+
+

यस वर्षको जेबी टुहुरे स्मृति स्रष्टा सम्मान पौडेललाई

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १७ गते ११:५५
कवि, गीतकार तथा सामाजिक अभियन्ता अनिल पौडेल । फोटो : जेबि टुहुरे फाउन्डेसन

१७ साउन, काठमाडौं । जेबी टुहुरे फाउन्डेसनले ‘जेबी टुहुरे स्मृति स्रष्टा सम्मान–२०८०’ बाट कवि, गीतकार तथा सामाजिक अभियन्ता अनिल पौडेललाई सम्मान गर्ने भएको छ ।

‘जेबी टुहुरे स्मृति स्रष्टा सम्मान–२०८०’ छनोट समितिका संयोजक खेम नेपालीको अध्यक्षतामा कलंकीमा बसेको बैठकले यस वर्ष पौडेललाई सम्मान गर्ने निर्णय गरेको हो ।

पौडेलले लेखेको ‘मृत्यु पनि मान्छेपिच्छे फरक हुँदो रै’छ, देशभक्त छोरो मर्दा देशै रुदो रै’छ’ गीत जेबी टुहुरेले गाएका थिए ।

आगामी भदौ १० गते राष्ट्रिय नाचघर, काठमाडौंमा गरिने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हातबाट पौडेललाई नगद एक लाख सहित सम्मान गरिने फाउन्डेसनकी अध्यक्ष निर्भिका टुहुरेले जानकारी दिइन् । सोही कार्यक्रममा जेबी टुुहुरेको जीवनसँग सम्बन्धित स्मृति ग्रन्थ पनि सार्वजनिक गरिने उनले बताइन् ।

२००१ कात्तिक १५ गते धरानको पुरानो बजारमा जन्मिएका जुठबहादुर खड्गी (जेबी टुहुरे)ले गीत संगीतको क्षेत्रबाट नेपालको लोकतान्त्रिक आन्दोलनलाई माथि उठाउन योगदान गरेका थिए । उनले गाएका ‘बसाइँ हिंड्नेको ताँतीले’, ‘आमा दिदी बैनी हो’ जस्ता गीतहरु कालजयी छन् । टुहुरेको २०७८ भदौ १० गते काठमाडौंको वयोधा अस्पतालमा निधन भएको थियो ।

उनकै स्मृतिमा जेबी टुहुरे फाउन्डेसनले गत वर्षदेखि स्रष्टा सम्मान कार्यक्रम गर्दै आएको छ । गत वर्ष धरानमा आयोजित जेबी टुहुरे स्मृति स्रष्टा, सम्मान कार्यक्रममा ‘बसाइँ हिंड्नेको ताँतीले’ गीत लेखेका लव प्रधानलाई सम्मान गरिएको थियो ।

२०२० को दशकदेखि कम्युनिष्ट विचारधारासँग नजिक भएका जेबी टुहुरेले २०२४ सालदेखि जनताका गीत गाउन थालेका थिए ।

जनगायकका रूपमा स्थापित जेबी टुहुरेको राजनीतिक आबद्धता माले, एमाले हुँदै पछिल्लो समय माओवादी केन्द्रमा थियो । दोस्रो संविधानसभामा माओवादी केन्द्रबाट सभासद् बनेका उनी जनसांस्कृतिक महासंघका संरक्षक र माओवादी केन्द्रका सल्लाहकार थिए ।

उनलाई अझै नजिकबाट चिनाउने प्रयासमा उनकी छोरी निर्भिका सक्रिय छिन् । जेबी टुहुरेको अधुरो आत्मवृत्तान्त (बायोग्राफी)लाई पूर्णता दिने र वृत्तचित्र निर्माणको कामलाई पनि सँगसँगै अगाडि बढाइरहेको उनी बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?