+
+

‘काष्ठमण्डप पुनर्निर्माण गर्दा हेलचेक्य्राइँ भयो, छानबिन होस्’

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २८ गते १२:४४

२८ साउन, काठमाडौं । ०७२ को महाभूकम्पमा क्षतिग्रस्त काष्ठमण्डप (मरु सत्तल) पुनर्निर्माणपछि २०७८ सालमा लोकार्पण गरिए पनि केही महिनापछि नै ताल्चा लगाएर बन्द गरिएको भन्दै सरोकारवालाले असन्तुष्टि जनाएका छन् ।

उनीहरुले मरु सत्तल पुनर्निर्माण गर्दा हेल्चेक्रयाईं भएको भन्दै छानबिन समेत माग गरेका छन् । पुनर्निर्माणका नाममा गठित समितिले काठैकाठले बनेको शताब्दीयौं पुरानो संरचनाको संवेदनशील अवस्था बेवास्ता गरी अनियमितता गरेको उनीहरुको आरोप छ ।

‘पुनर्निर्माणमा हेलचेक्य्राइँ र भ्रष्टाचार गरिएकै कारण अहिले काष्ठमण्डपमा ताल्चा लगाएर राख्नुपरेको हो भन्ने हाम्रो ठहर छ । दुर्भाग्य, सरोकारवाला स्थानीय बासिन्दाले पटकपटक ध्यानाकर्षण गर्दा पनि राज्यका कुनै अङ्गले काष्ठमण्डपको अवस्थाप्रति ध्यान दिएनन्’, काष्ठमण्डप पुनर्निर्माणका लागि अभियानका तर्फबाट वीरेन्द्रभक्त श्रेष्ठले वक्तव्य जारी गर्दै भनेका छन्, ‘पुनर्निर्माणको जिम्मा लिएको काठमाडौं महानगरपालिकालगायत काष्ठमण्डप भएको क्षेत्रबाट स्थानीय तहदेखि संघीय संसद्सम्ममा निर्वाचित जनप्रतिनिधिहरूको मौन र संवेदनहीनता आपत्तिजनक एवं खेदजनक छ ।’

काष्ठमण्डप विश्वमै अद्वितीय सामुदायिक साँस्कृतिक सम्पदा भए पनि यसको महत्वलाई राज्यले उपेक्षा गरेका कारण स्थानीयहरूले काष्ठमण्डप पुनर्निर्माणका लागि अभियान चलाउनुपरेको वक्तव्यमा भनिएको छ ।

तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र काष्ठमण्डप पुनर्निर्माणका लागि अभियानका बीचमा काष्ठमण्डप पुनर्निर्माणका लागि सम्झौता पनि भएको तर, काठमाडौं महानगरपालिकाले सुरुदेखि नै असहयोग र हस्तक्षेप गरेर अभियानलाई निर्माण प्रक्रियाका सबै चरणबाट पन्छाउने काम गरेको विज्ञप्तिमा जनाइएको छ ।

पुनर्निर्माणका क्रममा सक्रियतापूर्वक संलग्न हुनुपर्ने पुरातत्त्व विभाग पनि काष्ठमण्डपका हकमा असफल सिद्ध भएको फलस्वरुप अहिलेको विसङ्गत अवस्था उत्पन्न भएको उनीहरुको ठहर छ ।

पुनर्निमाणका क्रममा भएका विसङ्गतिको छानबिन गरेर कारण पहिचान गरी सच्याउनुको भने विकल्प नभएको उनीहरुले बताएका छन् ।

‘पुरातत्त्वविद् तथा सरोकारवाला स्थानीय बासिन्दा र अभियानका प्रतिनिधि सम्मिलित समिति बनाएर पुनर्निर्माणका क्रममा भएको हेलचेक्य्राइँ तथा भ्रष्टाचारको छानबिन गर्न र अब काष्ठमण्डपलाई कसरी पुरानै रूपमा फर्काउन सकिन्छ भन्ने विस्तृत अध्ययन गरी पुनर्निर्माणको काम फेरि सुरु गर्न हामी जोडदार माग गर्छौँ,’ वक्तव्यमा भनिएको छ, ‘नेपाल मण्डल सभ्यताको प्रतिविम्बका रूपमा रहेको काष्ठमण्डपलाई पुनर्निर्माण गरेर पूर्ववत् अवस्थामा खडा गर्न यसका सरोकारवाला स्थानीय जनता सक्षम र प्रतिबद्ध छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?