+
+

नारा लाग्नाको बसिबियाँलो

बाजुरा, बझाङदेखिका खम्पाहरूले आधा जीवन बिताउने रानीखर्कको पाटन यहीँ छ। सैपालको आँगन नाम्खा नै हो। भोट्या भाषा, संस्कार र संस्कृतिको बारेमा तिब्बतमा अध्ययन गर्न नसकेको कुरा नाम्खामा गर्न सकिन्छ।

डा. दीपेन्द्र रोकाया डा. दीपेन्द्र रोकाया
२०८० साउन २० गते १६:४९

असार लाग्दासम्म हिउँले अवरुद्ध लिमी जाने बाटो खुलेन। यसैले हामी सिमकोटबाट सीधै हिल्सातिर लाग्यौं। नारा लाग्ना (भञ्ज्याङ) मा पुग्दा साँझ ७ बजिसकेको थियो।

घामले बिदा लियो। लेक काट्ने बित्तिकै गाडी बिग्रियो। जोड–जोडले हावा चल्न थाल्यो। यसले भोट क्षेत्रको मर्म बोध गराउँदै थियो।

नेपालतिरै हरियाली छुटे पनि उजाड भूमिमा जनवादी व्यवस्था आएका कारण ताक्लाकोट बजार चम्कँदै गएको छ। त्यहीं धार्मिक आस्थाको केन्द्र कैलाश मानसरोवर छ।

नारा लाग्नाबाट नाम्खाको चर्चा गर्न चाहन्छु। हिल्सा बजारमा अहिले करिब ७० घर बनिसकेका छन्। जति घर छन्, ती होटल हुन्। यहाँको विकास देखेर खुशी लाग्छ।

२०५२ सालमा हिल्सा चौर पुग्दा सुनसान बगर थियो। २०६४ मा तीन घर बनेको र दुई घर बन्दै थिए। २०६८ मा ३७ वटा र २०७८ मा पुग्दा ५८ वटा घर बनिसकेका थिए। हिल्सा बजारको विकास हुँदैछ।

यस पटक हिल्सा गेटसम्म पुगियो। हिल्सा गेट देख्दा मेरो मन खुलेन। जुनबेला कर्णाली प्रदेशमा भेरी बबई, कपुरकोट र राकममा अन्तरप्रदेश सीमा गेट बनाउने प्रस्ताव हुँदैथियो, त्यो बेला म कर्णाली प्रदेश योजना आयोगमा थिएँ। अन्तर्राष्ट्रिय नाका हिल्सामा पनि अझ राम्रो सीमा गेट बनाउन प्रस्ताव गरी एक करोड बजेट विनियोजन गर्न लगाएको थिएँ।

कुनै दिन देश–विदेशका नागरिकले नेपाल र कर्णालीको कला र संस्कृति झल्कने हिल्सा गेट आउने गरी तस्बीर लिनेछन् भन्ने सोचेको थिएँ। तर यहाँ त्यस्तो बनेको पाइएन। यही गेट उद्घाटन गर्न यसअघिका तीन जना सम्बन्धित मन्त्रालयका मन्त्रीले भ्रमण तालिका बनाएको तर मौसम प्रतिकूल हुनाले रद्द भएको जानकारी सम्झनामा आयो। योजना बनाउँदाको सोच कार्यान्वयन हुँदासम्म अर्कै रूपमा व्यक्त भएको देख्नु पर्दा दु:ख लाग्छ।

कोरोना महामारीका कारण बन्द सीमा भर्खरै खुलेको छ। ताक्लाकोटमा व्यापार गर्नेहरूले कोठा लिंदैछन्। काम गर्न जानेहरू यस पटक त्यति सन्तुष्ट छैनन्। प्रशासनिक रूपमा सीमा वार्ताको तयारी भइरहेको थियो भने यो लेख लेख्दै गर्दा सीमा वार्ता सम्पन्न भइसकेको छ। यस वार्ताबाट हुम्लाका हुम्ली र मेरो देश नेपालले लाभ उठाउन सकोस् भन्ने चाहन्छु।

देशले फाइदा उठाउनका लागि यहाँ रहेको भन्सार, अध्यागमन र सीमा प्रहरीलाई स्रोतसाधन सम्पन्न बनाउनै पर्दछ। आफ्नो व्यक्तिगत खर्चले कार्यालय चलाएर को बस्न सक्छ ? सम्बन्धित कार्यालय प्रमुखहरूको भनाइ सम्बन्धित निकायले सुन्न जरुरी छ।

