+
+

विद्यालयका कारण पनि बच्चामा मानसिक समस्या

डा. गुञ्जन धुजु   डा. गुञ्जन धुजु  
२०८० साउन २२ गते १३:४८

मानसिक समस्या कुनै एउटा कारणले मात्र हुँदैन । अहिलेसम्म भएका शोध तथा अनुसन्धान अनुसार जैविक, मनोवैज्ञानिक र सामाजिक कारक तत्त्वहरूले मानसिक समस्या निम्ताउने गर्छ ।

वयस्क जस्तै बच्चाहरूमा पनि मानसिक रोग सामान्य समस्या हो । बालबालिकामा मानसिक स्वास्थ्य समस्या बढ्नुमा परिवारसँगै समाज र विद्यालय पनि उत्तिकै जिम्मेवार हुन्छ ।

बच्चाले लामो समय विद्यालयमा बिताउने गर्छन् । त्यसैले घरका साथै विद्यालयको वातावरणले पनि बच्चाको मानसिक स्वतथ्यलाई धेरै असर गरिरहेको हुन्छ । विद्यालयको वातावरण, शिक्षक र साथीहरूको कारण बालबालिकामा मानसिक समस्या निम्तिन सक्छ ।

विद्यालयका कारण बच्चामा मानसिक समस्या

पढाइको चाप सबै बालबालिकालाई एकै किसिमको हुँदैन । कसैलाई त्यही पढाइ अप्ठ्यारो लाग्न सक्छ भने कसैलाई सजिलो । यो हरेक बालबालिकामा भर पर्ने कुरा हो । त्यसैले विद्यालयको पढाइको चापले सबै बच्चालाई मानसिक असर गर्छ भन्ने हुँदैन । तर कुनै बालबालिकालाई पढाइ, होमवर्क आदिको चापले पनि तनाव दिइरहेको हुन्छ ।

विद्यालयको वातावरण कस्तो छ, साथीहरूसँगको सम्बन्ध कस्तो छ, शिक्षकसँगको सम्बन्ध कस्तो छ, पढाउने तरिका कस्तो आदि कुराले बालबालिकामा मानसिक समस्या देखिन सक्छ । बच्चाले पढाइमा ध्यान दिंदैनन् र विद्यालय जान मान्दैनन् भने केही कारण हुनसक्छ । बालबालिकालाई पढाइलेखाइमा समस्या हुनुमा अन्य रोगका कारण पनि भइरहेको हुन्छ ।

एइपेसिफिक लर्निङ डिसअर्डर ‘एसएलडी’ समस्यामा बालबालिकालाई पढाइलेखाइमा नै गाह्रो हुन्छ । एउटा छापेको कुरा पढ्न गाह्रो हुने ‘रिडिङ डिसअर्डर’, अर्को लेख्दा धेरै गल्ती हुने ‘राइटिङ डिसअर्डर । यो भनेको पढाइलेखाइसम्बन्धी रोग हो ।

केही बालबालिकामा अर्को ‘एडीएचडी डिसअर्डर’ ध्यान दिन गाह्रो हुने समस्या पनि हुन्छ । एकै ठाउँमा थिर भएर बस्न सक्दैनन् । यस कारण पनि बच्चाले पढाइमा ध्यान दिन सक्छन् । साथै बालबालिकामा शारीरिक समस्या भएर पनि उनीहरूले पढाइमा ध्यान दिन नसकेको हुन सक्छ ।

बच्चामा विद्यालयका कारण समस्या भएको छ भने यस्ता लक्षण देखा पर्छन्

कुनै कुरामा ध्यान केन्द्रित गर्न नसक्नु, बिना कारण डराउने, विद्यालय जान मन नगर्ने जस्ता लक्षण देखिए बच्चामा मानसिक समस्या भएको हुन सक्छ ।

पढाइमा राम्रो बच्चाको पढाइ बिग्रँदै गएको छ, शिक्षक तथा साथीसँग गर्ने व्यवहार परिवर्तन हुँदै गएको भने यो पनि मानसिक समस्याको लक्षण हुन सक्छ ।

बच्चालाई यस्तो समस्याबाट बचाउने उपाय

विद्यालयको वातावरण बालमैत्री हुनुपर्छ । विद्यालयमा बालबालिकालाई किताबको कुरा मात्र पढाउने भन्दा पनि प्रयोगात्मक शिक्षा दिनुपर्छ । यसरी पढाइ रमाइलो हुन्छ र बच्चाको रुचि पनि बढ्छ ।

हरेक बच्चा फरक किसिमका हुन्छन् । उनीहरूलाई पढाउने तरिका पनि फरक हुन्छ । त्यसैले पढाउँदा फ्लैक्स कार्ड, चित्र, चार्ट, साउन्ड तथा दृश्यको पनि प्रयोग गर्न सकिन्छ । यसले पढाइलाई रोचक बनाउनुका साथै पढाइप्रति बच्चाको मन रहिरहन्छ ।

हामीले बालबालिकाको भावना सेयर गर्ने मौका दिएका हुँदैनौं । त्यसैले उनीहरूसँग कुराकानी गर्ने, निर्णय कसरी लिने, प्रतिक्रिया कसरी जनाउने जस्ता कुरा सिकाउनुपर्छ । जसले गर्दा उनीहरू मानसिक समस्याबाट बच्न सक्छन् ।

(बालमनोचिकित्सक डा. धुजुसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?