+
+
ब्लग :

योगी र ढोंगी कसरी छुट्याउने ?

भक्त बनौं, अन्धभक्त नबनौं ! बजारमा जो भाइरल छ उसलाई ढोग्न गइहाल्नु अघि के ती पात्र अनुसरण गर्न योग्य छन् भन्ने अध्ययन र अनुसन्धान गरौं। अध्यात्म आखिर आन्तरिक यात्रा न हो !

 

डा. विष्णुप्रसाद जोशी डा. विष्णुप्रसाद जोशी
२०८० भदौ ७ गते १६:५४
Photo Credit : Pixabay

मैले एक दशक जति भारत र नेपालका धेरै योगी बाबाका आश्रममा गएर योग-ध्यान अभ्यास र वेद-उपनिषद्को अध्ययन गरेको छु। मेरो अनुभवको आधारमा केही कुरा राख्न चाहन्छु।

भनिन्छ, मानिस चार विशेष परिस्थितिहरूमा ईश्वर स्मरण र अध्यात्मतर्फ लाग्छ-आर्थी, अर्थार्थी, जिज्ञासु र ज्ञानी।

पहिलो, आर्थी– जो रोगव्याधिको प्रकोपमा या दुःख पीडामा छ। हो, दुःखीलाई सहारा र आस्थाको बढी आवश्यकता महसुस हुन्छ। प्राय: सबै धर्मका धर्मग्रन्थहरूमा ईश्वरलाई सङ्कटमोचन अर्थात् अनाथहरूको नाथको रूपमा वर्णन गरिएको हुन्छ। त्यसैले त आज देशमा चरम निराशा हुँदा सबै नेपालीको मुखमा अब बचाए पशुपतिनाथले नै बचाउन् भनेको सुनिन्छ। सरकारबाट त कुनै आशै छैन।

दोस्रो, अर्थार्थी– विष्णु सबैलाई नचाहिए पनि लक्ष्मी नचाहिने विरलै होलान्। धर्म, अर्थ, काम र मोक्षलाई शास्त्रहरूमा जीवनका चार पुरुषार्थ भनिएको छ तर भ्रष्टाचार र कालोबजारीले कमाएको धनले सम्पन्नता देला तर मनको शान्ति दिंदैन, मोक्ष दिंदैन भनिएको छ।

तेस्रो, जिज्ञासु– मानिसलाई पीडामा या मनग्य धन कमाएपछि मनमा अस्तित्वसँग जोडिएका दार्शनिक प्रश्नहरूको प्रादुर्भाव हुन थाल्छ। म को हुँ ?, सांसारिक पीडाबाट मुक्त भई सदा खुशी रहने बाटो कुन होला ? इत्यादि। ज्ञान योगको मार्गमा भनिन्छ- प्रश्न, प्रति-प्रश्नले नै मानिसलाई तत्त्व ज्ञानतर्फ डोर्‍याउँछ।

वादे वादे जायते तत्त्वबोध: वैज्ञानिक विधिको पहिलो सोपान पनि प्रश्न गर्नु नै हो। कुनै शोधको निष्कर्ष साझा गर्न कुनै प्राकृतिक घटनाको अवलोकन पछि त्यो घटनाको पछाडि रहेको कारण पत्ता लगाउन केही प्रस्तावित प्रश्नहरूको परिकल्पना गरिन्छ।

त्यसपछि त्यो परिकल्पनाको परीक्षण गर्न प्रयोग गरी तथ्याङ्कको विश्लेषण गरेर निष्कर्ष निकालिन्छ। तर नेपालमा वैज्ञानिक विधिको समेत खिल्ली उडाएर राष्ट्रप्रमुखले नै कहिले कोरोना भाइरसलाई निर्जीव भन्छन् त कहिले ठोस आधार विना बेसारपानीले ठिक गर्छ भने।

दुर्भाग्यवश नेपालमा नेताहरू केवल अर्थार्थी र अनि जनता आर्थी बनिरहे। अब जनता जिज्ञासु हुने वेला आयो, अब हामीले प्रश्न गर्नै पर्ने वेला आयो।

चौथो, ज्ञानी– भनिन्छ जब कोही कुनै विधामा पारङ्गत हासिल गर्छ त्यसपछि उसले हरेक प्राकृतिक घटना पछाडिको कारण एउटै एकीकृत शक्ति देख्छ।

यसलाई केही कण भौतिक शास्त्रका वैज्ञानिकहरूले स्ट्रिंग सिद्धान्त अर्थात् क्वान्टम भौतिक शास्त्र तथा साधारण सापेक्षतावादको एकीकरणको प्रयास भनी व्याख्या गर्छन्। यो महाएकीकृत सिद्धान्तको (थ्यौरी अफ एभ्रिथिङ) सबै भन्दा प्रबल दाबेदार सिद्धान्त हो जो सबै मूलभूत कणहरू (फन्डामेन्टल पार्टीकल्स) र ऊर्जाको गणितीय व्याख्या गर्ने प्रयास गर्दैछ।

