+
+
सन्दर्भ : विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस :

निजी लगानीमा समुदायका लागि पुस्तकालय

किशोर पौडेल किशोर पौडेल
२०८० वैशाख १० गते १२:३१

तपाईं पुस्तकलाई कत्तिको माया गर्नुहुन्छ ? एकपटक किनेको पुस्तक कति वर्षसम्म सुरक्षित राख्नुभएको छ ? यदि यी दुवै प्रश्नको सकारात्मक जवाफ छ भने पक्कै पनि तपाईंको घरमा पुस्तकालय हुनुपर्छ । पुस्तकालय भन्ने बित्तिकै हामीले फेरि हजारौं पुस्तक नभई हुँदैन भन्ने सोच छ भने त्यो पनि गलत हुन सक्छ किनकि प्रसिद्ध लेखक रेड वायर्सले गहन अनुसन्धान पश्चात् ‘पाँच सय पुस्तकले पुस्तकालय जस्तो लाग्न थाल्छ’ भनेर सन् २०२१ मा प्रकाशित उनको पुस्तक द प्राइभेट लाइब्रेरीमा उल्लेख गरेका छन् ।

यसरी हेर्दा नेपालमा धेरै पाठकको घरमा गृह पुस्तकालय होलान् भनेर अनुमान गर्न सकिन्छ । तर ती पुस्तकालयको प्रयोगकर्ता पक्कै पनि घरपरिवारका सदस्य मात्र होलान् । किनकि व्यवहारतः निजी पुस्तकालय या गृह पुस्तकालयले संकलक आफैं वा आफ्नो घरपरिवारका सदस्यहरूलाई मात्र सेवा प्रदान गर्दछ ।

यहाँ सन् १९९५ बाट युनेस्कोको पहलमा प्रत्येक वर्ष अप्रिल २३ का दिनमा मनाउन थालिएको विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसको उपलक्ष्यमा एक पुस्तकप्रेमी र उनको पुस्तकालयको बारेमा चर्चा गर्ने प्रयास गरिएको छ ।

मल्लकालीन समयमा नै साफु कुथी पुस्तकालयको अस्तित्व रहेको र विलियम कर्कप्याट्रिकले नेपालको बनारस भनेर परिचित गराएको जिल्ला हो भक्तपुर । यहाँको मध्यपुर नगरस्थित बोडेको मध्यभाग लाछिटोल लाछिपोखरीको पूर्वपट्टि साढे तीनतले निजी घरमा सञ्चालक सजीव था श्रेष्ठले २०७५ सालबाट जन्मभूमि बोडे पुस्तकालय सञ्चालनमा ल्याएका छन् । एकतला माथिको तीनवटा कोठामा फैलिएको यस पुस्तकालयमा पुग्दा राजधानीमा रहेका अरू केहीभन्दा व्यवस्थित पुस्तकालयमा पुगेको महसुस गर्न सकिन्छ ।

अध्ययन कक्ष (रिडिङ रूम) मा प्रवेश गर्दा गर्दै ढोका छेउमा टाँसिएको पुस्तकालय प्रयोगका हस्तलिखित नियमहरूले लामो बाटो तय गरेर जाने पाठकलाई सडकछेउका ट्राफिक चिह्नहरूको उल्लङ्घन गरेर जरिवाना तिर्नु परेको सम्झना हुन सक्छ । तर यहाँ नियम उल्लङ्घन गरेमा नगद जरिवाना होइन अर्को पटकदेखि पुस्तकालय प्रवेशको अनुमति नपाइने नसिहत भने पाउन सकिन्छ ।

आगन्तुक पुस्तिकामा नाम र हस्ताक्षर पछि आफूले खोजेको पुस्तक क्याटलगमा हेरेर उल्लेख गरेमा संचालक श्रेष्ठले पुस्तकालयको मुख्य संकलन कक्षबाट आफैं सो पुस्तक खोजेर पाठकको हातमा उपलब्ध गराइदिन्छन् । पुस्तकालयको अध्ययनकक्षमा बसेर धीत मरुन्जेल अध्ययन गर्न दिन्छन्, त्यो पनि निःशुल्क ।

