+
+

प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई ललितपुरमा विलासी आवास

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८० भदौ १० गते २३:५९

१० भदौ, काठमाडौं । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितपुरको भैंसेपाटीमा प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुको सम्पर्क कार्यालय र आवासीय भवनको उद्घाटन गरे । ताम्रपत्र शिलान्यास र वृक्षरोपण गरेर उनले सात वटै प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुलाई दिन तयार गरिएको भवन उद्घाटन गरेका हुन् ।

आइतबार नै मुख्यमन्त्री र प्रदेश प्रमुखहरुले कार्यालय भवनको साँचो जिम्मा लिएका छन् । सैंबु आवास क्षेत्रको २७ रोपनी १२ आना जमिनमा एउटै आवास क्षेत्रभित्र ७ वटा ठूला भवनहरु बनाइएको हो । सरकारले औसत एउटा भवन निर्माण गर्न जग्गाको मूल्यबाहेक करिब साढे १२ करोड रुपैयाँ खर्च गरेको छ । सबै भवनहरुको लागत करिब ८५ करोड रुपैयाँ हो ।

शहरी विकास मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठका अनुसार प्रदेश प्रुमख र मुख्यमन्त्रीलाई राजधानीमा सुविधासम्पन्न भवन बनाउने सरकारी नीति अनुरुप यी भवन निर्माण गरिएको हो ।

‘उहाँहरुलाई काठमाडौंमा सम्पर्क कार्यालय राख्न र यहाँ आउँदा बास बस्न भवन निर्माण गरिएको हो’, उनले भने, ‘एकै ठाउँमा रहेका सातवटै प्रदेशका यी भवनहरुले अन्तरसरकारी समन्वयमा सघाउने अपेक्षा गरेका छौं ।’ 

उनका अनुसार भवन निर्माण गरिएको संयुक्त आवास क्षेत्रको सुरक्षाका लागि शहरी विकास मन्त्रालयले गृह मन्त्रालयसँग अनुरोध गरिसकेको छ ।

भवन रहेको क्षेत्रको बीचमा वाटर फाउन्टेन निर्माण गरिएको छ । बगैँचा बनाएर फलफूलका बोटविरुवा रोपिएका छन् । भवनहरुमा बोरिङको पानी आपूर्ति गर्ने गरी १ लाख २७ हजार लिटरको भूमिगत ट्यांकी निर्माण गरिएको छ ।

आकाशे पानी संकलन गर्न ६० हजार लिटरको अर्को ट्यांकी बनाइएको छ । फोहोरपानी प्रशोधन गर्न प्रशोधन केन्द्र पनि निर्माण गरिएको छ । आवासीय भवनहरुमा विद्युत अवरुद्ध भएमा डिजेल जेनेरेटरबाट विद्युत आपूर्ति हुने व्यवस्था मिलाइएको छ ।

लहरै बनेका भवनहरुमा सात वटा प्रदेशहरुको नाम लेखिएको छ । ७ वटा भवनहरुलाई १४ वटा ब्लकमा विभाजन गरिएको छ । सबै भवनको डिजाइन एकै खालको छ । त्यसको भित्रका ब्लक र इन्टेरियरसम्मको डिजाइन पनि समान छ । प्रत्येक भवनमा एकातर्फको ब्लकमा प्रदेश प्रमुख र अर्कोतर्फ मुख्यमन्त्रीको कार्यालय तथा निवास राखिएको छ ।

विशेष भवन निर्माण आयोजनाकी आर्किटेक्ट इन्जिनियर अस्मिता शाक्यका अनुसार प्रत्येक ब्लकमा छिर्नासाथ सुरुमै ‘रिसेप्सन’ डेस्क छ । सो कक्षमा आगन्तुकहरुलाई कुर्नका लागि आरामदायी सोफासेट सजाइएको छ ।

सोसँगै प्रदेश प्रमुख तथा मुख्यमन्त्रीका लागि कार्यालय छ । मुख्यमन्त्री वा प्रदेश प्रमुखका सहयोगी तथा स्वकीय सचिवहरुका लागि अर्को कार्यकक्ष पनि छ ।

सोही तलामा महिला र पुरुषहरुका लागि छुट्टाछुट्टै शौचालय बनाइएका छन् । ‘भुइँतल्लामा सर्वसाधारण पनि आउन सक्ने भएकाले यहाँ कार्यालयदेखि सर्वसाधारणसम्मलाई हुने गरी कक्ष र शौचालयहरु तयार गरिएको छ’, शाक्यले भनिन् ।

त्यसपछि पहिलो तल्लामा निजी प्रयोजनका आवासीय कक्षहरु छन् । यो तलामा सुरुमै फराकिलो ‘लिभिङ रुम’ छ ।

प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि अट्याच बाथरुमसहितको ‘मास्टर बेडरुम’ छ । परिवारका सदस्यका लागि अर्को ‘बेडरुम’ पनि छ । त्यसै तलामा अध्ययन (स्टडी) कक्ष र योग कक्ष पनि बनाइएको छ ।

दोस्रो तलामा ‘फेमिली बैठक’ कक्ष छ । पाहुना सुत्न बस्न छुट्टै कोठा छ । आधुनिक सजावटसहितको भान्साकोठा र भण्डार कक्ष पनि छ ।

यसरी प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुलाई काठमाडौं आउँदा बिलासी सुविधासहित बस्न पाउने गरी भवन तयार गरिएको छ । शहरी विकास सचिव श्रेष्ठ यो भवन सञ्चालन तथा व्यवस्थापनका लागि एउटा कार्यविधि बनाइने बताउँछन् । संघीय सरकारले तोकेअनुसार नै मुख्यमन्त्री र प्रदेश प्रमुखहरुले कार्यालय र आवास व्यवस्थापन गर्नुपर्ने उनले बताए ।

‘उहाँहरुले तयार राखिदिन भनेको ३ दिनभित्र सबै सरसफाइ र व्यवस्थापनको काम सकेर जिम्मा दिन्छौं’, श्रेष्ठले भने,‘केही भवनमा टिभी र पर्दा जोड्ने लगायतका काम मात्र बाँकी छन् ।’

२०७६ असोजमा यी भवन निर्माण गर्न केसी समानान्तर जेभीले ठेक्का पाएको थियो । इन्टेरियर डिजाइनको काम भने न्यू टेक्निकल इन्फ्रा जेभीले पाएको थियो ।

अहिलेसम्म भौतिकतर्फ ९८ प्रतिशत र इन्टेरियरतर्फ ९१ प्रतिशत काम सकिएको सचिव श्रेष्ठले बताए । ‘काम नसकी किन उद्घाटन गर्न हतारिनुभएको ? भन्ने अनलाइनखबरको प्रश्नमा भने, ‘भौतिकतर्फ केही सरसफाइको काम बाँकी हो, इन्टेरियरमा प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुले तयार राखिदिन भने पनि टिभी र पर्दा जोडेर सफाइ गरेर दिइहाल्न सकिने अवस्था छ ।’

हाल सरकारले धापाखेलको डाउनटाउन अपार्टमेन्टमा प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुका लागि मासिक ७ लाख रुपैयाँ भाडामा लिएर प्रयोग गर्न दिएको छ । अब उनीहरु भैंसेपाटी सर्नेछन् ।       
तस्वीर/भिडियो : विकास श्रेष्ठ/अलाइनखबर

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?