+
+

चौरजहारी नगरपालिकामा लक्ष्यभन्दा बढी राजश्व संकलन

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३२ गते १०:३५

३२ साउन, रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले गत आर्थिक वर्ष २०७९/८० मा लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ ।

गत आर्थिक वर्ष २ करोड २२ लाख राजस्व संकलनको लक्ष राखिएकोमा २ करोड ३२ लाख ७४६ रुपैयाँ राजश्व संकलन भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिए । ‘लक्ष्यभन्दा १० लाख ७४६ रुपैयाँ बढी राजश्व संकलन भएको छ,’ ढकालले भने, ‘विभाज्य कोषसहित नगरपालिकाले संकलन गरेको राजश्व २ करोड ८० लाख ३० हजार १३१ रुपैयाँ हुन आउँछ ।’

नगरपालिकाले प्रदेश सरकारको विभाज्य कोषमा ४८ लाख २९ हजार ३८५ रुपैयाँ राजश्व जम्मा गरेको छ । यो कोषमा ४० लाख रुपैयाँ बुझाउने लक्ष्य थियो । नदीजन्य पदार्थ उत्खनन वाफत संकलन भएको राजश्वको ४० प्रतिशत रकम विभाज्य कोषमा जम्मा गरिदिनुपर्दछ । चौरजहारी नगरपालिकाले विभाज्य कोषमा पनि लक्ष्यभन्दा बढी ४८ लाख २९ हजार ३८५ रुपैयाँ जम्मा गर्न सफल भएको छ ।

‘अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०७९/८० मा ५१ लाख ५५ हजार ५८३ रुपैयाँ बढी राजश्व संकलन गर्न सफल भएका छौं,’ ढकालले भने । आर्थिक वर्ष २०७८/७९ मा १ करोड ८० लाख ४५ हजार १६३ रुपैयाँ संकलन भएको थियो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालका अनुसार तीन वर्षको अवधिमा संकलन भएको कूल राजश्वको औसत निकालेर प्रत्येक महिना वडागत रुपैयाँ राजश्व संकलनको लक्ष्य निर्धारण गरिएको थियो । लक्ष्यभन्दा धेरै राजश्व संकलन गर्नेलाई हरेक महिना पुरस्कृत गर्ने भनेर पनि घोषणा गरिएको थियो । त्यसबाट पनि वडाहरुमा प्रतिस्पर्धाको भावना भएर राजश्व संकलन बढी भएको हुन सक्ने अनुमान नगरपालिकाको छ । पछिल्लो पटक ११ नम्बर वडाका वडा सचिव निर्मल पुन पुरस्कृत भएका छन् ।

चौरजहारी नगरपालिकाले व्यापार व्यवसाय दर्ता तथा नवीकरण, नगर बस सन्चालन, घरजग्गा रजिष्ट्रेसन, ढुङ्गा, गिट्टी, बालुवा लगायतका नदीजन्य पदार्थ बिक्री वितरण, सेवा शुल्क लगायतका शीर्षकमा राजश्व संकलन गर्दै आएको चौरजहारी नगरपालिकाकी उपप्रमुख इश्वरी शर्मा (बीएम)ले जानकारी दिइन् । भूउपयोग वर्गीकरणमा समय लागेका कारण घरजग्गा रजिष्ट्रेशनको काम भने गत बैशाख महिनादेखि मात्र सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?