+
+

ताल हुनु त च्छो रोल्पा जस्तो

सरोज कटुवाल सरोज कटुवाल
२०८० भदौ ९ गते १९:५५

हामीलाई सिमी गाउँ सम्म पुग्नु थियो ।

रातको अँध्यारोले छेतछेतलाई निलिसकेको थियो । तल हल्ला गर्दै दगुरी रहेको तामाकोसी बाहेक केही पनि ठम्याउन मुस्किल थियो । यो अन्धकारको बीच नहिँडी उपाय नै थिएन र बाटोको नाममा उकालोको अर्को विकल्प पनि थिएन । उकालो यसरी ठडिएको थियो कि एउटा झोला र आफ्नो शरीर एक छिन घिस्रयाउन पनि मुस्किल भयो ।

मनिष केही मिनेट हिँड्ने बितिकै थ्याच्चै भुईंमा बस्यो । ‘कस्सम दाइ जीउ खरानी नै भइसकेछ,’ मनिष बोल्यो । मैले सोचे बरु खरानी भए उडेर सिमिगाउँ पुग्ला तर यो पाराले हिँडेर सिमिगाउँ पुगिन्न । ‘गाई बाख्रा खेदाउन पछि लाग्नु रे, मान्छे खेदाउन अघि’ भने जस्तै मोबाइलको लाइट बलेर म मनिषको अघि अघि हिँड्न थालेँ ।

‘भोलिदेखि ढुक्कै हिँड्न सक्छु दाइ,’ मनिषले मतिर मोबाइलको लाइट देखाउँदै भन्यो । पत्याएझैं गरेर मैले मुन्टो हल्लाएँ । अँध्यारोमा नाकै ठोकिएलाझैँ उकालो हे दैव कम्ता गाह्रो भएन । ए दाइ एकछिन बसौं यार  निकै बेर हिँडेपछि भेटिएको धारामा पुगेर मनिषले भन्यो । हामीले त्यहाँ एक तिर्खा पानी खायौं र एकछिन थकाइ मार्‍यौं ।

सिमी गाउँ कहाँ छ हामीलाई अत्तोपत्तो थिएन । थियो त केवल फन्को मारिमारी घुमेको सिँढी नै सिँढी टाँसेको बाटो । हामी उकालो लाग्यौं । जति जति उकालो ज्यान उति भारी हुन थाल्यो । पसिनाले पूरै जीउ निथ्रुक्कै भिज्यो । सास बढ्यो । छेतछेत बाट लगभग दुई घण्टा लाग्यो सिमी गाउँ पुग्न। वरपर अँध्यारो बिच बत्तीहरू तिलमिलाई रहेको थियो गाउँमा ।

रात परे पनि सजिलै अनुमान  लगाउन सकिन्थ्यो कि गाउँ बाक्लो छ भनेर । कतै कसैका आँगन कतै बारी टेक्दै हामी हत्तु हैरान भएर सिमी गाउँको सिरान पाल्देनको होटेल पुग्यौं । पाल्देनले हामीलाई कोठा सम्म डोर्‍याए । मैले झोलासँगै मेरो शरीरलाई खाटमा फालिदिएँ । आराम पाएर जीउ बिस्तारै बेलुनझैं हलुका भयो । हिडाइले तातेको शरीर अलिअलि गर्दै चिसिन थाल्यो ।

हामी कोठाबाट निस्कियौं र आँगनै छेउको गोठमा गयौं । अगेनोमा धुवाँ पुतपुताइरहेको थियो । ठोस ठास पारेर आगो बाल्यौं ।  पाल्देनले तातोपानी ल्याइदिए । मनिष र म तातोपानी पिउँदै अगेनो अघिल्तिर अड्डा जमाएर बस्यौं ।

केही समयपछि किचनबाट आवाज आयो – खाना रेडी भयो है सर । हामी पाल्देनको आवाज पछ्याउँदै किचन तिर लाग्यौँ । भोक गज्जबले लागेको थियो । खाना मजासँग खाइयो । पाल्देनले दिएको खानाले भोको पेट शान्त भयो तर उसको कुराले मन भने अशान्त । ‘नाँ गाउँ मा मान्छे छैनन् सर । चिसोले गर्दा सबै काठमाडौँ फर्किसके । होटेलमा मान्छे भेट्न मुस्किल छ हौ,’ पाल्देनले सुनायो । हामी अक्क न बक्क भयौँ । त्यो बेला मलाई सुरु नहुँदै हाम्रो यात्रा सकिएझैँ लाग्यो ।

