+
+

दुखीलाई एउटा झुलले दिलायो खुसी

रासस रासस
२०८१ जेठ २ गते १०:२३

२ जेठ, सिराहा । लहान नगरपालिका–१५ की दुखी सदाय मंगलबार निकै खुसी थिइन् । कारण थियो-नगरपालिकाले पालिकाले उनलाई दिएको एउटा झुल ।

लामखुट्टेले लहानमा कतिसम्म सताएको छ, त्यसको पीडा दुखीजस्तै त्यहाँका दलित तथा विपन्न समुदायले भोगेका छन् । चरम गरिबीमा जीवन गुजारिरहेका उनीहरुलाई बिहान बेलुकाको छाक कसरी टार्ने भन्ने समस्यामा रहेका उनीहरूलाई लामखुट्टेले पनि उत्तिकै सताउँदै आइरहेको छ ।

‘बिहान–बेलुका छाक टार्ने टुङ्गो छैन, कहाँबाट झुल किन्न सक्नु र हजुर ! दिनभरि ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएकी छु । एक दिन काम नगरे भोकै बस्नुपर्ने हुन्छ’, आफ्नो दुःख बिसाउँदै उनले भनिन् ।

सोही वडाकी ललितदेवी सदायले पनि झुल प्राप्त गरेपछि खुसी व्यक्त गरिन् । ‘हामी गरिबका लागि पनि सरकार रहेछ । मेयरसा’बलाई धेरै धन्यवाद’, गर्मीयाम सुरु भएसँगै लामखुट्टेबाट छुटकारा पाउन झुल पाएपछि उनले भनिन् ।

नगरबासीलाई लामखुट्टे र लामुखुट्टेजन्य रोगबाट जोगाउन ललितदेवी, दुखी सदायजस्तै यहाँका दलित तथा विपन्न समुदायका परिवारलाई झुल वितरण अभियान नगरपालिकाले सुरु गरेको छ । मंगलबार वडा नं १५ ढोढ्नाबाट २ सय ७५ दलित तथा विपन्नलाई झुल वितरण गरिएको नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए ।

‘एक घर, एक झुल’ अभियान सञ्चालन गरी नगरपालिकाभित्रका गरिब, मजदुर तथा विपन्न परिवारलाई मलेरिया, डेंगुलगायत अन्य प्राणघातक रोगबाट बचाउन आफू लागिपरेको नगरप्रमुख चौधरीले बताए । ‘गर्मी र वर्षात्को मौसम सुरु भएपछि लामखुट्टेको प्रभाव बढेको छ । उनीहरूलाई बिरामी हुनबाट जोगाउन नगरपालिकाको तर्फबाट झुल वितरण गरेका हौँ’, उनले भने, ‘एउटा झुल पर्याप्त नभए पनि समुदायमा लामखुट्टेको टोकाइबाट लाग्ने प्राणघातक रोगबाट बच्न झुल लगाउनुपर्छ भन्ने चेतना जागृत हुनेछ । स्थानीयको मागअनुसार नै झुल वितरण गरिएको हो ।’

नगरप्रमुख चौधरीका अनुसार नगरका २४ वटै वडाका गरिब, विपन्न र दलित परिवारलाई पालैपालो झुल वितरण गरिने छ । वडा सदस्य तथा नगरपालिका न्यायिक समितिको सदस्य रामकुमारी दासले झुल वितरण अभियानले दलित समुदायका बालबच्चा तथा महिलालाई सुरक्षित राख्न मद्दत पुग्ने बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?