+
+

रोकियो भक्तपुर जिल्ला क्रिकेट संघको चुनाव

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १७ गते २०:४०

१७ साउन, काठमाडौं । भक्तपुर जिल्ला क्रिकेट संघको भोलि बिहीबारका लागि तय भएको साधारणसभा नहुने भएको छ ।

मापदण्ड पूरा हुँदा पनि आफूहरुलाई सदस्य नदिएको भन्दै अशोक रत्न शाक्यसहितले हालेको मुद्दामा उच्च अदालत, पाटनले १५ साउनमा अल्पकालीन अन्तरिम आदेश दिएको थियो । त्यसलाई निरन्तरता दिने नदिनेबारे बुधबार न्यायाधीशद्वय गोकर्ण डाँगी र अमृतबहादुर बस्नेतको संयुक्त इजलासमा सुनुवाइ थियो ।

अन्तरिम आदेशलाई निरन्तरता दिन नहुने भनेर क्रिकेट संघ (क्यान) का केन्द्रीय कोषाध्यक्ष रोशन सिंहले समेत बहस गरेका थिए । तर इजलासले प्रमाण बुझ्ने आदेश दिएर अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

अर्को पेशी २४ गतेका लागि ताकिएको छ । यससँगै बिहीबारका लागि तय भएको साधारणसभा रोकिएको जिल्ला अध्यक्ष रुपक रञ्जितले जानकारी दिए ।

के हो विवाद ?

भक्तपुरका संस्थापक सचिव अशोकरत्न शाक्यसहित ५ जना र दुई क्रिकेट क्लबले सदस्यताका लागि निवेदन दिएका थिए । निवेदन दिनेमध्ये प्रवीण जोशी खेलाडी, सुमन उदय २०७६ मै सदस्य थिए भने सुरजकुमार राई प्रशिक्षक, राजेन्द्रमान श्रेष्ठ स्कोरर हुन् । रोबस्ट क्रिकेट क्लब र इनातोपासा क्रिकेट क्लबले पनि सदस्यता मागेको थियो ।

क्रिकेट संघले पनि सदस्यता दिन भनेको थियो । अध्यक्ष चतुरबहादुर चन्दले ९ साउनमा पठाएको पत्रमा संघको विधानअनुसार उनीहरु सदस्यता प्राप्त गर्न योग्य भएकाले सदस्यता दिएर जिल्ला अधिवेशन अगाडि बढाउन भनिएको छ ।

तर जिल्ला कार्यसमितिले सदस्यता दिन मानेन । अशोक रत्नको दुई पूर्ण कार्यकाल पूरा नभएको, सुमन उदयले रिलिज लेटर लिएर गएको तथा प्रविण जोशीले भक्तपुर जिल्ला छाडेर त्रिभुवन आर्मीबाट खेलदेको जिल्लाको दाबी छ ।

प्रशिक्षक सुरजकुमार राई र स्कोरर राजेन्द्रमान श्रेष्ठ भने भक्तपुरको नभएको जिल्ला कार्यसमितिको दाबी छ । रोबस्ट इनातोपासा क्रिकेट क्लबलाई भने ८ वर्षदेखि भक्तपुरमा क्लबस्तरीय प्रतियोगिता नभएकाले सदस्यता दिन नसक्ने उसको तर्क छ ।

जिल्ला क्रिकेट संघको निर्णयविरुद्ध अशोक रत्न शाक्यहरु उच्च अदालत, पाटन गए । न्यायाधीश नरिश्वर भण्डारीको एकल इजलासले १८ गतेका लागि तय भएको साधारणसभा नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?