संचालक श्रेष्ठले पुस्तकको सुरक्षालाई ध्यानमा राखेर पाठकलाई मुख्य संकलन कक्षमा प्रवेश गर्दै पुस्तक छनोट गर्ने अनुमति दिंदैनन् । तर कसैले अनुरोध गरेमा आफ्नो उपस्थितिमा र्‍याकमा मिलाएर राखेका पुस्तकहरूमा एक नजर डुलाउन भने छुट दिने गरेका छन् । पुस्तकालयको व्यवस्थापन र डिबे डेसिमल क्लासिफिकेसन (डीडीसी) पद्धतिमा पुस्तकको वर्गीकरण गरिएको छ जुन व्यावसायिक पुस्तकालयकर्मीले गरेको व्यवस्थापन भन्दा कम छैन । संचालक श्रेष्ठका अनुसार यो सबै उनी एक्लैले गरेका हुन् ।

पुस्तक बढ्दै गएपछि उनले पुस्तकालय व्यवस्थापन सम्बन्धी पुस्तकहरूको खरिद गरेर स्वअध्ययनबाट नै डीडीसी पद्धतिमा वर्गीकरण गर्न थालेका रहेछन् । उनी अझै यसलाई समृद्धिकरण गर्ने प्रयासमा छन् ।

संचालक श्रेष्ठ २०३४ सालमा शिक्षक पेशामा आबद्ध भएसँगै पुस्तक खरिद र संकलन सुरु गरेको बताउँछन् । हाल उनको पुस्तकालयमा ११ हजार ५०० पुस्तक छन् । साथै थुप्रै पत्रपत्रिका तथा जर्नलहरू पनि संग्रहित छन् । लगभग दश लाख लगानीमा स्थापित पुस्तकालयको १२ माघ २०७५ मा त्रि.वि. केन्द्रीय पुस्तकालयका तत्कालीन प्रमुख इन्द्रप्रसाद अधिकारीले औपचारिक उद्घाटन गरेपश्चात सर्वसाधारणको लागि खुल्ला गरिएको थियो ।

‘मैले यो पूरै दश लाख एकैपटक लगानी गरेको होइन, पढ्न इच्छा लागेका पुस्तक खरिद गर्दै जाँदा ४० वर्षमा खर्चिएको पैसा हो’ लगानी बारे कुरा गर्दै संचालक श्रेष्ठले भने, ‘मैले एक महिनामा अधिकतम १२ हजार रुपैयाँसम्मका मात्र पुस्तक किनेको छु ।’

पुस्तकालयका संचालक सजीव था श्रेष्ठ

आफू जन्मेको ठाउँ बोडेलाई उजागर गर्न र जन्मभूमिको सम्मानको लागि  पुस्तकालयको नाम जन्मभूमि बोडे राखेको उनी बताउँछन् । यदि परिवार, समाज तथा स्थानीय सरकारको साथ र सहयोग मिलेमा एउटा कोठामा सीमित रहेको बालबालिकाको संकलनलाई घरको तल्लो तलामा फराकिलो ठाउँमा सारेर मनोरञ्जनसहितको पुस्तकालय संचालन गर्ने सोचमा छन् संचालक श्रेष्ठ ।

कानुनतः जन्मभूमि बोडे पुस्तकालयको सम्पत्तिमा समुदायको कुनै हक नलागेतापनि त्यस पुस्तकालयमा रहेका पुस्तकादि सामग्रीको प्रयोग गर्नमा उनले समुदायलाई नै पहिलो अधिकार प्रदान गरेका छन् ।

यसमा रहेका संग्रहहरू संकलकले न पुख्र्यौली रूपमा प्राप्त गरेका हुन् न कहीं कतैबाट सहयोगमा । बरु यी संग्रहहरू एक मिहिनेती र अध्ययनशील  पुस्तकप्रेमी, शिक्षक र लेखकको दृढ संकल्प र लामो तपस्याले सिर्जना गरिएको साम्राज्य हो जसले भविष्यमा निःसन्देह एक इतिहास निर्माण गर्न सक्छ ।

यो पुस्तकालय सामाजिक सेवाभावको एक उत्कृष्ट उदाहरण हो । साथै, एक कट्टर पुस्तकप्रेमीको पवित्र मन्दिर हो जहाँबाट एक व्यक्तिको उत्कट इच्छाले पनि विशाल पुस्तकालय निर्माण गर्दै समाजसेवा गर्न सकिन्छ भन्ने सन्देश प्रवाह भइरहेको छ ।

(लेखक त्रिभुवन विश्वविद्यालयको पुस्तक तथा सूचना विज्ञान केन्द्रीय विभागमा अध्ययनरत छन् ।)

लेखकको बारेमा
किशोर पौडेल

डेढ दशकदेखि प्रकाशन क्षेत्रमा आबद्ध लेखक त्रिवि पुस्तकालय तथा सूचना विज्ञान विभागमा अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?