+
+

सन् २०२३ प्रविधि उद्योगका लागि सर्वाधिक खराब वर्ष, २ लाख २६ हजारले गुमाए जागिर

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ६ गते १२:५६

विश्वका विभिन्न प्रविधि कम्पनीहरुमा कार्यरत २ लाख २६ हजार मानिसहरुले चालु वर्ष सन् २०२३ मा जागिर गुमाएका छन् ।

हालै प्रकाशित रिपोर्ट अनुसार सन् २०२२ मा वर्षभर जागिर गुमाएका प्रविधि उद्योगका जनशक्तिको तुलनामा यो ४० प्रतिशतले धेरै हो ।

व्यापक कर्मचारी कटौतीका कारण प्रविधि उद्योगका लाखौं कार्यस्थलहरु बन्द भैसकेका छन् । जसका कारण यो वर्ष सन् २०२३ प्रविधि उद्योगका लागि अहिलेसम्मकै सबैभन्दा खराब वर्षको मा रहेको AltIndex.com को रिपोर्टमा उल्लेख छ ।

सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा प्रविधि उद्योगहरुले एक लाख ६४ हजार ७४४ जना कर्मचारीहरुलाई जागिरबाट हटाएका थिए ।

सन् २०२१ को तुलनामा त्यो ११ गुणा धेरै थियो । Layoffs.fyi तथ्यांक अनुसार सन् २०२१ मा विश्व प्रविधि उद्योगमा कार्यरत करिब १५ हजार जनशक्तिले मात्रै जागिर गुमाएका थिए ।

तर यो वर्ष सन् २०२३ सर्वाधिक खराब देखिएको छ । गत जनवरीमा मात्रै प्रविधि उद्योगका ७५ हजार ९१२ जना जनशक्तिले आफ्नो जागिरबाट हात धुनुपरेको छ । जुन सन् २०२२ को कूल कर्मचारी कटौतीको झण्डै आधा हो ।

त्यस्तै फेब्रुअरीमा ४० हजार जना कर्मचारीहरु कटौतीमा परे भने त्यसपछिको तीन महिनामा कुल ७३ हजारले जागिर गुमाए । त्यसयता प्रविधि उद्योगमा कार्यरत थप २४ हजार जनशक्ति जागिरबाट निकालिएका छन् र यो वर्ष विश्व प्रविधि उद्योगमा कुल कर्मचारी कटौतीकेा संख्या २ लाख २६हजार ११७ पुगेको रिपोर्टमा उल्लेख छ ।

अनिश्चित विश्व अर्थतन्त्र, मुद्रास्फीति, आपूर्ति श्रृंखलामा व्याप्त समस्या तथा घट्दो आम्दानीका कारण प्रविधि कम्पनीहरुले कर्मचारी कटौतीलाई बढावा दिइरहेका छन् । यो मामिलामा गुगल, मेटा, माइक्रोसफ्ट तथा अमेजन जस्ता कम्पनीहरुले नै अग्रभागमा रहेका छन् ।

यद्यपि कर्मचारी कटौतीले अन्य ससाना प्रविधि कम्पनीहरुलाई पनि छाडेको छैन । रिपोर्टमा भनिएको छः खुद्रा र क्रिप्टोदेखि परिबहन बजारसम्मका अन्य सयौँ ससाना प्रविधि कम्पनीहरु समेत पीडादायी खर्च कटौतीका उपायहरु अपनाउन बाध्य छन् । जसका कारण प्रविधि उद्योगमा अहिलेसम्मकै उच्च कर्मचारी कटौती भएको छ ।

एक तथ्यांक अनुसार सन् २०२१ को सुरुआतदेखि अहिलेसम्म प्रविधि उद्योगहरुले ४ लाख ५ हजार भन्दा धेरै कर्मचारी कटौती गरिसकेका छन् ।

यस्तो कर्मचारी कटौतीको संख्यामा अमेरिकी प्रविधि कम्पनीहरुको हिस्सा सबैभन्दा ठूलो छ । यो वर्ष कटौतीमा परेका प्रविधि उद्योगका जनशक्तिमध्ये ८० प्रतिशत अमेरिकी प्रविधि कम्पनीमा कार्यरत जनशक्ति हुन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?