+
+

प्रधानमन्त्रीले सभामुखलाई भने– सदनको अवरोध खुलाउन म पहल गर्छु, तपाईं पनि गर्नुस्

रासस रासस
२०८० भदौ १ गते ११:५७

१ भदौ, काठमाडौं । लामो समयदेखि अवरुद्ध संघीय संसद्को बैठक नियमित रूपमा सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच आज छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले सदनको व्यवधान खुलाउन आफूले पहल गर्ने बताए । उनले भने, ‘म  सदन खुलाउन भूमिका खेल्छु  । तपाईं पनि लाग्नुहोस् । छिट्टै सहमति गर्नैपर्छ । म प्रमुख विपक्षी दलको नेतासँग थप पहल गर्छु ।’

राजस्व अनुसन्धान विभागले गत साउन ३ गते सिनामंगलमा सुन बरामद गरेको थियो । साउन १० गतेदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार संघीय संसद्का दुवै सदनको बैठक अवरोध गर्दै आएको छ । उच्चस्तरीय छानबिन समितिको माग गर्दै भइरहेको अवरोधका कारण सदनको नियमित काम कारबाही अघि बढ्न सकेको छैन । सरकारले भने सरकारी निकाय र अंगले नै निष्पक्ष छानबिन गर्ने स्पष्ट पार्दै आएको छ ।

आजको भेटमा सभामुख घिमिरेले सदन नचल्नु राम्रो भएन भन्दै तत्काल पहल थाल्न प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए । ‘माननीयहरूले बोल्न समय माग्नुभएको छ । प्राकृतिक विपत्तिल गायतका विषयमा माननीयले बोल्न पाइनँ भन्नुहुन्छ । दलीय सहमतिबिना सदन अगाडि बढ्न सक्ने स्थिति छैन’, सभामुख घिमिरेले भने, ‘आम जनताले पनि सदन अवरोधलाई राम्रो मानेका छैनन् । कम्तीमा सदन खुलाउन सत्तापक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक छलफल गरिदिनुहोस् ।’

सभामुख घिमिरेले संसदीय समितिको नेतृत्व चयन हुन नसक्दा संसदमा कानुन निर्माण भएनन् भन्ने गुनासो पनि व्याप्त रहेको उल्लेख गर्दै सदनको अवरोध खुलाउन आग्रह गरेका थिए । उनले भने, ‘सभामुखको रूपमा मैले सहमतिका लागि जिम्मेवारीपूर्वक पहल गरेको छु । तर परिणाम निस्किन सकेन । शीर्षनेताहरू घन्टौं बस्दा पनि सहमति भएन ।’

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?