+
+

पिस कोर स्वयंसेवकको २०८औँ समूहले लियो शपथ ग्रहण

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ७ गते १८:३३

७ भदौ, काठमाडौं । शिक्षा, स्वास्थ्य, वातावरण, कृषि, सामुदायिक आर्थिक विकास र युवा विकासका क्षेत्रमा काम गर्ने संस्था पिस कोरका २१ जना स्वयंसेवकहरूले  शपथ लिएका छन् ।

नेपालमा अबको दुई वर्षसम्म काम गर्ने स्वयंसेवकहरूले सेवाको प्रारम्भमा अमेरिकी राजदूत डिन आर. थम्पसन र पिस कोर–नेपालका देशीय निर्देशक ट्रोइ कफ्रथबाट शपथ ग्रहण गरेका हुन् ।

काठमाडौँस्थित अमेरिकी दूतावासका अनुसार यससँगै उनीहरू सन् १९६२ यता नेपालमा काम गरिसकेका झन्डै ४ हजार पिस कोर स्वयंसेवकहरूको सङ्ख्यामा जोडिएका छन् ।

कोभिड–१९ महामारीका कारण भएको विश्‍वव्यापी निष्क्रमणपछि नेपालमा आएको यो पहिलो समूह हो । नेपाली र अमेरिकी सरकारबिच ६१ वर्षअघि सन् १९६२ को अगस्ट २४ मा नेपालमा पिस कोर कार्यक्रमको स्थापना गर्ने सहमतिमा हस्ताक्षर भएको दिन थियो । आज उक्त दिनको वर्षगाँठ पनि हो ।

नेपालका लागि अमेरिकी राजदूत थम्पसनले आफू पनि पिस कोरका एक संस्थापक कर्मचारीको सन्तान भएको भन्दै आफूलाई उनीहरूले सेवा गर्ने समुदायको जीवन परिवर्तन गर्ने सक्ने क्षमताबारे जानकारी भएको बताए ।

‘नेपालमा मलाई अनगिन्ती मानिसहरूले पिस कोरसम्बद्ध आफ्नो कथा सुनाएका छन् । आफ्ना जीवन वा समुदायमा सकारात्मक परिवर्तन ल्याएका स्वयंसेवकबारे पनि सुनाएका छन्,’ उनले भने, ‘सन् १९६२ यता झन्डै ४ हजार स्वयंसेवकहरूले नेपालका विद्यालयमा पढाएर वा कृषिमा काम गरेर सेवा गरिसकेका कारण नेपालीहरूसँग सुनाउन धेरै कथा छन् । स्वयंसेवकहरू नेपालमा पुनः आउनु अत्यन्त राम्रो कुरा हो ।’

आफूले नवआगन्तुक स्वयंसेवकहरूसँग भेट गरेको भन्दै देशभरका समुदायमा जाँदै गर्दा उनीहरूले कोर्ने कथा सुन्न उत्सुक रहेको बताए ।

गत जेठमा नेपाल आइपुगेका पिस कोर स्वयंसेवकले आफ्नो सेवाको तयारी स्वरूप काभ्रे जिल्लामा ११ हप्‍ता लामो सघन भाषिक, अन्तरसांस्कृतिक र प्राविधिक प्रशिक्षण पूरा गरेका छन् ।

यिनलाई गण्डकी तथा वाग्मती प्रदेशका पाँच जिल्लामा खटाइएको छ । त्यहाँ उनीहरूले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँगको समन्वयमा सरकारी विद्यालयहरूमा अङ्ग्रेजी पढाउनुका साथै खाद्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी परियोजनाहरूमा काम गर्नेछन् ।

पिस कोर विश्‍व शान्ति तथा मित्रताको उद्देश्यबाट अभिप्रेरित स्वयंसेवक, समुदायका सदस्य, आतिथेय मुलुकका साझेदार र कर्मचारीहरूको अन्तर्राष्‍ट्रिय सेवा सञ्‍जाल हो । विश्‍वभरिका सरकारहरूको आमन्त्रणमा पिस कोर स्वयंसेवकहरू शिक्षा, स्वास्थ्य, वातावरण, कृषि, सामुदायिक आर्थिक विकास र युवा विकासका क्षेत्रमा स्थानीय रूपमा प्राथमिकताप्राप्‍त परियोजनाहरूमा समुदायका सदस्यहरूसँग काम गर्दछन् ।

सन् १९६१ मा अमेरिकी राष्‍ट्रपति जोन एफ. केनेडीले पिस कोरको स्थापना गरेदेखि २ लाख ४० हजारभन्दा बढी अमेरिकीहरूले विश्‍वभर १४३ वटा मुलुकमा सेवा गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?