+
+

कसैको बयान लिने कि नलिने निर्णय गठबन्धनले गर्ने होइन : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३ गते १३:१४

३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईको बयान नलिने प्रपञ्च भएको भन्दै आपत्ति जनाएका छन् ।

गठबन्धनका नेताहरु बैठक बसेर कसैको बयान लिने/नलिने निर्णय गर्न नसक्ने उनले बताए । गठबन्धनका नेताहरु बसेर यो विषयमा छलफल गर्न पाउनुहुन्छ ?,’ आइतबार झापा शिवसताक्षीमा आयोजित कार्यक्रममा उनले भने, ‘म त भनिरहेको छु, कांग्रेसको बैठक होइन, गठबन्धनको बैठक लाइभ गर्नुपर्दछ । त्यहाँ के कुरा भयो देश र जनताले थाहा पाउनुपर्दछ ।’

बैठक हुनुअघि र पछि व्यक्त विचारमा फरक-फरक भाषा देखिने गरेको उनले बताए ।

नक्कली सुन प्रकरणको अनुसन्धान प्रक्रियालाई अघि बढाइरहेका प्रहरी अधिकारीको सरुवाप्रति पनि उनले असन्तुष्टि व्यक्त गरेका छन् । ‘सुशासनको काम गरिरहेको भनि प्रशंसा पाइरहेको बेलामा प्रहरी अधिकारीहरुको सरुवा भइरहेको सुनिरहेका छौं,’ थापाले भने । सुन काण्डमा राज्यले गरेको अनुसन्धान चित्त नबुझेको एमालेले भनिरहे पनि राज्य निकायहरु अनुसन्धान गर्न सक्षम रहेको उनले दाबी गरे ।

भ्रष्टाचारका फाइल खोल्ने विषयमा दलहरुले बदलाको रुपमा लिएको थापाले बताए । ‘एउटाले भन्छ, म सुन काण्डको भ्रष्टाचारको छानबिन गर्छु । अर्कोले भन्छ, ठूलो कुरा गर्छस्, गिरीबन्धु टी स्टेटको फाइल खोलिदिँउ ?’ थापा भन्छन्, ‘अर्कोले भन्छ, गिरीबन्धुको खोलिस् भने लडाकु शिविरको खोलिदिन्छु । अर्कोले भन्छ, मिलौं, कसैको नखोलौं ।’

यति, ओम्नी, गिरीबन्धु टी स्टेट, ललिता निवास, सुन काण्ड, शिविर घोटला लगायत सबै भ्रष्टाचारको फाइल खोल्नुपर्ने उनले बताए । ‘सबै काण्डको फाइल खोलिनुपर्दछ । त्यसमा अनुसन्धान हुनुपर्दछ । निर्दोष एक जना पनि पर्न हुन्न । दोषी हाम्रो पार्टीको होस् कि अर्को पार्टीको होस्,’ थापाले भने, ‘कि पूर्वप्रधानमन्त्री होस् कि, जोसुकै ठूलो नेता होस्, सानो होस् । एक जनाले पनि उन्मुक्ति पाउनु हुन्न भन्ने कुराको पोजिसन कांग्रेसको बन्नुपर्दछ ।’

व्यक्ति भ्रष्टाचारमा संलग्न हुन्छ भने त्यो उसको निजी कुरा हुने उनले बताए । माथि बस्ने एउटा नेताले गरेको गल्तिको भारी तल बस्ने कार्यकर्ताले पनि बोक्नुपरेको उनले सुनाए । उपल्लो तहमा रहेको नेताले गरेको भ्रष्टाचारका कारण तल्लो तहमा रहने कार्यकर्ताले दश ठाउँमा दश थरी कुरा सुन्नुपरेको थापाले बताए । कार्यकर्तालाई उनले भने, ‘तपाईंहरु मेरो कारणले कांग्रेसलाई दुई भोट भए पनि बढोस् भन्नुहुन्छ । तल्लो तहमा रहेको कार्यकर्ताले यसरी काम गरिरहेको बेलामा माथिको नेताले गल्ति गर्दा त्यसको भारी तपाईंले पनि बोक्नु परिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?