गहन अध्यात्मका साधकहरू विविधतामा एकता देख्नुलाई ज्ञान भन्छन् अर्थात् अद्वैत दर्शनं ज्ञान ! अनि जस्तो दृष्टि त्यस्तै सृष्टि देख्न थालिन्छ भन्ने उनीहरूको मान्यता छ। महानारायण उपनिषद्को १३औं अध्यायको छैटौं श्लोकमा भनिएको छ- अन्त: बहिश्च तत् सर्वंव्याप्यं नारायण: स्थितः अर्थात् सबै वस्तुमा भित्र र बाहिर नारायण विद्यमान छन्। ईश्वर त घट-घटमा छन्।

आफैंभित्र विद्यमान आत्मारामको साक्षात्कार नगरेसम्म राम कहाँ जन्मिए भन्ने कुरामा विवाद गरेर कोही ज्ञानी हुँदैन।

शान्त मनले बाहिर हेर्दा गोचर हुने सौम्य दृश्यको मेरो व्यक्तिगत अनुभव पनि छ। सन् २००७/०८ ताकाको कुरा हो म परमहंस योगानन्दको योगी कथामृत पढेर मलाई पनि हिमालयका गुफाहरूमा गई ध्यान गर्ने प्रेरणा मिल्यो। म बद्रीनारायणको पछाडि नारायण पर्वतमा अवस्थित एक दुर्गम गुफामा ध्यान गरी केही सप्ताह बिताएको थिएँ।

केही दिनको एकान्त वासपछि मन शान्त हुँदै गयो र अस्थिर चित्त-वृत्तिहरू घट्दै जाँदा भित्री आनन्दको अनुभूति घनीभूत हुँदै गयो। आफैं भित्रको ‘म अवस्थित छु’ भन्ने चेतना ध्यान गर्दै जाँदा भौतिक शरीरको सङ्कुचित दायराबाट विस्तारित हुँदै गएको अनुभूति भयो। ती विशाल हिमशृङ्खलाहरू आफ्नै अस्तित्वको प्रक्षेपण झैं लाग्न थाले अनि ती हिमनदी आफ्नै उपस्थितिको परावर्तन !

एक दिन म आफैं मनमगन भई नारायण पर्वतबाट बद्रीनाथतर्फ ओर्लँदै थिएँ। एउटा जटाजूट र त्रिशूल धारण गरेका साधु माथि चढ्दै थिए। मलाई त्यो दुर्गम नारायण पर्वतबाट तल झर्दै गरेको देखी उनले सोधे, ‘त्यहाँ माथि कहाँबाट आउँदै छस् ? थाहा छ तँलाई यो कुन पवित्र हो ?’

मैले शान्त भएर म नारायण पर्वत माथि अवस्थित एउटा एकान्त गुफामा ध्यान गरी बसिरहेको छु र दिनमा एक चोटि भोजन ग्रहण गर्न तल झर्ने गरेको छु महाराजजी भनें। मेरो जवाफ सुनी ती महात्मा झनै आक्रोशित हुँदै भने, ‘तँ यहाँका गुफामा बसी आफ्नो तुच्छ मलमूत्रबाट यो पवित्र नारायण पर्वतलाई कसरी दूषित बनाउन सक्छस् ?’

मैले आफ्नो भित्री शान्ति कायमै राखी नम्र भएर भनें, ‘महाराजजी अब शौच गति रोकी राति यो हिमालय पार गरी म अन्त त जान सक्दिनँ तर बद्रीनाथ मन्दिरको विपरीत दिशामा केही चट्टानहरूको पछि गई मूत्र विसर्जन गर्ने गरेको छु।’ तर महाराजजी बारम्बार तँ यो पवित्र नारायण पर्वतलाई कसरी दूषित बनाउन सक्छस् भनिरहे।

मैले संयमित हुँदै भनिरहें, ‘महाराजजी ठिक छ यो त नारायण पर्वत भयो। मलाई एउटा यस्तो स्थान देखाइदिनुहोस् जहाँ नारायण छैनन्, म त्यहीं शौच गर्न जान्छु। महानारायण उपनिषद्को १३औं अध्यायको छैटौँ श्लोकमा अन्त: बहिश्च तत् सर्वं व्याप्यं नारायण: स्थितः अर्थात् सबै वस्तुमा भित्र र बाहिर नारायण विद्यमान छन् भनिएको छ।’

एउटा अल्लारे ठिटोका मुखबाट यो ज्ञानका शब्द अलि हजम भएनछ। उनले जाँदाजाँदै रिसाएर सोधे, ‘इतना ज्ञान है, हर जगह नारायण दिख्ते है तो यहाँ क्यु भटक रहा है ?’

