+
+

कवाडी कर उठाउन हातपात गर्नेलाई ७ दिन म्याद थपेर अभद्र व्यवहार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३१ गते २०:०२
फाइल तस्वीर

३१ वैशाख, काठमाडौं । ललितपुर महानगरपालिकामा कवाडी कर उठाउन जबर्जस्ती गर्दा पक्राउ परेका ठेकेदारसहित चार जनालाई ७ दिन म्याद थपेर प्रहरीले मुद्दा चलाउने भएको छ ।

कवाडी कर उठाउन जिम्मा पाएको ठेकेदार कम्पनीका सञ्चालकसहित उनीहरूलाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको थियो ।

सेवाग्राहीमाथि हातपात गरेको आरोपमा इन्द्रेणी हार्डवेयर एन्ड सेनेटरी वेयर प्रालिका सञ्चालक रोशन चौधरीसहित ठेकेदार कम्पनीका कर्मचारीहरू गुमानविक्रम खत्री, प्रकाश बस्नेत र श्याम ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

कवाडी कर विषयमा विवाद हुँदा ठेकेदार कम्पनीका सञ्चालक चौधरीसहितका कर्मचारीले आफूहरूमाथि हातपात गरेको आरोप चुनढुंगा सप्लायर्सका कर्मचारीको छ ।

उनीहरूलाई ७ दिनका लागि जिल्ला अदालत ललितपुरबाट म्याद थपेर अभद्र व्यवहारको मुद्दा चलाउने तयारी गरेको ललितपुर प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शेखर खनालले बताए ।

विवाद के थियो ?

गोदावरी नगरपालिकामा कर तिरेसकेकाले फेरि ललितपुर महानगरपालिकामा किन कर तिर्ने भन्दै सप्लार्यका कर्मचारीले ठेकेदार कम्पनीका कर्मचारीसँग प्रश्न गरेका थिए ।

सोही विषयमा विवाद हुँदा आफूहरूमाथि ठेकेदार कम्पनीका सञ्चालक सहित कर्मचारीले हातपात गरेको उनीहरूको आरोप छ ।

ललितपुर प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार गोदावरी नगरपालिकामा कर तिरेर आइसकेको हुँदा ललितपुर महानगरमा फेरि किन तिर्ने भनेपछि सप्लायर्स र ठेकेदार कम्पनीका कर्मचारीबीच विवाद भएको भन्ने बुझिएको थियो । थप अनुसन्धान गरेर प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता गर्न लागेको हो ।

ललितपुर महानगरसँग गत महिनादेखि इन्द्रेणी हार्डवेयर एन्ड सेनेटेरी वेयर प्रालिले १० करोड १८ लाखमा कवाडी कर उठाउने ठेक्का लिएको थियो ।

सम्झौतासँगै ठेकेदार कम्पनीले ललितपुर छिर्ने विभिन्न स्थानका नाकामा ढाट राखेर पैसा उठाइरहेको छ । महानगरले १८ वटा विभिन्न कवाडीजन्य सामान, जडीबुटी, हाडखोर लगायत वस्तुमा कर उठाउन ठेक्का दिएको हो ।

कवाडी कर संकलन क्रममा ठेकेदार कम्पनीले गुन्डागर्दी शैली अपनाएको भन्दै सरोकारवालाले चर्को विरोध जनाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?