पाल्देन कसैसँग फोनमा कुरा गर्न थाल्यो । मनिष र म एक अर्काको मुखामुख हेर्न थाल्यौं । पाल्देन बोल्यो ‘सरहरू लक्की रछ हौ आइस क्लाइम्बिङ गर्न गाको टोली आज माथि पुग्यो रे । तपाईँहरू ढुक्कले गए हुन्छ मेरो भेना को होटेल खुल्लै हुन्छ सर ।’ धन्न ! मैले लामो सास ताने ।

पाल्देन फेरि बोल्यो, ‘तर नाँगाउँभन्दा अगाडि चैँ यसै भन्न सकिएन ।’ हे भगवान् मैले मैले फेरि लामो सास तानें । ‘जो होगा देखा जाएगा दाइ चल्दिने हो’ भोलि मनिषले बोल्यो । पाल्देनले हामीलाई भोलिदेखिको बाटोको बारेमा बेलिबिस्तार लगायो । गफगाफ लामै चल्यो । अब बिहान भेटौँला है । मैले कुराकानीको बिट मार्दै मनिषलाई कोठा जाने इशारा गरेँ । हामी कोठातिर लाग्यौँ ।

बिहानको  छ बजे मेरा आँखा खुले । मैले झ्याल खोलेर एक सर्को आँखा घुमाए । पूरै सिमी गाउँ देखियो । भिरालो भिरालो ठाउँमा बसेको बाक्लो गाउँ । घाम सिमी गाउँमा बिस्तारै पोखिँदै थियो । गाउँमा  बिहानीपखको चहलपहल सुरु हुँदै थियो । बिहानको खाजा चिया र केही छिनको अलमल पछि हामी उकालो लाग्यौं । हामीलाई आज एउटा सिङ्गो दिन हिँड्नु थियो । न रातमा बासको केही ठेगान थियो दिनमा गाँसको बन्दोबस्त ।

कतै तेर्सो कतै उकालो कतै जङ्गल हुँदै हाम्रो यात्रा अघि बढ्यो । बिहानको समय । बाक्लो जङ्गल । चिरबिर चिरबिर चराहरू । कतै कतै विशाल विशाल ढुङ्गाहरू । कतै काला डरलाग्दा ओडारहरू । बाटोमा भेटिए अनि छुटिए । घाम उति  बैँसालु भइसकेको थिएन मनिष गज्जबले हिँडिरहेको थियो । हिँड्दा हिँड्दै मनिषभन्दा म एक दुई कुइनेटो अघि भइहाल्थें । मैले पर्खन्थे उ आइपुग्थ्यो एकै छिन थकाई मारेर हामी फेरि हिँड्थ्यौं ।

कति घण्टा लम्केपछि भात खान पाइएला केही अत्तोपत्तो थिएन । कहाँ पुगेर बास पाइएला केही थाहा थिएन । सोध्नलाई बाटोमा कोही भेटिएन कोही देखिएन । अन्धाधुन्ध हिँड्दा हिँड्दै क्याल्चे पुगियो । एउटा होटेल त्यो पनि होटेल बन्द थियो । कोही हुनुहुन्छ ? वरपर कोही छ कि सोचेर मैले बोलाएँ । जवाफमा कोही बोलेन । मेरो आवाज हावासङै उडेर गयो । निर्विकल्प एकै छिन थकाइ मारेर हामी फेरि अघि बढ्यौं ।

क्याल्चे बाट हिँडेको केही समय पछि एक जना मान्छे भेटिए । च्छो रोल्पा गाको होला माथि कोही मान्छे छैन सबै झरिसके हामीलाई देखेर उनी बोल्दै बोल्दै हिँडे।  उनलाई भेटेपछि मलाई लाग्यो भेट नभएको भए हुने । भेटे पनि नबोलेको भए हुने । उनी सँगको भेटले हामीलाई अन्यौलता बाहेक केही पनि दिएन । हामी झनै बेटुङे भयौं । डोगाङ हाम्रो अगाडि छ थाहा थियो तर कति अगाडि छ त्यो थाहा थिएन न डोगाङमा के छ त्यो थाहा थियो । कतै कुइनेटोमा छलिँदै । कतै घना जङ्गलमा हराउँदै । कतै खुला ठाउँ भेटे थ्याच्च बस्दै । लमतन्न बाटोमा लुरुलुरु हिँड्दै हामीले डोगाङ पछ्याइरह्यौं ।