त्यो दिनपछि ती साधु मसँग बोल्न छाडे। कहिलेकाहीं भेट हुँदा मैले चढाएको अभिवादन ‘नमो नारायण महाराजजी’ को प्रतिउत्तर नदिई तर्केर हिंड्थे।

केही सप्ताहपछि एउटा व्यावहारिक र ज्ञानी महात्मा भेटिए जसले मलाई मेरो यो जवानीको उमेर पढाइ छोडी बाबागिरी गर्ने नभई पढेर, सीप हासिल गरी समाजसेवा गर्ने समय हो भनी उपदेश दिए।

सामाजिक सद्भाव बाहेक साम्प्रदायिक घृणा फैलाउने, अल्पसङ्ख्यक र सीमान्तकृत वर्ग विरुद्ध असहिष्णु अभिव्यक्ति दिने कोही वास्तविक आध्यात्मिक गुरु हुनै सक्दैन।

त्यसपछि मैले कलेज फर्केर विज्ञानमा स्नातकोत्तर गरें।बद्रीनाथ छोडी फर्कने दिन मसँग नबोली हिंड्ने साधुलाई सय रुपैयाँ दक्षिणा दिएँ। महाराजजी खुसी भई बद्रीनाथको तुलसीको पात प्रसाद पनि दिएका थिए। कैयौं दिन ‘नमो नारायण’ भनी गरेको अभिवादनको जवाफ नदिई हिंड्ने साधुले एक दिन लक्ष्मी (दक्षिणाको रूपमा पैसा) चढाउँदा प्रसाद समेत दिए। नारायण सबैलाई नचाहिए पनि लक्ष्मी त सबैलाई चाहियो !

हो ! पैसा, साधन-स्रोत केही हदसम्म सबैका आवश्यकता हुन्। तर जब मानिसमा नैतिक चेतना र विश्व बन्धुत्व भावनामा ह्रास आउँछ तब ऊ आवश्यकता भन्दा पनि लोभबाट परिचालित हुन थाल्छ। महात्मा गान्धीले भनेझैं धर्तीमातासँग आफ्ना सबै सन्तानका आवश्यकताहरू पूर्ति गर्न पुग्ने सम्पदा र संसाधन छन् तर ती सबै एउटै मान्छेको लोभको परिपूर्ति गर्न पनि अपर्याप्त हुन सक्छन्।

साँचो आध्यात्मिक साधक र योगीले क्षणभङ्गुर भौतिक वस्तुको चाह राख्दैन। एक साँचो योगीको लागि सबैभन्दा ठूलो धन मनको शान्ति हो। आत्मचिन्तन हो।

योगश्चित्तवृत्तिनिरोधः – पतंजलि योग सूत्र १.२, अर्थात् अन्त:करणका वृत्तिहरू निरोध (बन्द हुनु) योग हो। साँचो योगी या बाबाले शारीरिक र मानसिक रूपमा स्वस्थ जीवन जिउने कला सिकाउँछन्। वसुधैवकुटुम्बकम् जस्ता विश्व बन्धुत्वको उपदेश दिन्छन्।

सामाजिक सद्भाव बाहेक साम्प्रदायिक घृणा फैलाउने, अल्पसङ्ख्यक र सीमान्तकृत वर्ग विरुद्ध असहिष्णु अभिव्यक्ति दिने कोही वास्तविक आध्यात्मिक गुरु हुनै सक्दैन। त्यस्ता ढोंगीहरू धर्मको नाममा राजनैतिक विस्तारवादका गोटी हुन्।

यदि योगका प्रामाणिक ग्रन्थ पढ्ने भए भगवद्गीता, पतञ्जली योग सूत्र जस्ता ग्रन्थ र परमहंस योगानन्द, विवेकानन्द, नेपालका गलेश्वर बाबा र खप्तड बाबाका जीवनी र कृति पढ्नुपर्छ। म सानो छँदा मेरी आमाले खप्तड बाबाको दर्शन र आशीर्वाद प्राप्त गर्न लग्नुभएको थियो।

उहाँले आमालाई स्वस्थ जीवनयापन र खानपान बारे उपदेश दिनुभएको थियो। आजकाल मैले खप्तड बाबाका कृति ‘विचार विज्ञान र स्वास्थ्य विज्ञान’ अध्ययन गर्न थालेको छु। नेपालको मौलिक परिवेश र भाषामा लेखिएका यी कृतिमा आफ्नै माटोको सुगन्ध छ।

भक्त बनौं, अन्धभक्त नबनौं ! बजारमा जो भाइरल छ उसलाई ढोग्न गइहाल्नु अघि के ती पात्र अनुसरण गर्न योग्य छन् भन्ने अध्ययन र अनुसन्धान गरौं। अध्यात्म आखिर आन्तरिक यात्रा न हो !

लेखकको बारेमा
डा. विष्णुप्रसाद जोशी

बझाङमा जन्मिएका लेखक हाल अमेरिकामा वैज्ञानिकको रूपमा कार्यरत छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?