चिनियाँ सूचना नेटवर्कबाट जोडिएको हिल्सालाई आफ्नै सूचना नेटवर्कमा जोड्नुपर्छ। कोरोनाकालमा स्वास्थ्य शिविर राखिएको थियो, यसलाई स्वास्थ्य चौकीको रूपमा स्थापना गर्न आवश्यक छ।

चीन र नेपालको सीमा क्षेत्र हेर्दा व्यवस्थित र अलि सुगम लाग्ने नाका हिल्सा नै हो। यारीमा बन्ने भनिएको सुख्खा बन्दरगाह भविष्यमा बन्दै गर्ला तर यहाँ आएको सामान राख्ने मिनी गोदामको व्यवस्था गर्नैपर्ने देखिएको छ।

यसका साथै, क्वारेन्टाइनको व्यवस्था अनिवार्य छ। बल्लतल्ल प्रहरी कार्यालय बन्दैछ। यसैगरी भन्सार, अध्यागमन, स्वास्थ्य र क्वारेन्टाइनको एकीकृत कार्यालय बनाउन आवश्यक छ।

कर्णाली करिडोरको छार्या खण्डको ट्रयाक खोल्ने बित्तिकै यो नाका व्यापारका साथै पर्यटन आवागमनका कारण सबैभन्दा बढी सञ्चालनमा आउने अनुमान गरिएको छ। यसका लागि खुलालुदेखि सल्लीसल्ला, सिमकोट र हिल्सासम्म तथा सल्लीदेखि लुलुङसम्मको सडक दुई लाइनमा स्तरोन्नति गर्नुपर्छ।

हिल्साको बेलीब्रिज हुँदै नौमुल्या पुग्यौं। सहकर्मी पर्यटन विज्ञ डा. भरतप्रसाद बडालले हिल्साको इतिहास कोट्याउनुभयो। हिल्साबारे कसैले लेखेको पाइँदैन। मेरो जानकारीमा देवपुरी हुम्लामा देउताका प्रतिनिधि चुनिएका धामीहरूले पतुर्दा भने अनुसार हिल्सा भूमि देउताको नाम हो। बाह्र सालको भोटको लडाईमा किरो कमिलो समेत गएको थियो रे !

त्यो समय यकिन गर्न सकिएको छैन। नौमुल्या चाहिं लडाईबाट फर्कंदा महादेवको विशेष उपस्थितिमा हिल्साको अध्यक्षतामा हुम्लाको कुन गाउँमा को बस्ने भनेर स्थान निर्धारण गर्न र लडाईबाट प्राप्त सामान बाँडफाँट गर्न बैठक बसेको ठाउँ हो।

यो कुरा गर्दै जाँदा बडालजीले ‘नारायण’ बाट विभाजन गरी लेकको नाम नारा र गाउँको नाम यारी राखिए जस्तो लाग्छ भन्नुभयो। हुनसक्छ। भोटको लडाईंबाट फर्कंदा नारदले सञ्चार गर्न नाराको अग्लो भञ्ज्याङमा उभिएर सबभन्दा पहिले नारायण, नारायण भनेको र ठाडा ढुङ्गालाई आधा लेक काटियो भनेर थाहा पाउन उभ्याइएको पो हो कि !

भोट्या भाषामा ‘नाम्खा’ को अर्थ ‘खुला आकाश’ हुन्छ। हामीले खुला आकाशभन्दा पालिकाको नामले अर्थबोध नगर्ने भएकाले ‘खुला आकाश मुनिको भूक्षेत्र’ भनी व्याख्या गर्‍यौं। नाम्खा गाउँपालिका साविकको मुचु, याल्बाङ, केर्मी, खगालगाउँ र हेप्का गाउँ विकास समितिलाई एक गरेर बनाइएको छ। यो नेपालकै सबैभन्दा ठूलो गाउँपालिका हो।

यारीदेखि सिमकोट लाग्नासम्म शे फुल फुलेको छ। यसलाई यसपटक नाम्खा गाउँपालिकाको नीति तथा कार्यक्रमबाट शे फुल चियाबगान नामकरण गरिएको छ। प्रकृतिले दिएको चिज उपयोग गर्न नसक्नु हाम्रो कमजोरी हो। प्रकृतिप्रदत्त स्रोतको पहिचान र परिचालन गर्नुपर्छ।

चिनियाँहरूले यसलाई चियाको रूपमा उपयोग गरिरहेका छन् भने हामीले किन उपयोग नगर्ने ? यसो त उद्योग वाणिज्य महासंघ हुम्लाका अध्यक्ष नाम्ग्याल लामाले यसलाई भक्तपुरको एक ल्यावमा परीक्षण गराइसक्नुभएको छ।

