+
+

पेट्रोल भन्सार छलीमा आयल निगमको भलबारी डिपो र ट्याङ्‍कर चालकलाई जरिवाना

पेट्रोल ढुवानी कम्पनीका सञ्चालकलाई सफाइ

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २३ गते १७:३७

२३ साउन, बुटवल । भारतको बैतालपुरबाट पेट्रोलियम पदार्थ ढुवानीका क्रममा भन्सार छली तथा चोरी पैठारी मुद्दामा भैरहवा भन्सार कार्यालयले नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालय भलबारी र ट्याङकर चालकलाई दोषी ठहर गर्दै २० लाख रुपैयाँ बढी जरिवाना तिर्नुपर्ने फैसला गरेको छ ।

उक्त मुद्दामा पेट्रोल ढुवानीकर्ता एक्सप्रेस परिवहन सेवा प्रालिका सञ्चालक चोपनारायण श्रेष्ठलाई भने सफाइ दिएको छ ।

आयल निगमको भलबारी डिपोलाई दोषी ठहर गरी जरिवाना तिराउने निर्णय भएको पहिलो घटना भएको निगमले जनाएको छ ।

इण्डियन आयल कर्पोरेसनमार्फत भारतको बैतालपुरबाट पेट्रोलियम पदार्थ ढुवानी गरेर नेपाल ल्याउँदै गरेको लु २ ख ४८३९ नम्बरको पेट्रोल बोकेको ट्याङकरलाई प्रहरीले ८ वैशाखमा भन्सारमा नियन्त्रणमा लिई नापजाँच गर्दा निगमले तोकेको भन्दा बढी परिमाण पाइएपछि कारवाही प्रक्रिया अघि बढाएको थियो ।

उक्त घटनामा नेपाल आयल निगमबाट जारी भएको प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) मा २० हजार लिटर पेट्रोल ढुवानी गर्ने स्वीकृति रहेकोमा उक्त ट्याङकरले स्वीकृति पाएको भन्दा ३ हजार ३ सय ८४ लिटर बढी आयात गरेको नापजाँचको क्रममा प्रमाणित भएको थियो ।

उक्त घटनामा इलाका प्रहरी कार्यालय बेलहियाले सल्यानको शारदा नगरपालिका १४ का ट्याङकर चालक ३० वर्षीय अजय केसी, एक्सप्रेस परिवहन सेवा प्रालिका सञ्चालक बुटवल–४ का ६९ वर्षिय चोपनारायण श्रेष्ठ र नेपाल आयल निगम प्रादेशिक कार्यालय भलबारीलाई प्रतिवादी बनाई गत ८ वैशाखमा भन्सार कार्यालयमा मुद्दा दायर गरेको थियो ।

सोही मुद्दाको १० साउनमा फैसला गर्दै भैरहवा भन्सार कार्यालयले नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालयलाई दोषी ठहर गर्दै १६ लाख २४ हजार ३ सय २० रुपैयाँ र ट्याङकरका चालक अजय केसीलाई ४ लाख ५६ हजार ८० रुपैयाँ जरिवाना तिराउने निर्णय गरिएको भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले बताए ।

यस्तै प्रतिवादी बनाइएका ढुवानीकर्ता कम्पनीका सञ्चालक चोपनारायण श्रेष्ठलाई सो मुद्दामा निर्दोष ठहर गर्दै सफाइ दिएको छ । सफाई पाएसँगै श्रेष्ठले भन्सार कार्यालय र नेपाल आयल निगममा जम्मा गरेको नगद धरौटी रकम र उनको स्वामित्वको ट्याङकर कानुनको म्याद भित्र फिर्ता दिन निर्देशन गरेको भैरहवा भन्सार कार्यालयका नायब सुब्बा पहलबहादुर केसीले जानकारी दिए ।

पेट्रोलियम पदार्थ आयात गर्दा ‘ग्रिनलाइन च्यानल’ मापदण्ड अनुसार स्वघोषित प्रणालीलाई आधार मानेर भन्सार कार्यालयले भन्सार शुल्क लिने र ट्याङकरलाई नापजांच नगर्ने कानुनी व्यवस्था छ । उक्त ट्याङकरका चालकको आर्थिक हैसियत अस्वभाविकरुपमा वृद्धि भएको देखिएकाले प्रहरीले शंका लागेर उक्त दिन नापजांच गर्दा स्वीकृत भन्दा बढी परिमाण भेटिएको हो ।

पीडीओमा स्वीकृत भन्दा बढी परिणाम भेटिएपछि आयल निगमलाई भन्सार कार्यालयले बढी परिमाणको कूल मूल्यको ५ सय प्रतिशत थप गरी जरिवाना गर्ने कानुनी व्यवस्था अनुसार निगम र चालकलाई जरिवाना तिराउने निर्णय गरेको भन्सार कार्यालयले जनाएको छ । उक्त घटनामा ३ हजार ३ सय ८४ लिटर पेट्रोलको भन्सार छली हुंदा एक लाख ३८ हजार ७ सय ४४ रुपैयां सरकारको राजस्व गुमेको थियो ।

नेपाल आयल निगम प्रादेशिक कार्यालयका प्रमुख इन्जिनियर जगदिश यादवले भारतका पेट्रोल पम्पबाट इन्धन खरिद गरी नेपाल ल्याएर बेच्ने उद्देश्यले चालकहरुले बदमासी गरेका कारण परिमाण भन्दा बढी इन्धन भेटिएको बताए ।

‘इण्डियन आयल कर्पोरेसनले नेपाल आयल निगमले पठाएको पिडिओमा उल्लेख भन्दा बढी परिमाणको इन्धन दिने सम्भावनै हुन्न तर चालकहरुले पेट्रोल पम्पहरुबाट किनेर ल्याई नेपालमा बेच्ने उद्देश्यले बद्मासी गरेका कारण निगम दोषी देखिएको छ,’ यादवले भने, ‘निगमलाई जरिवाना तिराउने निर्णय भएपनि निगमले त्यति ठूलो रकम जरिवना तिर्न सक्दैन, हाम्रो विनियमावलीमा पनि ढुवानीका क्रममा परिमाण तल माथि भए ढुवानीकर्ता जिम्मेवार हुने व्यवस्था छ ।’

भन्सार पास भएपछि इन्धन बोकेका ट्याङकर सिधै निगमको डिपोमा आउनुपर्ने वाध्यकारी व्यवस्था नहुंदा चालकले ५ दिनसम्म आफुखुशी ट्याङकर राख्न पाउँदा चोरी तस्करी बढेको कार्यालय प्रमुख यादवले औंल्याए । निगमको डिपोको भण्डारण क्षमता कम भएका कारण भन्सारबाट सिधै डिपोमा ट्याङकर आउनुपर्ने व्यवस्था गर्न नसकिएको यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?