+
+

वीरमा ल्याइयो क्यान्सर उपचारमा उपयोगी टोमोथेरापी मेसिन

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १३ गते १७:५९

१३ भदौ, काठमाडौं । वीर अस्पतालले क्यान्सर रोगीको उपचारका लागि आवश्यक टोमोथेरापी मेसिन ल्याएको छ । टोमोथेरापी विकिरणको माध्यमबाट क्यान्सर रोगको उपचारमा प्रयोग गरिने अत्याधुनिक उपकरण हो ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. भुपेन्द्र बस्नेतले सोमबार राति आइपुगेको मेसिन जडान अगाडि बढाइएको बताए । उनका अनुसार अबको एक महिनाभित्रै टेमोथेरापीबाट उपचार सञ्चालन हुनेछ ।

‘मेसिन जडान लगायत प्राविधिक कामको लागि एक महिना लाग्छ । त्यसपछि हामीले सेवा सञ्चालन गर्ने छौं’, डा. बस्नेतले भने, ‘क्यान्सरका लागि उपचार गर्न बिरामीले निजी अस्पतालमा लाखौं खर्च गर्नुपर्छ । यहाँ गरिब बिरामीले यो सेवा निःशुल्क सेवा पाउनेछन् ।’

यसभन्दा अगाडि वीरका लागि ल्याइएको टोमोथेरापी मेसिन लामो सयम बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालको खुला चौरमा राखिएको थियो । त्यतिबेला मेसिन राख्ने संरचना तयार नगरी हतार–हतार टोमोथेरापी मेसिन खरिद गर्दा थोत्रिएको थियो ।

२०७४ असार २९ मा अमेरिकी कम्पनीको नेपालस्थित एजेन्ट लाइफलाइन ट्रेड इन्टरनेशनल कम्पनीसँग वीर अस्पतालको व्यवस्थापकीय टिमले टोमोथेरापी मेसिन खरिदको सम्झौता गरेको थियो ।

मेसिन खोल्दै नखोली बिग्रिएपछि अस्पतालले उक्त मेसिनको सट्टा अर्को मेसिन पठाउन कम्पनीलाई आग्रह गरेको थियो । सोही अनुसार कम्पनीले बिग्रिएको उपकरण फिर्ता लगेर नयाँ मेसिन ल्याइदिएको हो ।

२० वर्ष पुरानो कोबाल्ट मेसिन २०७२ सालदेखि बिग्रिएपछि वीरमा क्यान्सर रोगको उपचार सेवा बन्द छ । विपन्न नागरिकले निशुल्क र सस्तोमा उपचार गर्ने वीर अस्पतालमा वर्षौंदेखि सेवा ठप्प भएपछि हजारौं बिरामी उपचारबाट वञ्चित भएका थिए । यस अवधिमा नेपालमा क्यान्सर उपचार गर्नेहरुले निजी अस्पतालमा चर्को शुल्क तिरेर उपचार गराउन बाध्य भए ।

कोबाल्ट मेसिन सञ्चालन हुँदा वार्षिक १ हजार ५ सय जनासम्म क्यान्सरका बिरामीले भर्ना भएर उपचार सेवा लिँदै आएको अस्पतालको तथ्यांक छ । भर्ना भएका क्यान्सर रोगीमध्ये ७० प्रतिशतलाई रेडियोथेरापीबाट उपचार गर्नुपर्ने विज्ञ बताउँछन् ।

चिकित्सकका अनुसार टोमोथेरापी मेसिनले बिरामीको शरीरमा फैलिएका क्यान्सरका सेलहरु नष्ट गर्छ । टोमोथेरापीले क्यान्सरग्रस्त कोषमा मात्रै विकिरण दिने भएकाले क्यान्सर भएको भागको वरिपरिका स्वस्थ कोषमा विकिरणको प्रभाव पर्दैन ।

यसले हजारौं स–साना विकिरण प्रयोग गर्ने हुँदा जति मात्रा आवश्यक छ त्यति मात्र र जस्तोसुकै कोणबाट पनि रेडियसन दिएर उपचार गर्न सम्भव बनाउँछ ।

सरकारी तथ्यांक अनुसार नेपालमा वार्षिक ३० हजार जना क्यान्सरका नयाँ बिरामी थपिन्छन् । टोमोथेरापी मेसिन मष्तिष्क क्यान्सर र सामान्य ब्रेन ट्युमर, टाउको, घाँटी र मुखको क्यान्सर, स्तन क्यान्सर, फोक्सोको क्यान्सर, छालामा हुने क्यान्सरहरू, प्रोस्टेट क्यान्सर, भोजन नली र पाचन प्रणालीका क्यान्सर, सर्भाइकल, ओभ्यारियन, भेजिनल तथा भल्भ र गर्भाशय लगायतका क्यान्सरको उपचारमा प्रयोग गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?