+
+
१६औं पुस्तकालय दिवस विशेष :

नेपालका केही निजी पुस्तकालय नियाल्दा

एउटा कालखण्डमा एक जना व्यक्तिले संकलन गरेका निजी पुस्तक र पुस्तकालयले अर्को कालखण्डका पाठकको तिर्खा मेट्नु भनेको ‘पुस्तौं पुस्ताका लागि पुस्तकालय’ स्थापना गर्नु बराबर हो । 

किशोर पौडेल किशोर पौडेल
२०८० भदौ १५ गते १३:०३

‘पुस्तक विनाको घर आत्मा विनाको शरीर हो’ भनेर मार्कस् सिसेरोले भन्नुभएको थियो रे !

प्रशिक्षकबाट माथिको वाक्य सुनेपछि मेरो ध्यान एकाएक त्यस अन्तर्राष्ट्रिय वेबिनारका अधिकांश सहभागीको पृष्ठभूमिमा रहेका पुस्तकालयमा नजर पुग्यो । मनमा एउटा जिज्ञासा आयो, ‘के यी प्रत्येक व्यक्तिको घरमा यस्तै भव्य पुस्तकालय छन् त ?’

उपत्यका लगायत केही शहरमा पुस्तकालय सहितका कफी शप खुलिरहेको सुनेको र देखेकै हो । यही सन्दर्भमा के साँच्चै नेपाली समाजमा पुस्तक पढ्ने र संकलन गर्ने प्रचलन बढेको हो त ? भन्ने प्रश्नले डोर्‍याउँदै दशौं हजार पुस्तक संकलन गर्ने यी निजी संकलकहरूको पुस्तकालयसम्म पु¥यायो ।

१. संशोधन–मण्डल (डा. महेशराज पन्त)

प्रा. नयराज पन्तको नेतृत्वमा २०१८ सालमा नेपाल र संस्कृत अध्ययनका लागि अनुसन्धान संस्थानको रूपमा संशोधन–मण्डलको स्थापना भयो । नयराज पन्तका दुई छोरामध्ये कान्छा छोरा प्रा. दिनेशराज पन्तको बसाइ धुम्बाराहीमा रहेकोले संशोधन–मण्डलको हेरचाह विगत केही दशकदेखि ज्येष्ठ पुत्र डा. महेशराज पन्तले गरिरहनुभएको छ ।

पुस्तकालयको बारेमा डा. पन्त भन्नुहुन्छ, ‘यहाँ तीन प्रकारका संग्रह छन् । पहिलो, बुवा र पुर्खाका संकलन लक्ष्मीपति÷नयराज संग्रह, दोस्रो संशोधन–मण्डलको संग्रह र तेस्रो मेरो निजी संग्रहमा गरेर अहिले करिब १६ हजार भन्दा बढी पुस्तकादि सामग्रीे रहेका छन् ।’

पन्तले अगाडि थप्नुभयो, ‘जसमा झन्डै ३५० वर्षदेखिको पात्रो (१७३४ को नेवारी लिपिमा), गोरखा र कुमाउको सन्धि (१८४८) को मूलकपी, गीर्वाणयुद्धविक्रम शाहको चिना, झन्डै सय वर्षअघि देखिका पत्रिका, हस्तलिखित केही ग्रन्थहरू, २०२० सालतिर हनुमानढोकाका केही कागजहरू ध्युवारी (सख्खर पोको बारेर बेच्ने व्यक्ति) लाई बेच्न लागेका महत्वपूर्ण खर्च सम्बन्धी कागजातहरू संरक्षण गरेर राखिएको छ ।’

डा. पन्तको पुस्तकालयमा रहेको धर्म सम्बन्धी संग्रह ।

यहाँ रहेका ज्योतिषशास्त्रका केही पुस्तक संसारमा दोस्रो प्रति पाउन पनि मुश्किल छन् । साढे दुई तलामा फैलिएको पुस्तकालयको व्यवस्थापन गर्नको लागि डा. पन्तले सात जना कर्मचारीको व्यवस्था गर्नुभएको छ । अहिले हस्तलिखित ग्रन्थहरूको डिजिटाइजेसन तथा क्याटलगिङ कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ भने संस्थाको वेबसाइट निर्माणको काम अन्तिम चरणमा छ ।

