प्रशिक्षक तयार पार्ने कार्यक्रम गर्दैछौं ।’

यो वर्ष दिनभित्रै पार्टीभित्रको अन्तरविरोध समेत अन्त्य हुने सचिव भट्टराई दावी गर्छन् । ‘सबैले केपी ओलीलाई अध्यक्ष मान्ने भएपछि अन्तरविरोध आवश्यक कुरा होइन । सबैलाई एकताबद्ध गरेर जाने हो’, उनी भन्छन् । यी सबै कामको प्रचार गर्न वीरगञ्जमा प्रचार कार्यालय खोल्ने तयारी एमालेले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?