बाटोमा आँधीझैँ बगिरहेको खोला, अक्करे भीर, काला काला अरिमठे पहाडले तर्साउँथ्यो बेला बेला । शिर उठाएर माथि हेर्‍यो दिव्य गौरीशङ्कर हिमालले साहस दिन्थ्यो उति नै बेला । जिस्किन्थ्यो  गौरीशङ्कर पनि । लुक्थ्यो देखिन्थ्यो। भेटिन्थ्यो । छुटिन्थ्यो ।  कहिले कपासझैँ सेता बादलभित्र हराउँथ्यो । कहिले सारा बादल पन्छाएर मुस्कुराउँथ्यो ।

बाटोमा अनेक पुलहरू भेटिए, जसले हामीलाई सहज वारपार गराए । हरेक पटक पुल तर्दा पुलको दायाँ-बायाँ मैले फूलपाती चढाउँथेँ र ढोग्थेँ । कति डराएको हो कि के हो र यस्तै एक पटक ढोग्दै गर्दा मनिषले मलाई सोध्यो । मनिषलाई लागेछ म डराएँ । हाम्रो इलामतिर चलन छ क्या खोला तर्दा खोलालाई ढोग्ने म डराएको हैन बरु मैले हाम्रो चलन नर्बिसेको मात्र हो। मनिष फिस्स हाँस्यो । हिँड्दा हिँड्दै हामी एउटा कुइनेटो काटेर फुत्त डाँडामा निस्कियौं । हामीलाई डोर्‍याई रहेको उकालो बाटो एकाएक टुङ्गियो ।

हामी डाँडामा उभिइराख्यौं । बाटो ओरालो झर्‍यो । डाँडा बाट तल हेर्दा झुरुप्प घरहरू देखिए । निला निला छाना भएका लामा लामा घरहरू । दुई चार जना मान्छे पनि देखिए । लु डोगाङ आयो दाइ  मनिष खुसी हुँदै बोल्यो । मलाई दौडिएर कति बेला तल पुगौं झैँ भयो । बान्की पारेर बनाएको बाटो र छेउमा रेलिङ । हामी रेलिङ समाएर हामी फुत्त फुत्त गर्दै तल झर्‍यौ । काठको पुल तर्‍यौ ।

भित्तामा एउटा विशाल छाँगो कक्रिएर पुरै जमेको थ्यो । तेस्को अर्थ चिसो गज्जबकै चिसो थियो । पुल तरेर तेर्सो तेर्सो बाटो हुँदै हामीले डोगाङ टेक्यौं । आडैमा विशाल खोलो बगाएर वरपर अजङका पहाड उभ्याएर डोगाङ बसेको थ्यो । डोगङ पुगेर हामीले झोला बिसायौं । एउटा होटेल खुल्ला थियो । आँगनमा बाख्राका पाठा पाठी बुर्कुसी मारिरहेका थिए । भित्र दुई चार जना मान्छे बोलेको बाहिर सम्म सुनिन्थ्यो ।

खाना छ दाइ  ? मैले सोधेँ । खाना त छैन खाजा चैँ हुन्छ । मैले घडी हेरेँ दिउँसोको दुई बजेको थ्यो । के छ दाइ खाजा रुमैले फेरि सोधेँ । चाउचाउको सुप हुन्छ जवाफ आयो । खाजा पाकुन्जेल हामी गफिन थाल्यौं । छेवैमा एक जना विदेशी पुरुष बसिरहेका थिए । हाम्रो गफमा उनी पनि मिसिए । बेलायतदेखि आएका रहेछन् । छपन्न वर्ष पुगें बीस वर्ष जति भयो  नेपाल आउन थालेको ।

नेपालका लगभग सबैजसो हिमालका आधार शिविर पुगिसकें । सबैजसो पिक हरू चढिसकें ।  यो पटक आइसफल चढ्न आएको हो उनेले सुनाए । म सुनेको सुनै भएँ अझ म त अवाक् भएँ । यो उमेर यो इच्छाशक्ति भइँदैन त अवाक् ? त्यतिन्जेल हाम्रो खाजा पनि आइपुग्यो । तातो तातो झोल सुर्काउँदै मनिषले पनि आफ्नो यात्रा अनुभवहरू सुनायो । मनिषको यो एघारौँ पदयात्रा थियो । गफागफमै उनै बेलायतीले हामीलाई ठाङदिङगसम्म उक्लिन सुझाए, ‘एक जना राईनि दिदी हुनहुन्छ आज त्यही बास बस्नुहोला ।’