डा. पन्तले भविष्यमा इच्छुक पाठकलाई अनलाइनबाट पुस्तक उपलब्ध गराउने कार्यको सोच समेत बनाउनुभएको छ । ८१ वर्षको उमेरमा पनि लेखन, सम्पादन, पुस्तक संकलन तथा पुस्तकालयको व्यवस्थापनमा देखाउनुभएको सक्रियता लोभलाग्दो छ । अझै यही गतिलाई दश वर्ष निरन्तरता दिन सक्छु भन्ने उहाँको आत्मबलले प्रसिद्ध विद्वान फ्रयांक जापाको ‘पुस्तकहरू अति धेरै छन् तर समय अति थोरै छ’ भन्ने भनाइ पनि बिर्साइदिन्छ । उहाँकोमा अहिले पनि दैनिक १०–१५ अखबार संकलन भइरहेका छन् ।

२. जन्मभूमि बोडे पुस्तकालय (सजीव था श्रेष्ठ)

भक्तपुरको मध्यपुर नगरको बोडेको मध्यभाग लाछीटोलको लाछीपोखरीको पूर्वपट्टिको साढे तीनतले निजी घरमा सेवा निवृत्त शिक्षक सजीव था श्रेष्ठले २०७५ सालदेखि निजी लगानीमा समुदायका लागि जन्मभूमि बोडे पुस्तकालय संचालनमा ल्याउनुभएको छ । एकतला माथिको तीन वटा कोठामा फैलिएको यस पुस्तकालयमा पुग्दा राजधानीमा रहेका अरू केही पुस्तकालय भन्दा व्यवस्थित पुस्तकालयमा पुगेको महसुस गर्न सकिन्छ ।

अध्ययन कक्ष (रिडिङ रूम) को ढोका छेउमा टाँसिएका पुस्तकालय प्रयोगका हस्तलिखित नियमहरूले स्वागत गरिन्छ । पुस्तकालयको आगन्तुक पुस्तिकामा नाम लेखी हस्ताक्षर गरेपछि आफूले खोजेको पुस्तक क्याटलगमा हेरेर माग्नुपर्छ ।

संचालक श्रेष्ठले पुस्तकालयको मुख्य संकलन कक्षबाट आफैं पाठकले खोजेको पुस्तक खोजेर उपलब्ध गराउँछन् । पाठकले अध्ययनकक्षमा बसेर धीत मरुन्जेल निःशुल्क रूपमा अध्ययन गर्न सक्छन् । संचालक श्रेष्ठले पुस्तकको सुरक्षालाई ध्यानमा राखेर पाठकलाई मुख्य संकलन कक्षमा प्रवेश गरेर पुस्तक छनोट गर्ने अनुमति भने दिने गर्नुभएको छैन ।

आफ्नै पुस्तकालयमा सञ्चालक श्रेष्ठ ।

झण्डै १२ हजारको संख्यामा पुस्तक र विभिन्न पत्रपत्रिका तथा जर्नलहरू संग्रहित रहेको पुस्तकालयको व्यवस्थापन डीडीसी पद्धतिमा वर्गीकरण गरिएको छ । पुस्तकालयलाई व्यावसायिक पुस्तकालयकर्मीले झैं व्यवस्थापन गरिएको छ । यी सबै काम संचालक श्रेष्ठले एक्लै गरिरहनुभएको छ ।

करिब दश लाखको निजी लगानीमा संचालित पुस्तकालयलाई सहयोग पाउँदा विस्तार गर्ने उहाँको योजना छ । ‘यदि परिवार, समाज तथा स्थानीय सरकारको साथ र सहयोग मिलेमा एउटा कोठामा सीमित रहेको बालबालिकाको संकलनलाई घरको तल्लो तलामा फराकिलो ठाउँमा सारेर बालबालिकालाई मनोरञ्जन सहितको पुस्तकालय संचालन गर्ने सोचमा छु’, उहाँले भन्नुभयो ।

३. प्रा.डा. राजेश गौतमको निजी पुस्तकालय

‘घरमा पुस्तकालय हुनु भनेको सिंगो विद्यालय घरमा हुनु बराबर हो’ भन्ने महान् सोच राख्ने इतिहासविद् प्रा.डा. राजेश गौतमको पुस्तकालयमा १० हजार भन्दा बढी पुस्तकका साथै पत्रपत्रिकाको संग्रह रहेको छ । इतिहास विषयका प्राध्यापक भएकाले उहाँको पुस्तकालयमा मुख्यतः नेपाली इतिहास लगायत भारत, एशिया, अमेरिका र युरोपको इतिहासका पुस्तकहरूका साथमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीसँग सम्बन्धित राजनीतिक दस्तावेज र पर्चाहरू पनि संकलित छन् ।

