+
+
Shares

‘होमवर्क’ बालबालिकालाई होइन अभिभावकलाई, नर्सरीमै ट्युसन

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८२ साउन १८ गते १५:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्री–नर्सरीका बालबालिकालाई बिहान ८ बजे स्कूल जानुपर्ने हुँदा अभिभावकले उनीहरूलाई बिहान ६ बजे उठाउनुपर्ने हुन्छ।
  • अहिलेका स्कूलले गृहकार्य अभिभावकलाई दिन्छन् ।
  • स्कूलले किताब, स्टेशनरी र ड्रेस स्कूलमै किन्नुपर्ने र यी खर्चहरू शुल्कभन्दा छुट्टै सूचीमा राखिएको छ।

पहिलेको समयमा अभिभावकहरू आफ्ना बालबालिकालाई नजिकको स्कूलमा भर्ना गरेर ढुक्क हुन्थे । उनीहरूको जिम्मेवारी केवल गृहकार्य गराउनु हुन्थ्यो । तर, समयसँगै स्कूल र बालबालिकाको पढाइको अवधारणा बदलिएको छ । अहिले प्री-नर्सरीमा पनि स्कूलले बालबालिकासँगै अभिभावकलाई व्यस्त राख्छ । साना-साना बालबालिकामाथि पढाइको यति धेरै दबाब छ कि, अभिभावकले उनीहरूका लागि ट्युसनमा हाल्नुपर्ने अवस्था छ ।

बिहानको स्कूल

जब बालबालिका धेरै साना हुन्छन्, विशेषगरी नर्सरी तहमा, उनीहरूको स्कुल बिहान ८ बजे नै सुरु हुन्छ । बिहान ८ बजे स्कूल खोल्नु बालबालिका र अभिभावकका लागि ठूलो चुनौती हो । बिहान उठेर तयार पार्न र स्कूल जान मनाउन कम्तीमा २ घण्टा त चाहिन्छ । यस्तोमा ८ बजेको स्कूलका लागि बालबालिकालाई ६ बजे उठाउनुपर्छ । साना बालबालिकाको स्कूल कम्तीमा १० बजेपछि हुनुपर्छ ।

गृहकार्य

अहिलेका स्कूलले गृहकार्य वा होम असाइनमेन्ट बालबालिकालाई होइन, अभिभावकलाई दिन्छन् । कहिले फलफूल लन्चको नाममा विभिन्न फलफूल ल्याउन भनिरहेका हुन्छन् । कहिले रङको थिममा, कहिले आकारमा, कागज काट्ने, रङ भर्ने, दशैं सजावटका सामान, फेन्सी ड्रेस, धेरै प्रिन्टआउटहरू र यस्तै अन्य । अभिभावकहरू बालबालिकालाई दिएको स्कूलको काममा व्यस्त रहन्छन्, जबकि बालबालिकालाई यी कुरासँग खासै मतलब हुँदैन ।

अनलाइन कक्षा

स्कुलमा गर्मी र जाडोको बिदासँगै विभिन्न चाडपर्वमा बिदा पनि हुन्छ । कतिपय अवस्थामा स्कूल बन्द भए पनि अनलाइन कक्षाहरू चलिरहन्छन् । प्री–नर्सरीमा पढ्ने बालबालिकालाई लगातार स्क्रिनको अगाडि राख्नु कति जायज छ ? एकातिर हामी स्क्रिन टाइम कम गर्नुपर्छ भन्छौं, अर्कोतिर अनलाइन कक्षा भनेर बिहान २ घण्टासम्म फोन, ल्यापटपको अगाडि राख्छौँ ।

त्यति मात्र होइन, यी अनलाइन कक्षाहरूमा अभिभावक पनि बालबालिकासँगै उत्तिकै व्यस्त हुनुपर्छ । किनभने साना बालबालिका धेरैबेर एकै ठाउँमा टिकेर बस्दैनन् । शिक्षकका निर्देशनहरू पनि बालबालिकाभन्दा बढी अभिभावकका लागि हुन्छन् ।

प्री–नर्सरीमै ट्युसन

प्री–नर्सरीमा पढाइको यति धेरै दबाब छ कि अभिभावकले घरमै ट्युशन लगाउनुपर्छ । एबीसीडी र कखगघ सिकाउन ट्युशन । अभिवभावकले पढाउन खोज्दा नपढ्ने खेल्न, अन्य कुरामा भुल्न बालबालिकालाई रुचि हुन्छ । यस्तोमा बाध्य भएर अभिभावकले ट्युशन पढाउनुपर्छ । अर्कोतिर, यो तहमा पनि बालबालिकाबीच बढ्दो प्रतिस्पर्धा देखेर अभिभावकले ट्युशन लगाउनु परेको छ ।

स्कूलको खर्च

भर्ना शुल्क, मासिक शुल्क, परीक्षा शुल्क, किताब, कापी कलम आदि । अझ बीच–बीचमा स्कूलले अभिभावकसँग पैसा उठाउने अनेक शीर्षकहरू निकालिरहेका हुन्छन् ।

यो सँगै प्रोजेक्ट वर्कका रुपमा विभिन्न सामान किन्नुपर्छ । चाडपर्वअनुसारका कपडा लगाएर पठाउनुपर्ने अनेक छन् । यी बाहेक पनि धेरै खर्चहरू छन्, जुन बिनाजानकारी आइरहन्छन् ।

स्टेसनरी र पोसाक पनि स्कुलमै

पहिले अभिभावकको एउटा निश्चित पसल हुन्थ्यो, जहाँबाट उनीहरूले बालबालिकाका किताबदेखि स्टेशनरीसम्म किन्थे । साना भाइ–बहिनीले ती किताब दोहोर्‍याएर पढ्थे । तर, अहिले किताब स्कूलमै किन्नुपर्छ किनभने बाहिर किनेको स्कूलले स्वीकार्दैन । यी किताबको मूल्य पनि निकै महँगो हुन्छ । यहाँसम्म कि यी किताबहरू स्कूलले आफैं राख्छ र गृहकार्य अनुसार १ वा २ किताब बालबालिकाको झोलामा राखिदिन्छ । स्कूल ड्रेस र त्यसको मूल्यको अवस्था पनि यस्तै छ ।

किताब र स्कूल ड्रेस मात्र होइन, एउटा पेन्सिल पनि स्कूलमै किन्नुपर्छ । यी खर्चहरू शुल्कभन्दा छुट्टै सूचीमा आउँछन् । यसमा पेन्सिल, सार्पनर, इरेजर, क्रेयोन, क्राफ्ट सामान आदि समावेश हुन्छन् । रमाइलो कुरा, स्कूलले यी सामान किनेपछि देखाउँदैन । यदि देखाउन भनियो भने जवाफ आउँछ, ‘सबै कक्षामा बालबालिकालाई दिइनेछ ।’ तर, गृहकार्यको कुरा आउँदा यिनै सामान, जस्तै क्रेयोन, पेन्सिल आदि घरमा पनि किनेर राख्नुपर्छ ।

लेखक
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?