मैले फेरि घडी हेरेँ तीन बजेको थियो । गफगाफको बिट मार्दै होटेलमा तिरो तारो गरेर हामी बाटो लाग्यौं । हाम्रो छेवैबाट रोल्वालिङ खोला कुर्लंदै ओरालो दौडिरहेको थियो । रोल्वालिङको तिरैतिर हामी फटाफट हिँड्न थाल्यौं । हामीसँग समय थोरै बाटो धेरै थियो । एकपछि अर्को घुम्ती कुइनेटो हुँदै हाम्रो बाटो अघि बढिरह्यो । झोला झन् झन् भारी भएझैं हुन थाल्यो । पाइला ढिला चलेझैं लाग्न थाल्यो । पसिनाले लतपत छ पूरै जीउ पनि । रोल्वालिङको पानी छोएर आएको चिसो हावाले पनि चिल्न थाल्यो सुस्तरी । बाटोमा एउटा झोलुङ्गे पुल भेटियो । पुल तरेपछि रोल्वालिङ खोला हामीसँग छुट्टियो ।

हाम्रोअघि नाकै ठोकिलाएझैं उकालो ठडियो । हे भगवान् कति ठाडो उकालो हो । भगवान् पुकार्दै म उकालो लागें । मनिष मभन्दा अलिक पछि छोडियो । उकालोमा सास बढेर हत्तु हैरान भयो । खुट्टाले उकालो उक्लिन मानेन तेर्सो बाटो नै आएन । जब्बरे पाखोमा फन्का हानीहानी घुमेको बाटोले लिनुसम्मको हुर्मत लियो । मनिषलाई झनै गाह्रो भएछ उ मभन्दा धेरै नै पछाडि छोडियो । तलतलसम्म हेर्दा पनि ऊ देखिएन । उकालो सुरु भएको लगभग दुई घण्टापछि बाटो थोरै थोरै तेर्सियो । हिँड्न अलिक सजिलो हुन थाल्यो ।

अलि माथि डाँडामा दुई वटा घर देखिए । घाम अस्ताउन लागेको थियो । पारी हिमाल पहेंलपुर भएको थियो । ठाडादिङ आइपुगियो मैले लामो सास फेरें । राईनि दिदीको घर पुगेर मैले झोला बिसाएँ । निकै बेर पछि मनिष आइपुग्यो । भित्र जोड जोडले कुकरमा सिठी लाग्दै थियो । हामीभित्र पस्यौं । चार पाँच जना अट्ने ठिक्कको हल थियो । तीन चार वटा जति म्याट्रेस र तेतिनै सिरक थियो । एउटा लामो टेबल अनि सँगै सानो किचन कोठा थियो । एक जना दाइ चुलो छेउ बसेर तरकारी काट्दै थिए । अनि दिदी खै त मैले उनलाई सोधें । दाउरा लिन गाको आकै छैन अझै । निक्कै अँध्यारो भएपछि मात्र राईनि दिदी आइपुगिन् । उनी आउँदा हामी चुलो वरपर अड्डा जमाएर बसिसकेको थियौं ।

राई भन्ने बित्तिकै मलाई त पूर्व कै जस्तो लाग्छ कता नि दिदीको घर ? मैले कुरा सुरु गरें । ए मेरो त सोलु हो सरको चैँ पूर्व कता नि ? मेरो इलाम मैले जवाफ फर्काएँ । आमा अनि इलामदेखि आउनुभएको ? हरेक पदयात्रामा मैले मेरो घर इलाम भनेपछि मान्छेहरूले देखाउने आश्चर्य उनले पनि दोहोर्‍याइन । हैन हैन बस्ने चाहिँ काठमाडौंमै हो दिदी  अनि ऊ चैँ मेरो घरबेटी मैले मनिषलाई देखाउँदै भनें । हा हा हा, मनिष मेरो कुरा सुनेर हाँस्यो । ‘धेरै वर्ष भयो सर दोलखा बसेको । पैला त म सामान माथि लैजान्थें । छेतछेत बाट तीन दिनमा नाँ गाउँ पुर्‍याउथें । लास्टै दु:ख गरियो सर ,’ दिदी बोल्दै गइन् ।  हामी चाख मानेर सुनिरह्यौँ ।