हजारौं लेख र पचास भन्दा बढी पुस्तकका लेखक तथा २०४६ का मदन पुरस्कार विजेता प्रा. गौतम वि.सं. १९८७ मा लाइब्रेरी पर्वमा भीम शमशेरद्वारा दण्डित भएका ४६ युवाहरूमध्येका एक व्यक्तित्व झंकनाथ उपाध्यायका नाति हुनुहुन्छ ।

प्रा.डा. गौतमको पुस्तकालयमा संकलक गौतम तथा लेखक ।

उहाँको पुस्तकालयमा हजुरबुवाले संकलन गरेका संस्कृत भाषाका केही पुस्तक र बुवाले संकलन गरेका समेत केही पुस्तकहरू रहेका छन् । पुस्तकालयको उपादेयताको बारेमा बताउँदै प्रा. गौतम भन्नुहुन्छ, ‘स्वर्गीय प्रदीप गिरी मेरो पुस्तकालयमा आएर घण्टौं बस्नुहुन्थ्यो, अरू केही साथीभाइ पनि आइरहनुहुन्छ, अझै कोही इच्छुक आएर पढ्न चाहनुहुन्छ भने उहाँहरूलाई स्वागत नै गर्ने गरेको छु ।’

४. निर्मल होम लाइब्रेरी, पाल्पा (निर्मल श्रेष्ठ)

इतिहासविद् तथा लेखक निर्मल श्रेष्ठले पाल्पाको तानसेनमा रहेको आफ्नो निजी निवासमा निर्मल होम लाइब्रेरीको स्थापना गर्नुभएको छ । पढ्न र लेख्नमा रुचि राख्ने श्रेष्ठले २०२५ सालतिरबाट पुस्तक खरिद गर्न सुरु गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘म काठमाडौं जाँदा प्रायः एक दुई कार्टुन पुस्तक खरिद गरेकै हुन्छु, भारत तथा बेलायतबाट समेत पुस्तक मगाएको छु ।’

उहाँले धेरै वर्ष पहिला बेलायतबाट प्रकाशित ‘मोनुमेन्टल इण्डिया’ भन्ने पुस्तक झण्डै पैंतीस हजारमा किन्नुभएको थियो । ‘अहिले मैले राणाकालीन पाल्पा नामक पुस्तक लेखिरहेको भएर राणाज अफ नेपाल १२ हजारमा किनेको छु’, उहाँले भन्नुभयो ।

संकलक श्रेष्ठका साथमा लेखक ।

अहिले उहाँको पुस्तकालयमा २०० वर्ष अगाडिदेखिका केही पुस्तक, वि.सं. १९५१ मा नेपाली कागजमा नेपालको पशुपति यन्त्रालयमा छापिएको भानुभक्तको सुन्दरकाण्ड र बालकाण्ड जस्ता दुर्लभ पुस्तक सहित दश हजार भन्दा धेरै पुस्तक रहेका छन् ।

इतिहास तथा संस्कृत विषयको विद्यार्थी भएकाले ती विषयका संकलन उल्लेख्य रहेको बताउँदै भन्नुभयो, ‘मेरो होम लाइब्रेरीमा लगभग ३०० प्रकारका डिक्सनरीहरू रहेका छन् । ठाउँको अभावमा केही पुस्तकहरू कार्टुनमा समेत राख्नु परेको छ ।’

५. प्रा. दिनेशराज पन्तको निजी पुस्तकालय

प्रा. नयराज पन्तका कान्छा छोरा प्रा. दिनेशराज पन्त नेपाली र संस्कृत भाषामा ६०० भन्दा बढी लेख र ४२ पुस्तकहरू लेखेका प्रसिद्ध लेखक तथा इतिहासविद् हुनुहुन्छ । उहाँको धुम्बाराहीमा रहेको निजी घरको डेढ तलामा १० हजार भन्दा धेरै पुस्तकको संकलन रहेको छ ।

