+
+

प्रदेशको नामकरण पहिचानको आधारमा भए द्वन्द्व हुँदैन : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ४ गते १४:५५

४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रदेशको नामाकरणको विषयमा स्व. प्रदीप गिरीले दिएको विचारसँग नेपाली काँग्रेस सहमत हुनसके सामाजिक द्वन्द्व हटाउन सकिने बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित स्व. प्रदीप गिरीको स्मृति सभाको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘प्रदीप गिरीले संविधान निर्माणको बेलामा राख्नुभएको विचारलाई मात्रै हेर्ने हो भने खास गरी हाम्रो नेपालको संघीयतालाई अघि बढाउने विषयका सन्दर्भमा उदारतापूर्वक नेपाली काँग्रेस जस्तो मूल राजनीतिक पार्टीले नामाकरण जस्तो विषय गर्दैगर्दा पहिचानको कुरालाई प्राथमिकता दिएर गर्नुपर्छ । यदि यसलाई गर्‍यौँ भने हामीले समाजको द्वन्द्वलाई चिर कालसम्म मेट्न सक्छौँ भन्नेकुराको प्रेरणा प्रदीप दाईको भनाइबाट पाउन सक्छौँ ।’

उनले आफू केही दिनअघि मात्रै झापा र इलाम पुगेर आएको भन्दै कोशी प्रदेशमा नामाकरणको विषयलाई लिएर स्थिति थप पेचिलो बन्दै गइरहेको उल्लेख गरे ।

‘म झापा र इलाम गएर आएँ । त्यहाँ प्रदेश १ को नामाकरण ठूलो विषय छ । तर, प्रदीप गिरीले संविधान निर्माणको बेलामा राख्नुभएको विचारलाई मात्रै हेर्ने हो भने खास गरी हाम्रो नेपालको संघीयतालाई अघि बढाउने विषयका सन्दर्भमा उदारतापूर्वक नेपाली काँग्रेस जस्तो मुल राजनीतिक पार्टीले नामाकरण जस्तो विषय गर्दैगर्दा पहिचानको कुरालाई प्राथमिकता दिएर गर्नुपर्छ ।’

उनले पहिचानको आधारमा प्रदेशको नामाकरण गर्दा समाजको द्वन्द्वलाई केही समयसम्मको लागि रोक्न सकिने स्व. गिरीको विचार काँग्रेस जस्तो मूल राजनीतिक पार्टीले प्राथमिकतामा राख्नुपर्ने बताए । उनलेले स्व. प्रदीप गिरीको विचारलाई जम्मा गरेर काँग्रेसले राख्ने हो भने मात्रै पनि २० वर्षसम्मका लागि काँग्रेसमा आउने समस्या सहजै समाधान गर्न सकिने बताए ।

‘उहाँले यति धेरै कुरा बोल्नु, लेख्नुभएको छ, उहाँका फुटकर लेखहरु, रचनाहरु, यो सबैकुरालाई पार्टीबाट प्रकाशन गर्नुपर्छ, जम्मा गर्नुपर्छ ।’ उनले भने, ‘ उहाँले भन्नुभएका कुरालाई सिलसिलावद्ध मिलाएर उहाँले बताउन खोज्नुभएको, भन्न खोज्नुभएको कुरालाई कम्तिमा पनि अर्को १५/२० वर्षका निम्ति समस्या परेको बेलामा त्यसले काँग्रेसलाई सम्बोधन गर्नेछ । त्यसबाट एउटा आधार बन्छ।’

काँग्रेसलाई बदल्न पार्टी सदस्यता र उम्मेदवार छनोट प्रक्रिया बदल्न आवश्यक रहेको महामन्त्री थापाको भनाइ थियो । उनले भने, ‘ नेपाली काँग्रेसलाई बदल्ने हो, काँग्रेसको सदस्य बदल्ने, उम्मेदवार छनोट प्रक्रिया बदलेर पार्टीलाई कसरी अघि बढाउने भन्ने सन्दर्भमा अघि जानुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?