‘दुईटा छोरीहरू छन् सर । दु:ख गरेर उनीहरूलाई पढाउँदै छु । उनीहरूकै लागि हो यो सब दु:ख गरेको पनि । यो टी हाउस सुरु गरेको चैँ दुई वर्ष हुन लाग्यो,’ चिसोले रातो भएको नाक सुकसुकाउँदै दिदीले सुनाइन् । अनि चिसो सुरु भएर सब काठमाडौं झरेछन् दिदी चैँ नजाने ? मैले सोधेँ । नजाने सर, मान्छेहरू अवर परेर आउँछन्, भोकाएर आउँछन् जे छ पकाएर खुवाउँछु । बास माग्न आए दु:ख सुख बास दिएर पठाउँछु । जाने बेला जे जति दिनुहुन्छ व्यापार पनि हुन्छ धर्मै पनि हुन्छ । बेला बेला छोरीहरू लाई पैसा पठाउन सिंगटी जान्छु सर । नत्र यहीँ हो सर उनी अलि अलि हाँसिन्। उनी हाँस्दा उनको चिम्से आँखा उज्यालियो। निधारमा मुजा पर्‍यो । दिदीको निधारमा परेका मुजाहरू फगत मुजाहरू मात्र थिएनन् त्यो त उनले गरेको साहस र सङ्घर्षको प्रमाण थियो । उनको मुस्कान उनले गरेको सेवाले दिएको आत्मा सन्तुष्टिको उपहार । दिदीले सहजै आफ्नो कुराहरु भनिन् तर उनले जे भनिन्  त्यसपछि मलाई केही भन्नै आएन ।

त्यतिन्जेलमा खाना तयार भयो । भोक लागि सक्यो होला है सरहरूलाई ? हामीलाई हेर्दै दितिले सोधिन् मानौँ हाम्रो भोक हाम्रो अनुहारमै देखिएको छ । बिहान देखिको हिँडाई अझ त्यसमाथि उकालो को आतङ्क कुरा गरिसाध्य थिएन । जीउ गलेर चलमलाउन नसक्ने भएको थियो । खाना खाएर मनिष र म सुत्ने तरखर गर्न थाल्यौँ । थाकेको ज्यान निद्रा केही लाग्न समय लाग्यो । बिहान बिउँझिदा  सात बजेको थियो । चिया खाजा खुवाएर दिदीले हामीलाई बिदा गरिन् । हामीलाई नाँ गाउँ पुग्नु थियो । आफ्नो आफ्नो झोला भिरेर हामी ठाङदिङ बाट बाटो लाग्यौँ । शिरमाथि गौरीशङ्कर राखेर चिरबिरचिरबिर चराहरूसँग गीत गाउँदै हामी फटाफट हिँड्न थाल्यौं ।

माथि माथि सेताम्मे हिमाल थिए । तल तल दायाँ-बायाँ रोगीझैँ लाग्ने रङ्ग खुइलिएका पहाड थिए । निरस जस्ता देखिने पहाड । रङ्गहीन पहाड । कुरूप पहाड । जताततै पहरा फोडेर निस्किएझैं लाग्ने झरनाहरू थिए । तर चिसोको सामर्थ्य सँग निरीह भएर तिनीहरू जमेर पहरामै थामिएका थिए । तिनीहरूले बग्न बिर्सिएका थिए । पानीको बग्ने नियतिलाई चिसोले बदलिदिएको थियो । बाटामा कतै कतै ढुङ्गै ढुङ्गाले बनेका गोठहरू भेटिए । निलो च्यादर र थरीथरिका रङ्ग लगाएका झ्याल र चिटिक्क परेका दलिनले ती गोठहरू असाध्यै सुन्दर देखिन्थे । यदाकदा चौरिहरू भेटिए । तिनीहरूको घाँटीमा बाँधेको घण्टीको टाङटाङटुङटुङ श्रतिमधुर आवाजले थियो यात्रा झनै मिठो बनायो ।