नाम्खामा खेतीयोग्य जमिन निकै कम छ। यहाँ जौ, उवा, फापर, कोद्या, नाफल, चिनु, कागुनी, घोगा, आलु, कला, सिमी, मार्स्या, तोरी जस्ता खाद्य बाली उत्पादन हुने गर्दछ। स्याउ, ओखर, चुली, खमु जस्ता फलफूल उत्पादन हुन्छ। यसबाट वाइन, जुस र तेल निकालेर मनग्ये फाइदा उठाउन सकिने देखिएको छ।

यहाँका सबै घरधुरी कृषि पेशामा संलग्न छन्। औसत कम वर्षा र सुख्खा मौसमका कारण कृषि उत्पादन न्यून हुने गर्दछ। गाउँपालिकाको मुख्य जीविकोपार्जनका स्रोतहरू काठ, खुद्रा पसल, बाख्रापालन, चौंरीपालन, गुच्ची च्याउ, यार्सागुम्बा जस्ता जडीबुटी संकलन, घुमन्ते व्यापार, वैदेशिक रोजगार आदि रहेका छन्।

प्रसिद्ध लेखक राहुल सांकृत्यायनले उल्लेख गरे जस्तो लाग्छ, स्टालीनकालीन सोभियत संघले साइबेरियामा उत्पादन बढाउने योजना बनाएर संसारका नामुद कृषि विज्ञहरूलाई सबैखाले सुविधा दिएर साइबेरियामा पठाएको थियो। उनीहरू अनुसन्धानमा थिए।

त्यसैबेला हुम्लाको मुचु र यारी क्षेत्रबाट भिक्षा पाएको नाफल बोकेर साइबेरिया पुगेका एक जना जोगीबाट प्राप्त हुँदा विज्ञहरूले उत्पादनमा सफलता हासिल गरेका थिए। हामीले भूगोल सुहाउँदो उत्पादन गर्न सके कृषि उत्पादन बढाउन सक्छौं।

म सम्झन्छु, २०६८ मा यारीका एक जना इष्टले ग्रीन हाउसमा तरकारी र खुर्सानी फलाउँदा टोपीटाल्या (खस) इष्ट बिर्सेको जानकारी त्यतिकै दिनुभएको थिएन।

नाम्खा गाउँपालिकामा ५९८ घरधुरीले पशुपालन गर्दछन्। उच्च हिमाली भू–भागमा रहेकाले चौंरी, भेडा तथा च्याङ्ग्रा एवम् तोल्वीनी, बाख्रा तथा कुखुर पालन हुन्छ। एक अध्ययन अनुसार यहाँ आफ्नै उत्पादनबाट खाद्यान्न आपूर्तिको अवस्थालाई विश्लेषण गर्दा ५५९–६८५ घरधुरीलाई आफ्नै उत्पादनले ६ महिनाभन्दा कम समय पुग्छ।

यस्तै १७५–२१५ घरधुरीहरूलाई ६ देखि ९ महिनासम्म पुग्छ। यसैगरी ४५–५५ घरधुरीलाई ९ देखि १२ महिनासम्म खान पुगेको देखिन्छ भने बाँकी ६५ घरधुरीलाई आफ्नो उत्पादनले वर्षभरि पुगेर केही बचत हुने गरेको पाइन्छ।

२०६८ सालको जनगणनाले नाम्खामा ३९०० जनसंख्या रहेको देखिन्थ्यो। तर २०७८ को जनगणनाले ३५८९ जनसङ्ख्या मात्र रहेको देखायो। जनगणनामा विश्वास गर्न गाह्रो भएकाले नाम्खा गाउँपालिका आफैंले २०७९ असारमा घरधुरी सर्वेक्षण गर्‍यो । जसअनुसार कुल जनसंख्या ४,५०६ रहेको छ। जसमा महिला २२०२ र पुरुष २३०४ जना रहेका छन्। यस पालिकामा जम्मा घरधुरी ७९० छ।

नाम्खामा ६० वर्षमाथिका ज्येष्ठ नागरिक २४४ जना छन्। बालबालिका १३०० जना छन् भने युवाहरू २,९६२ रहेको पाइन्छ। युवा जनशक्ति अत्यधिक हुनुले नाम्खा समृद्ध हुने आधार देखा परेको छ। नाम्खाका युवाहरू यो वा त्यो पेशा व्यवसायमा संलग्न छन्। ताक्लाकोट पुग्दा नाम्खाली भेटिन्छन्।

