+
+

भदौ १२ देखि ‘जीवनसाथी’को छैटौं सिजन ल्याउँदै माल्भिका

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ७ गते १३:३२

काठमाडौं । माल्भिका सुब्बाको टिभी कार्यक्रम ‘जीवनसाथी’ बढी हेरिनेमध्ये पर्छ । यो शोलाई लिएर नयाँ खबर छ । भदौ १२ अर्थात् आगामी मंगलबारदेखि शोको छैटौं सिजनको प्रसारण सुरु हुने भएको छ ।

माल्भिकाले नयाँ जोडी र कथावस्तुसहित नयाँ सिजन ल्याउन लागेको घोषणा गरेकी छन् । कुल ५२ एपिसोडको हुने नयाँ सिजनमा दर्शकलाई नयाँ स्वाद पस्किने तयारी रहेको जानकारी उनले दिइन् ।

नयाँ सिजनबारे उनले भनिन्, ‘यस्ता चर्चित र उदाहरणीय जोडी जो शोमा आउन चाहुनुहुन्न उहाँहरुलाई यसपटक ल्याउँछौं । राजनीतिक र खेलाडीको जोडीलाई प्राथमिकतामा राखेका छौं । जसले समाज बदल्नुभएको छ । जसले पितृसत्तात्मक सोचलाई ब्रेक गर्नुभएको छ । त्यो जोडीलाई यहाँ प्रस्तुत गर्नेछौं ।’

२२ वर्षदेखि आफूले टेलिभिजन कार्यक्रम चलाउँदै आए पनि आफ्ना लागि ‘जीवनसाथी’ विशेष रहेको माल्भिका कथन छ । ‘मैले अरु शो पनि गर्न सक्थें होला तर म जीवनसाथीबाट टाढिन सकिनँ,’ उनले भनिन्, ‘त्यो रेस्पेक्टको कारण पनि नयाँ सिजनसहित शो अघि बढाउन लागिरहेको छु ।’

केरकार गर्ने भन्दा पनि सद्भाव र सहानुभूतिपूर्वक कार्यक्रम चलाउने आफ्नो शैलीलाई दर्शक र पाहुनाले रुचाएको माल्भिकाले बताइन् । ‘किनभने प्रेमकथामा कार्यक्रम चलाउनु निकै जटिल र चुनौतीपूर्ण काम हो । अघिल्ला तीनवटा सिजनमा अन्तर्वार्ता लिने शैलीलाई उहाँहरुले रुचाइदिनुभएको पाएकी छु,’ माल्भिकाले भनिन् ।

अघिल्ला कार्यक्रममा श्रीमान-श्रीमती र लिभ-इन-रिलेसनसिपमा बसेका जोडीलाई पनि निम्ताएको उनले बताइन् । ‘सेलिब्रिटीलाई मात्र फिचर गर्ने मेरो मान्यता कहिल्यै थिएन । व्यावसायिक रुपमा राम्रो गरेका सर्वसाधारण जोडीलाई पनि ल्याउँछौं । हाम्रै शोमा आउनुभएका १५-२० जोडीले गत वर्ष विवाह पनि गर्नुभयो,’ उनले भनिन् ।

यो कार्यक्रमबाट नयाँ मायालु जोडीले केही सिक्न र प्रेरणा लिन सक्ने पनि उनले बताइन् । २० वर्षदेखि सँगै रहेर बच्चा हुर्काइरहेका एलजीबीटीआइक्यू समुदायका जोडीलाई पनि शोमा ल्याएको अनुभव सुनाउँदै माल्भिकाले यसमार्फत अरुलाई पनि सन्देश दिन चाहेको बताइन् ।

‘जीवनसाथी’ हिमालय टेलिभिजनको चर्चित कार्यक्रममध्ये पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?