+
+

थाइ प्रधानमन्त्री बन्ने पिताको अन्तिम प्रयास पनि असफल

एएफपी एएफपी
२०८० साउन ३२ गते ८:०४
Photo Credit : REUTERS/Athit Perawongmetha

३२ साउन, बैङ्कक । थाइल्याण्डको एक अदालतले संसदीय निर्वाचनमा बहुमत प्राप्त मुभ फरवार्ड पार्टी (एमएफपी) नेता पिता लिम्जारोएनरातको प्रधानमन्त्री बन्ने प्रयाससहित दायर गरिएको मुद्दा बुधबार खारेज गरेको छ ।

थाइल्याण्डको संवैधानिक अदालतले पिताको प्रधानमन्त्री बन्न पाउनुपर्ने दावीसहित दायर गरिएको मुद्दाको सुनुवाइ गर्न अस्वीकार गरेको हो ।

यो फैसलाले थाइल्याण्डलाई मे महिनामा भएको आम निर्वाचनपछि राज्यमा व्याप्त राजनीतिक गतिरोध अन्त्य गर्ने दिशामा एक कदम अगाडि बढाएको छ ।

‘संवैधानिक अदालत सर्वसम्मत रूपमा यो मुद्दालाई सुनुवाईका लागि स्वीकार नगर्न सहमत भएको छ,’ अदालतले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अदालतको यो कदमसँगै बुधबार अपरान्ह नै प्रतिनिधि सभाका सभामुख वान मोहम्मद नूर माथाले प्रधानमन्त्रीका लागि अर्को मतदान अगस्ट २२ मा हुने घोषणा गरेका छन् ।

पिताको मुभ फरवार्ड पार्टी (एमएफपी) ले मे महिनामा भएको चुनावमा सबैभन्दा बढी सिट जितेको थियो र युवा र सहरी थाईहरूको समर्थनको लहर चलाएर लगभग एक दशकको सेना समर्थित शासनको अन्त्यको सङ्केत गरेको थियो ।

तर, हार्वर्डमा पढेका ४२ वर्षीय पिताले शाही अपमानसम्बन्धी कानुन र व्यापारिक एकाधिकारमा सुधार गर्ने वाचा गरेका कारण परम्परावादी शक्तिको साँठगाँठका कारण प्रधानमन्त्री बन्ने प्रयासमा उनी असफल बन्नुपरेको हो ।

प्रधानमन्त्रीको पहिलो मतदानमा संसदले उनलाई अस्वीकृत गर्‍यो । दोस्रो पटक प्रधानमन्त्रीको लागि उम्मेदवारी दिएपनि जुलाई १९ मा पितालाई संवैधानिक अदालतले सन् २००७ देखि प्रशारण बन्द भएको आईटीभीमा शेयर रहेको कारण सांसद हुन अयोग्य घोषणा गर्‍यो । साथै, दोस्रो मतदान हुनुभन्दा पहिले उनलाई सांसद पदबाट निलम्बन गरेको थियो ।

अदालतको उक्त निर्णयमाथि पुनरावेदन गर्दै दायर मुद्दामाथि सुनुवाई गर्नु आवश्यक नरहेको जिकिरसहित उनको मुद्दा खारेज गरिदिएको हो । संसद्ले पितालाई दोस्रो पटक मतदान गर्न अस्वीकार गरेको संवैधानिकतामा मुद्दा केन्द्रित थियो ।

निर्वाचनमा दोस्रो स्थानमा आएको निर्वासित पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको फेउ थाई पार्टीले अब एमएफपीको सहभागिताबिना नै बहुदलीय गठबन्धन सरकारको नेतृत्व गर्ने भएको छ ।

फेउ थाईले बिजनेस टाइकून श्रेता थाभिसिनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनेछ र पार्टीले उनलाई अनुमोदन गर्न सबैबाट पर्याप्त मत प्राप्त हुनेमा विश्वस्त रहेको बताएको छ ।

प्रधानमन्त्री बन्नका लागि संसदको ५०० निर्वाचित सांसद र गत जुन्टाअन्तर्गत नियुक्त २५० सिनेटर गरी दुवै सदनको बहुमतले अनुमोदन गर्नुपर्छ ।

पिताले सिनेटरहरूबाट पर्याप्त समर्थन जुटाउन असफल भएको र धेरै पार्टीहरूले एमएफपीसहित कुनै पनि सरकारमा आफ्नो भूमिका नखेल्ने बताएका थिए ।

गत साता निवर्तमान सेना समर्थित सरकारमा सहभागी रहेको भुम्जैथाई पार्टी फेउ थाईको नयाँ गठबन्धनमा सामेल भएको थियो ।

सन् २०१९ मा थाइल्यान्डमा भाङलाई वैधानिकता दिने चुनावी वाचा पूरा गरेका भुम्जाइथाइले यसअघि एमएफपीसहितको गठबन्धनमा सामेल हुन अस्वीकार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?