निजी पुस्तकालयमा प्रा. पन्त ।

संस्कृत, गणित ज्योतिष, धर्मशास्त्र, इतिहास, नेपाली भाषा तथा साहित्यका पुस्तक तथा पत्रपत्रिकाहरू रहेको उहाँको पुस्तकालयमा दुर्लभ पुस्तकहरू समेत रहेका छन् ।

भदौ १५ गतेको पुस्तकालय दिवसको प्रसंगमा उहाँ भन्नुहुन्छ, ‘नेपालमा राष्ट्रिय पुस्तकालय दिवस मनाउन कुन दिन ठिक हुन्छ होला भनेर मिति खोज्ने क्रममा म धुम्बाराहीमा आइसकेपछि लाइब्रेरियनको एक समूह आएर भीमशमशेरले घटाएको लाइब्रेरी पर्वको मिति खोजिदिनुप¥यो भनेर आउनुभयोे र मैले यो घटनामा त पुस्तकालयलाई निषेध गरिएको हो, यो मिति त ठिक हुँदैन ।

बरु १८६९ भदौ १५ मा गीवार्ण युद्धविक्रम शाहले पुस्तक चिताइ तहबिलमा लालमोहर जारी गरेकोे मिति ठिक हुन्छ भनेर २०२९ सालको पूर्णिमा २७ अंकमा छापिएको सो पत्र सहित भदौ १५ गतेको मिति सप्रमाण सुझाएको हुँ ।’

आजकाल निजी पुस्तकालयको अस्तित्व प्रायशः पढ्न र लेख्न रुचि राख्ने व्यक्तिको घरमा प्रशस्तै भेटिन्छन् । लेखक रेड वायर्सले भनेका छन्, ‘निजी पुस्तकालय हुन कम्तीमा एक हजार पुस्तक हुनुपर्छ भनेर अधिकतम व्यक्तिहरूले भने तापनि कम्तीमा पाँच सय पुस्तक भएमा निजी पुस्तकालय भन्न सुहाउँछ ।’ नेपाली समाजमा हजारौं यस्ता पुस्तकालय हुन सक्छन् तर एक जना व्यक्तिले दशौं हजार पुस्तक जम्मा गरेर आफू लगायत अन्य व्यक्ति या भनौं समाज र राष्ट्रलाई समेत योगदान प्रदान गर्न सक्नु आफैंमा एक पुस्तकप्रतिको लगाव र तपस्या नै हो ।

त्यसमाथि केही निजी पुस्तकालयमा बाह्य व्यक्तिलाई निःशुल्क पहुँच दिनु, आफ्नो पुस्तकालयमा रहेका सामग्रीलाई इन्टरनेटको माध्यमबाट दूरसेवा दिन खोज्नु, पुस्तकालयको व्यवस्थापन र वर्गीकरण आधुनिक तरिकाले गरिनु, पुस्तकको सुरक्षाका लागि विभिन्न उपाय अपनाइनुले निजी पुस्तकालय संस्थागत हुँदै गएको देखिन्छ ।

इतिहासमा नै हेर्ने हो भने पनि राजगुरु हेमराज पण्डितको भारती भवन, केशरशमशेरको केशर पुस्तकालय, सिंहशमशेरको सिंह कलेक्सन, डिल्लीरमण रेग्मी र कमलमणि दीक्षितका निजी संकलन आदिले अहिले कुनै न कुनै रूपमा समाज र राष्ट्रलाई योगदान पुर्‍याइरहेका छन् । यदि पुस्तक संकलन गर्ने र घरमा सजाउने कार्य फेसनमा मात्र सीमित भयो भने त्यो दुःखदायी हो ।

यसरी एउटा कालखण्डमा एक जना व्यक्तिले संकलन गरेका निजी पुस्तक र पुस्तकालयले अर्को कालखण्डका पाठकको तिर्खा मेट्नु भनेको संकलकले सामान्य पुस्तकहरू मात्र जम्मा गरेको होइन बरु मरुभूमिमा गहिरो इनार खनेर छोड्नु बराबर हो, ‘पुस्तौं पुस्ताका लागि पुस्तकालय’ स्थापना गर्नु बराबर हो जसले सोह्रौं पुस्तकालय दिवसको आदर्श वाक्य प्रमाणित पनि गर्दछ ।

लेखकको बारेमा
किशोर पौडेल

डेढ दशकदेखि प्रकाशन क्षेत्रमा आबद्ध लेखक त्रिवि पुस्तकालय तथा सूचना विज्ञान विभागमा अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?