+
+

शरणार्थी प्रकरण अघि बढाउने उपत्यका प्रहरी प्रमुख साढे चार महिनामै हटाइए

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २ गते १८:१०
फाइल तस्वीर

२ भदौ, काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख श्यामलाल ज्ञवाली सहितका एआईजीहरुलाई सरुवा गरेको हो ।

ज्ञवालीलाई सरुवा गर्न सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठ समक्ष दबाब दिएका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले थप जाहेरी लिएर दोस्रो चरणको अनुसन्धान सुरु हुन लागेका बेला उनको सरुवा भएको हो ।

देउवाले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसीलाई पनि हटाउन दबाब दिएको स्रोतको दाबी छ ।

मंगलबारकै मन्त्रिपरिषदमा सरुवा सम्बन्धी प्रस्ताव लैजाने तयारी भए पनि रोकिएको थियो । शुक्रबार मन्त्रालयको प्रस्तावमा एआईजी सरुवाको निर्णय भएको हो ।

ज्ञवालीको उपत्यका प्रहरी कार्यालयमा सरुवा भएको साढे ४ महिना मात्र भएको थियो । उपत्यका प्रहरी प्रमुखमा प्रशासन विभागका प्रमुख दीपक थापाको सरुवा भएको छ ।

प्रशासनमा एआईजी मीरा चौधरीको सरुवा भएको छ । चौधरी कार्य विभागमा कार्यरत थिइन् । कार्यमा एआईजी श्याम ज्ञवाली पठाइएका छन् ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख एआईजी टेकप्रसाद राईको मानवस्रोत विभागमा सरुवा भएको छ । मानवस्रोतका प्रमुख सन्दीप भण्डारी राईको स्थानमा पठाइएका छन् ।

राईले आफूलाई छोटो समयमा विना कारण हटाउन खोजिएको भन्दै यसअघि नै प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरसमक्ष असन्तुष्टि व्यक्त गरेका थिए । उनले बरु आफूलाई राष्ट्रिय सुरक्षा परिसद्को सचिवालयमा पठाउन भनेका थिए ।

राई प्रतिआतंकवाद र अन्तरदेशीय संगठित अपराध अनुसन्धानमा काम गर्ने प्रहरीको गुप्तचरी निकाय विशेष ब्यूरोमा लामो समय काम गरेका अधिकृत हुन् । झण्डै तीन दशक लामो प्रहरी सेवामा उनले चौथो पटक प्रहरीको कुनै युनिटको नेतृत्व गरिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?