सिमकोट, नेपालगञ्ज, सुर्खेत, काठमाडौं बौद्ध क्षेत्रमा पनि नाम्खाली छन्। यस्तै भारतको उत्तरप्रदेश र दिल्लीमा पनि नाम्खाली युवाहरू भेटिन्छन्। यसैले नाम्खा गाउँपालिकाले ‘शिक्षित नाम्खा र स्वावलम्बी नाम्खाली’ को दीर्घकालीन सोचका साथ योजनाबद्ध विकास गर्न खोजेको छ। यो पालिकामा अन्तर्राष्ट्रिय नाका पनि हुनुले नाम्खाको संभावनाको ढोका खुल्दैछ।

२०६८ मा सीप नेपालका अंगबहादुर लामासँग मुचु पुगेको राति त्यहाँका चर्चित लामा शिवा गुरु बित्नु भएको थियो। यो पटक त्यहाँ पुग्दा उहाँको धर्मपत्नी आनी छोग्यालसँग भेट भयो। उहाँले श्रीमानको सम्झनामा गुम्बा बनाएर पूजा गरी बस्नुभएको रहेछ। केर्मीका पूर्व वडा अध्यक्ष डाब्ला लामाका साथमा त्यहाँ पुगेकाले साक्षात्कार गर्न पाइयो।

यस्तै ८०० वर्षअघिको तुम्कोट गुम्बाको अवलोकन गर्‍यौं। यहाँ २२ जनाले लामा शिक्षा पढिरहेका छन्। याल्वाङ र याङ्गारमा गरेर ५०० जना लामा तथा आनीले पढिरहेका छन्।

उनीहरूको प्राज्ञिक ज्ञानलाई वैधानिकता दिने व्यवस्था गर्नुपर्छ। यहीँ एघारौँ शताब्दीमा बनेको लिमीको हल्जी गुम्बा छ। नाम्खामा गुम्बा नभएको गाउँ नै छैन। यहाँ सबै बौद्ध धर्मावलम्बी छन्।

चालामा २०७४ कात्तिकमा पुगेको थिएँ। माथि गुम्बा छ। गुम्बामुनि जोखिमयुक्त चाला गाउँ छ। बिहान उठेर मुख धुँदै थिएँ, राष्ट्रिय पक्षी डाँफे नजिकै आयो। मैले मुख धोएर बगेको पानी पियो। मसँग डराएन, बरु नजिकबाट साक्षात्कार गर्न दियो।

यो सब याल्वाङ गुम्बाका गुरु पेमा रिक्साल लामाले दिएको शिक्षाका कारण नाम्खा हिंसामुक्त क्षेत्र बनेको हो। उहाँसँग मेरो दुई पटक याल्बाङ गुम्बा र एक पटक सुर्खेत शुभ होटलमा भेटघाट भयो। उहाँले बौद्ध धर्मावलम्बीका लागि याल्बाङ गुम्बा बनाउनुभयो। यो नाम्खाको जनविश्वविद्यालय हो भन्दा हुन्छ। यहाँ करिब ५०० टोप्या तथा आनीहरूले ज्ञान लिइरहेका छन्।

नाम्खा नेपालकै पर्यटकीय गन्तव्य बन्दैछ। लिमी उपत्यका सबैको रोजाइमा पर्दैछ। शिव कुण्ड, राम मन्दिर पत्ता लाग्दैछ। लुलुङबाट कैलाश मानसरोवर मजाले अवलोकन गर्न पाइन्छ। जंगली घोडा र चौंरीहरू भेटिएका छन्। लेकधिगाको हाई अल्टिच्युट खेलमैदान बन्नेवाला छ।

बाजुरा, बझाङदेखिका खम्पाहरूले आधा जीवन बिताउने रानीखर्कको पाटन यहीं छ। सैपालको आँगन नाम्खा नै हो। भोट्या भाषा, संस्कार र संस्कृतिको बारेमा तिब्बतमा अध्ययन गर्न नसकेको कुरा नाम्खामा गर्न सकिन्छ। नेपालको सबभन्दा लामो नदी कर्णाली नाम्खाको हिल्साबाट सुरु हुन्छ। यहींबाट कर्णाली सभ्यताको सुरुवात हुन्छ।

यतिबेला नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाको नेतृत्वमा योजनाबद्ध विकासको जग हाल्ने काम हुँदैछ। यसैले नाम्खा गाउँपालिकालाई भोट संरक्षण क्षेत्र घोषणा गर्नुका साथै ‘शान्तिपालिका’ घोषणा गर्दा हुन्छ। पालिका परियोजना बैंकमा रहेका आयोजनाहरूमा लगानीमैत्री वातावरण बनाउनुपर्छ।

नाम्खाको नुने बाटोको महत्व बोध गराउँदै यहाँको औषधिजन्य उत्पादन र पर्यटकीय छटाले मूल्य पाउने बनाउनुपर्छ। हिल्साबाट सिमकोटतिर सडक खन्न सुरु गरेको हेक्का राख्नुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?