बेलाबेला थकाई मार्दै फोटो भिडियो खिच्दै हामी हिँडिरह्यौँ । चिसो हावा सिर्र सिर्र आउँदै कानमा चिरिक्क चिरिक्क चिल्थ्यो । चराका हुल यता उता गरिरहन्थे। बादल कता लुकेको थियो अत्तोपत्तो थिएन । आकाशले पूरै निलो रङ्ग ओडेको थियो  । घाम माथिमाथि हिमाल मुसारेर  तलतल झर्दै थियो हामी पसिनाले निथ्रुक्क भिजेर स्वाँस्वाँ गर्दै फट्को मारिरहेका थियौं ।

धेरै बेर हिँडेपछि हल्लिँदै हल्लिँदै एउटा झोलुङे पुल तरियो । त्यसपछि अलिअलि घरहरू देखिन थाले । स साना ढुङ्गाको पर्खाल लाएका बारी एकपछि अर्को गर्दै देखिन थाले । तिनै घर र बारीहरू छिचोल्दै हिँडेको एक छिन् पछि एउटा सुन्दर गाउँ देखियो । चिटिक्क परेका राम्रा राम्रा घरहरू देखियो । पहरोमा बसेको सुन्दर गुम्बा देखियो । वरपर हिमाल र पहाडले घेरिएको सुन्दर बेदिङ देखियो । बेदिङ छेवैमा रोल्वालिङ खोला बगिरहेको थियो । बेदिङ गाउँ भित्तापट्टि शृङगारिएर बसेको थियो । जब हामी बेदिङ गाउँ भित्र पस्यौँ गाउँ एक्लो थियो । हरेक घरको ढोकामा ताल्चा झुन्डिएको थियो । भयानक सन्नाटा थियो । त्यो चकमन्न गाउँको बिचको बाटोमा मनिष र म मात्र हिँडिरहेको थियौँ । यत्रो ठुलो गाउँमा यस्तो धेरै सुनसान मैले पहिलो पटक देखेको थिएँ । मेरो मनमा डरको अलि अलि ढ्याङ्ग्रो बज्यो ।

घाम र हिँडाइले तिर्खा कति हो कति लागेको थियो । बोकेर ल्याएको पानी खाएर एक थोपा बाँकी थिएन । मुखमा थुक रसाउन छोडिसकेको थियो । कुनै घरको ठोका खुल्ला थिएन । मान्छे काहीँ कतै कोही पनि देखिएन । त्यो बेला न केही उपाय थियो न केही आशा । भाउन्न भएर हामी हिँड्दै थियौं एउटा घरमा एक जना आमालाई देख्यौं । म दौडिएर त्यहाँ गएँ मनिष पनि पछि पछि आयो । आमाले पानी दिनुभयो त्यो पानी मैले मेरो नशा नशामा दौडाएँ । तिर्खाले सिङ्गै सागर निल्न सक्ने बगरझैं भएको थिएँ म । मैले मेरो तिर्खाएको आँत भरें । नाँ गाउँ पुगुन्जेल लाई एक एक बोतल पानी जोहो गर्‍यौ र आमालाई पानीको लागि धन्यवाद दिएर लुरुलुरु अघि बढ्यौं ।

खलड्याङ खुल्डुङ बाटो । होचो अग्लो सिँढी उक्लँदै ओर्लिंदै बस्दै हाँस्दै हाम्रो यात्रा अघि बढिरह्यौ । बेदिङ छोडेर हिँडेको करिब दुई घण्टा पछि हामीले नाँ गाउँ देख्यौं । लमतन्न परेको रोल्वालिङ भ्याली । शिरमाथि सेतै हिमाल टलल टल्काएर । छेवैमा कलकलाउँदो रोल्वालिङ खोला सलल बगाएर । रुमालझैं मिलिएर चार कुना घेरा लगाएका बारीहरू । रङ्गीबिरङ्गी छाना ओढेका झुरुप्प घरहरू बसाएर नाँ गाउँ दङ्ग थियो। यति सुन्दर गाउँ छिर्ने बाटोमा लहरै मिलाएर  ढुङ्गाहरू राखिएका थिए  र त्यसमा सुन्दर अक्षरहरूमा मन्त्रहरू लेखिएका थिए । वरपर जता फर्किए पनि मोहक थुम्काहरू देखिन्थे। मैलै यो सारा कुराहरू मेरो आँखै अगिल्तिर देख्दा एउटा गीत सम्झिएँ ।

जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ

जहाँ थुम्का थुम्कामा स्वर्गको आभास छ

त्यो देश मेरो हो त्यो देश मेरो हो ।

होटेलको हल्लाखल्ला वरै सम्म सुनिन्थ्यो । हामी त्यही आवाज पछ्याउँदै होटेल सम्म पुग्यौं । होटेल पुग्दा सब जना पुग्दा भकाभक उसिनेको आलु खाँदै रहेछन् । हाम्रो पेटमा पनि भोकको आँधी चलेको थियो ।

हामी पनि आँधीको जवाफ आलुले दिन थाल्यौँ । नुन खुर्सानीको अचार र तातो तातो आलु एक एक थाल खाए पछि बल्ल टेबल वरपरको दाइहरू सँग चिनापर्ची सुरु भयो । माउन्टेन गाइडको कोर्स गरिरहेको टोली आइस क्लाइम्बिङको ट्रेनिङको लागि आएको रहेछ । होटेलको साहुजी पनि उनीहरूले नै लिएर आएका रहेछन् । भोको पेटले खाना पायो । थाकेको ज्यानले आराम पायो ।

अब बल्ल महसुस हुन थाल्यो जाडो कति धेरै छ भनेर । जीउमा ज्याकेट थपियो । पन्जामा औंलाहरू घुसारियो । टोपी लगाइयो । घाम अस्ताउँदो समय थियो।  म एउटा हातमा क्यामरा र अर्को हातमा एक थर्मस तातो पानी बोकेर बाहिर निस्किएँ । खोला छेउमा एउटा अग्लो थुम्को भेटियो । थुम्कोमा उभिएर आँखा भरि नाँ गाउँ र रोल्वालिङ भ्याली हेर्न सकिन्थ्यो । त्यो बेला आँखै अघिल्तिरका सेताम्मे हिमाललाई डुब्दो घाम सुस्त सुस्त स्पर्श गर्दै थियो । चाँदीझैँ सेताम्मे हिमाल घामले छोएर बिस्तारै सुनझैँ पहेँलो हुँदै थियो  । मैले क्यामरामा टाईमल्याप्स सेट गरेँ । मैले एकाग्र भएर त्यो सूर्यास्त हेरिरहेँ । घाम पहेंलिएर डुबिसक्दा चम्किएर जुन डाँडामाथि पुगिसकेको थियो । चिसोले मेरो पूरै शरीर जम्लाझैं भएको थियो ।  म जुन सँग आँखा जुधाउँदै होटेलतिर गएँ । होटेल पुग्दा मनिष साहुजीसँग गफिदै रहेछ म पनि त्यहीँ मिसिएँ । केही समय गफगाफ र बेलुकाको खाना खाएर हामी कोठा तिर लाग्यौं । चिसो हावा मुटु चुँडाउलाझैँ गरेर चलेको थियो । चिसो ओछ्यान र लखतरान ज्यान निद्रा लाग्नलाई कम्ता मुस्किल भएन । जसोतसो निदाइयो ।

भोलिपल्ट बिहानको ६ बजेतिर निन्द्रा खुल्यो । चिया खाजा खाएर च्छो रोल्पा छुने हाम्रो यात्रा सुरु भयो । बिहानको समय । खुला आकाश । चिसो हावा । माथि-माथि दायाँ बायाँ सेताम्मे हिमालहरू थिए । अलि तल-तल विशाल अरिमठ्ठे ढुङ्गाहरू चिसोले कक्रक्क परेका थिए । लम्पसार रोल्वालिङ भ्याली र त्यही रोल्वालिङ भ्यालीको छाती चिरेर बगेको रोल्वालिङ खोला हुँदै हामी लुरुलुरु अघि बढ्यौं  । आँखा च्छो रोल्पा देख्न आतुर थियो । खुट्ट‍ालाई च्छो रोल्पा टेक्न हतार थियो । बाटो तेर्सोतेर्सो भए पनि उचाइ र हिमाली हावापानीले गर्दा यात्रा सकसपूर्ण नै थियो । निकै हिँडेपछि एउटा पुल भेटियो। हामी केही समय त्यहाँ रोकियौँ । पछाडि फर्केर हेर्दा नाँ गाउँ धेरै पछाडि देखियो । अगाडि आँखाले देखुन्जेल फन्के उकालो थियो । घुमाउरो उकालो बाटो हिँड्न असाध्यै कठिन भयो । फोक्सो लाई उस्तै हैरानी । तर हामीलाई उक्लिनु थियो पुग्नु थियो र छुनु थियो किनकि माथि च्छो रोल्पा हामीलाई पर्खिरहेको थियो ।  हामी हाम्रो ध्याउन्नमा लागिरह्यौं । करिब एक घण्टा जति उकालो हिँडेपछि बाटो टुङ्गियो र देखियो तीनतिर ठिङ्ग ठडिएका हिउँचुली र तिनै हिउँचुलीको काखमा लम्पसार परेर सुतिरहेको च्छो रोल्पा ।

