+
+

धेरै अन्तरालमा सिटौला पक्षको सार्वजनिक कार्यक्रम, सिटौलाले केही बोलेनन्

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २१ गते १८:०४

२१ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला पक्षधरले काठमाडौंमा धेरै समयको अन्तरालमा सार्वजनिक कार्यक्रम गरेको छ । उक्त समूहका नेतृत्वकर्ता सिटौला पछिल्लो सार्वजनिक कार्यक्रममा कम देखिन थाले पनि यो कार्यक्रममा भने उनी पनि सहभागी भए ।

उक्त समूहले ‘संविधान कार्यान्वयन: जनप्रतिनिधिको भूमिका’ विषयमा आइतबार काठमाडौंमा गरेको कार्यक्रम उपस्थित भएका मूल नेतृत्वकर्ता सिटौलाले भने केही बोलेनन् ।

उनी पक्षीय नेताहरु केन्द्रीय सदस्य तथा बागमतीका सांसद कुन्दनराज काफ्ले, पूर्वमन्त्री भीमसेनदास प्रधान, कोशीका प्रदेश सभा सदस्य भूपेन्द्र राई, गण्डकीका प्रदेश सांसद जीत शेरचन लगायतले निर्धारित विषयमा धारणा राखे ।

कार्यक्रमको मूल उद्देश्य ‘जनप्रतिनिधिले आफ्ना लागि होइन, जनप्रतिनिधिका लागि काम गर्नुपर्दछ’ सन्देश दिनका लागि थियो ।

केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले गणतन्त्र स्थापनाका लागि आगो ओकलेको स्मरण गर्दै संविधान कार्यान्वयनका लागि फेरि पनि आगो ओकल्न तयार हुनुपर्ने बताए ।

परिवर्तित व्यवस्था अनुसारको आत्मनिर्भर शिक्षा प्रदान हुनुपर्ने धारणा राखेका उनले विद्यार्थी संगठनलाई कलेजमा हिस्सेदारी नखोज्न सुझाव दिए ।

‘भीसी र डिन नियुक्ति गर्ने, कर्मचारी तलमाथि गर्ने यो र त्यो चाहियो भन्ने विद्यार्थी संगठनको काम होइन । शैक्षिक मुद्दामा आवाज उठाउने काम हो,’ काफ्लेले भने ।

पूर्वमन्त्री भीमसेनदास प्रधान नागरिकले सहज तरिकाले सेवा नपाएको सुनाए । सेवाग्राहीले लाइन लाग्नुपर्ने वाध्यता हटाउन माग गरे । प्रधानले शिक्षा सम्बन्धी संघीय ऐन पारित नहुँदा शिक्षा क्षेत्रमा समस्या रहेको बताए ।

कोशीका सांसद भूपेन्द्र राईले मनभित्रको राजा कायम राख्ने प्रवृत्ति रहेसम्म व्यवस्था फेरे पनि बदलाव नआउने बताए ।

‘मनभित्रको राजा फेर्न नसके व्यवस्था फेरेर केही हुँदैन । अधिकार नागरिकमा निहित छ भनेका छौं तर उ भक्कानिन्छ,’ राइले भने ।

समानुपातिक समावेशी अनुसार सांसद चयन भएपनि उच्च वर्गको प्रतिनिधित्व हालीमुहाली कायम रहेको राईको गुनासो थियो । ‘समावेशी समानुपातिकको नाममा पुगेकाले ती कुनाकाप्चामा बसेका नागरिकको पक्षमा बोल्नुभएको छ कि छैन?’ राईको प्रश्न छ ।

तहगत रुपमा पाएको भूमिका जनप्रतिनिधिले निर्वाह गर्न नसके पदीय भूमिका निरर्थक हुने अर्का प्रदेश सांसद जीत शेरचनले बताए । कृषकले पाउनुपर्ने अनुदान ठीक ढंगले नपाएको भन्दै असन्तुष्ट व्यक्त गरे । ‘चाहे कर्णालीमा बस्ने किसानलाई सम्झिनुस्, चाहे ताप्लेजुङमा बस्ने किसानलाई सम्झिनुस् । हामी आत्म निर्भर कहिले हुने?’ शेरचनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?