+
+

जातीय विद्वेष फैलिएमा देशको अस्तित्व समाप्त हुन्छ :  केपी ओली

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २५ गते १६:५८

२५ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जातको आधारमा विद्वेष फैलिएमा देशको अस्तित्व समाप्त हुने बताएका छन् । बिहीबार २९औँ विश्व आदिवासी दिवसको अवसरमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले नेपालीहरुका बीचमा जातका आधारमा आपसी विद्वेष र घृणा फैलिएमा देशको अस्तित्व समाप्त हुने बताए । उनले भने, ‘ यदि कुनै पनि हिसावले हामीलाई जातका आधारमा केहीका नाममा सेन्टिमेन्टल बनाएर, भावनामा बगाएर कसैले हामीबिचमा विद्धेष, घृणा र फाटो ल्याउन सफल भयो भने हाम्रो देशको अस्तित्व समाप्त हुन्छ । त्यतिबेला हाम्रो देश जोगिँदैन ।’

उनले नेपालमा जातिय विविधता रहेको भन्दै सामाजिक सद्भाव र समानतामा आधारित राष्ट्रिय एकताले मात्रै देशको रक्षा हुने बताए । उनले भने, ‘हाम्रो विविधता छ । यो यथार्थ हो । यो विविधतामा सामाजिक सद्भाव र समानतामा आधारित राष्ट्रिय एकताले मात्रै देशको रक्षा हुन्छ । देशको विकास हुन्छ । देश अगाडि बढ्छ ।’

उनले पहिचानको मुद्दा देशको हितका लागि हुनुपर्ने बताए । उनले पहिचानको मुद्दाले देशमा समस्या खडा गर्नु नहुने बताए । ‘पहिचान सकारात्मक ढंगले लिनुपर्छ । पहिचान देशका हितमा हुनुपर्दछ । देशको हितका लागि पहिचान हो,’ उनले भने, ‘आफ्नो पहिचान देशमा समस्या खडा गर्नका लागि हाम्रो पहिचानको मुद्दा हो र ? ‘

अध्यक्ष ओलीले नेपालमा पहिचानको मुद्दा समानता र सद्भावका लागि भएको बताए । पहिचानको मुद्दा आपसी मित्रता बढाउनका लागि र प्रेम फैलाउनका लागि भएको उनको भनाइ छ । ‘हाम्रो पहिचानको मुद्दा समस्या समाधान गर्नका लागि हो । समानताका लागि हो । सद्भावका लागि हो हाम्रो पहिचानको मुद्दा । मित्रता बढाउनका लागि हो । प्रेम फैलाउनका लागि हो ।’ उनले भने ।

अध्यक्ष ओलीले राज्य कुनै एउटा धर्म र जात विशेषको नभएको भन्दै त्यसकारण देशलाई धर्म निरपेक्ष बनाइएको बताए । उनले देशको नाम ‘नेपाल’ पनि कुनै जात विशेषको नभएको उल्लेख गर्दै प्रदेशहरुको नाम पनि साझा भुगोल, संस्कृति र नदीनालाको नामबाट राखिएको बताए ।

उनले भने, ‘ ‘हामीले धर्म निरपेक्ष किन भन्यौँ ? राज्य एउटा जाति विशेषको होइन यो । सम्पूर्ण नेपालीको राज्य हो । एउटा नश्ल विशेषको, एउटा वर्ण विशेषको, एउटा भुगोल विशेषको होइन । राज्य सबै नेपालीको हो । सिंगो नेपाल, सिंगो नेपालीको राज्य हो यो ।’

उनले प्रदेशहरुको नामाकरण साझा रुपमा राखिएको भन्दै यसले कसैलाई अपमान, थिचोमिचो वा नहोच्याउने उल्लेख गरे ।

‘हाम्रा प्रदेशका नामहरु पनि हामीले साझा, भुगोल आधारित, नदीनाला आधारित । गण्डकी, कर्णाली, कोशि प्रदेश, वागमती प्रदेश खोलाको नामबाट राखेका छौँ । सुदूरपश्चिम साझा भुगोलका नाममा राखेका छौँ । मधेस प्रदेश साझा भुगोलका नाममा राखिएको छ,’  उनले भने, ‘लुम्बिनी प्रदेश साझा भुगोलकै नाममा, भुगोलबाट चिनिएको, संस्कृतिसँग पहिचान भएको त्यस्तो खालको नाममा राखेका छौँ । जो साझा नाम हो । यसमा हामी कुनै, कसैलाई अपमान गर्ने, थिचोमिचो गर्ने, हेप्ने, होच्याउने भन्ने प्रश्न नै उठ्दैन ।’

उनले अन्य देशका तुलनामा नेपालमा आदिवासी, जनजाति र दलित समुदायले अधिकारको क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेका बताए । एमालेले स्थापनाकालदेखि नै सामाजिक न्याय र समानताका लागि कुरा उठाएको उल्लेख गर्दै आफूहरु सबैलाई अधिकारसम्पन्न बनाउने पक्षमा रहेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?