शान्त च्छो रोल्पा

स्थिर च्छो रोल्पा

सुरम्य च्छो रोल्पा

म कुदेर ताल छेउमा गएँ । गोल गोल आँखा घुमाएर वरिपरि हेरेँ । हिमालले हिउँ शिरमा टोपी जसरी मात्र ओडेको थियो । च्छो रोल्पा भर्दाभर्दा आफू रित्तिएझैँ देखिन्थे । हिमाल सुन्दर हिउँले न हो तर आफ्नै सौन्दर्य पगालेर पगालेर यति सुन्दर च्छो रोल्पा बनाएका हिमालहरू मुस्कुराई रहेका थिए । मानौँ आफू पग्लनुमा उनीहरूलाई रतिभर पनि दुख छैन जति सुख आफ्नो आँखै अगाडि यति सुन्दर च्छो रोल्पा लाई हेर्नुमा छ । एउटा प्रेमीले आफ्नो प्रेयसीलाई हेरे जसरी । मैले सोचे महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि तेसै कहाँ लेखे होलान् र ?

खोज्छन् सबै त्यो सुख कहाँ छ

आफू मिटाई अरूलाई दिनु जहाँ छ

 च्छो रोल्पा पूरै जमेको थियो । मानौँ उसलाई आफू बगेर एक थोपा पनि अन्त कतै जानु छैन । थोपा थोपा गरेर जमाएको आफ्नो सौन्दर्य बगाउनु छैन ।

पानी हुनु र स्थिर हुनु ।

सुन्दर हुनु र शान्त हुनु ।

गहिराई हुनु र मुहानमा हिमाल हुनु ।

ताल हुनु त च्छो रोल्पा हुनु ।

म तालको सुन्दरतामा यसरी हराएँ कि बाटोले थकाएको मेरो ज्यान सिमलको भुवा जस्तै हलुका भयो । म तालको अझ नजिक गएँ । मैले जमेर बसेको ताललाई टेकेँ र आँखा चिम्लिएर च्छो रोल्पालाई महसुस गरेँ ।  मैले टेकेको सतहभन्दा तल भयानक आवाज सुनिन थाल्यो । मलाई लाग्यो च्छो रोल्पा म सँग रिसायो । मेलै उसको छातीमा टेक्दा उसको सौन्दर्यको अपमान भयो । उसको अभिमानलाई दुख्यो त्यसैले च्छो रोल्पा रिसले मुरमुरियो । मलाई मेरो साहसले त्यहाँ बसिरहन दिएन । म हत्त न पत्त बाहिर निस्किएँ । च्छो रोल्पाको रिस शान्त भयो भएन थाहा भएन तर त्यस उप्रान्त मेरो कानले त्यो आवाज सुनेन । तालको किनारमा माटो थुप्रिएर बनेको ठूलो ढिस्को थियो हामी त्यो ढिस्कोमा उक्लिएर धेरै त्यहाँ बस्यौं । वारि हिमाल हेर्‍यो ताल हेर्‍यो पारि हिमाल हेर्‍यो ताल हेर्‍यो । जता जता आँखा घुमाए पनि नजर बग्दैबग्दै  गएर तालमै पोखिन्थ्यो । चिसोले अचाक्ली चिल्न थाल्यो । हावा चौपट्ट चल्न थाल्यो ।  चिसो र हावाको जुहारीले अब त्यहाँ बस्न नसकिने भयो । मलाई लाग्यो च्छो रोल्पा छुने हाम्रो यात्राको आयु सकियो । मनिष अघि अघि लाग्यो म उसको पछि पछि हिँड्न थालेँ । थोरै पर पुगेर एक सर्को आँखा दौडाएँ । आँखा भरि च्छो रोल्पा भरेँ र अघि बढेँ । च्छो रोल्पा जति जति म बाट पछाडि छुट्न थाल्यो उति उति तल नाँ गाउँ देखिन थाल्यो ।

           

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?