
News Summary
Generated by OK AI. Editorially reviewed.- गत महिना पेरिसको सोथबी लिलामी घरले जेन बर्किनको पुरानो हर्मिस ब्याग ८६ लाख युरोमा बिक्री गरेको छ।
- सोथबीले अहिले हर्मिस, रोलेक्स र कार्टियर ब्रान्डका पुराना सामग्रीहरू लक्जरी पप-अप सलुनमा लिलामीमा राखेको छ।
- लक्जरी फेसन सामग्रीहरू पुरानो र क्षतिग्रस्त भए पनि सामाजिक सञ्जाल प्रभावले मूल्य बढिरहेको छ।
गत महिना पेरिसको सोथबी लिलामी घरले जेन बर्किनको पुरानो हर्मिस ब्याग ८६ लाख युरो अर्थात १ अर्ब ३५ करोड रुपैयाँ भन्दा बढी मूल्यमा बेचेको थियो । जेन बर्किन इङ्लिस कलाकार हुन् । उनी गायिका, अभिनेत्री तथा फेसन आइकनका रुपमा परिचित थिइन् । यो लेदर ब्याग १९८४ मा बर्किनका लागि विशेष तरिकाले बनाइएको थियो । यो ब्यागमा अहिले पनि उनले टाँसेका स्टिकरहरूको छाप देख्न सकिन्छ ।
सुरुमा यसको लिलामी मूल्य १० लाख युरो राखिएको थियो । मूल्य बढाबढ हुँदा एक जापानी संकलकले ८६ लाख युरो तिरेर उक्त व्याग किनेका हुन् ।
अहिले लन्डनको सोथबीले पनि हर्मिस, रोलेक्स र कार्टियर जस्ता ब्रान्डका पुराना सामग्रीहरू लिलामीमा राखेको छ । जसलाई लक्जरी पप-अप सलुन भनेर पनि चिनिन्छ । यसमा ती वस्तुहरू पनि कीर्तिमानी मूल्यमा विक्री हुने अपेक्षा गरिएको छ ।
यद्यपि पहिले लिलामी घरहरूले फेसनका सामानहरू कमै विक्री गर्थे । बढीजसो चित्रकला, मूर्तिकला आदि विक्री गर्थे । अहिले फेसनका सामानहरू बढी मात्रामा उच्च मूल्यमा विक्री हुन थालेको छ ।
चाहे राजकुमारी डायना हुन् वा मर्लिन मोनरो, उनीहरूले कुनै समय लगाएका लुगाहरू रेकर्ड ब्रेकिङ मूल्यमा विक्री भएका छन् । जस्तो: मोनरोको ‘ह्याप्पी बर्थडे मिस्टर प्रेसिडेन्ट’ नामक लुगा सन् १९९९ मा १३ लाख डलरमा र फेरि २०१६ मा ४८ लाख डलरमा विक्री भएको थियो । जसलाई संसारको सबैभन्दा महँगो लुगा भनेर पनि चिनिन्छ ।
यसरी अहिले फेसनका सामग्रीहरू लिलामी हुँदा मुलधार बनिरहेको अवस्था छ । तर पुरानो समयका फेसन सामग्रीहरू अहिले किन लाखौं मूल्यमा विक्री भइरहेका छन् ? एउटै ह्यान्डब्यागको लागि करौडौं रुपैयाँ खर्चनु कत्तिको स्वभाविक छ ? प्रश्न आउँछन् ।
सामान्यतया जब कुनै वस्तुमा क्षति हुन्छ, त्यसको मूल्य घट्छ । अथवा मूल्य नै नआउन पनि सक्छ । तर यस्ता ऐतिहासिक दुर्लभ वस्तुहरूमा ठीक उल्टो हुन्छ । यो जति पुरानो हुन्छ अथवा क्षति हुन्छ, मूल्य त्यति नै बढ्छ ।
त्यसमाथि लिलामीमा राखिएका वस्तुबारे सामाजिक सञ्जाल तथा विभिन्न मिडियामा आउने टीकाटिप्पणीहरूले पनि मूल्यमा प्रभाव पारिरहेका हुन्छन् । किनकि त्यसले उक्त वस्तुप्रति एउटा माहोल बनाइरहेको हुन्छ । प्रचार गरिरहेको हुन्छ ।
त्यस्तै आजकलका सोसल मिडियाको प्रभावले पनि लक्जरी फेसनमाथि सोच्ने तरिकालाई परिवर्तन गराइरहेका छन् । उनीहरूले ती सामानहरूलाई निकै महत्त्वपूर्ण हुन् जसरी प्रचार गरिरहेका हुन्छन् तर ती जानकारी सत्य नहुन पनि सक्छ ।
अर्को तिर धेरैले ती सामानहरूको डुप्लिकेट (नक्कल) पनि बेचिरहेका हुन्छन् । जसले गर्दा स्वत: सक्कली सामानको मूल्य अझ बढ्छ । यसको सामान्य उदाहरण: गुच्ची वा नाइकी ब्रान्डको लोगो प्रयोग गरिएका नक्कली वस्तुहरू प्रशस्त मात्रामा पाइन्छन् । जसले स्वभाविक रूपमा ब्रान्डको वास्तविक उत्पादनको मूल्य बढाइदिएको छ ।
आजकल त त्यस्ता पुराना तथा दुर्लभ सामाग्रीहरू बेच्न विभिन्न अनलाइन प्लेटफर्महरू पनि उपलब्ध छन् । डेपोप, भिन्टेड, इबे, भेस्टियर कलेक्टिभ, द रियलरियल केही उदाहरण हुन् । यिनको कारण पनि लक्जरी तर दूर्लभ वस्तुको बजारलाई केही हदसम्म लोकप्रिय बनाएका हुन् ।
त्यस्ता वस्तुहरूमा मान्छेले त्यति धेरै किन लगानी गर्छन् भन्ने सवालको जवाफ पनि फरकफरक छ । आजभोलि त्यस्ता सामग्रीहरूलाई मान्छेहरूले फेसनका लागि मात्र किन्दैनन् । उनीहरूले सङ्कलन र लगानीको रूपमा पनि किन्ने गरेका छन् । जस्तो: १३ लाख डलरमा किनेर ४८ लाख डलरमा मोनरोको लुगा बेच्ने प्रक्रियाबाटै यो कुरा बुझ्न सकिन्छ ।
यस्तो वस्तुहरूमा लगानी गरेर लगानीकर्ताहरूले छोटो समयमा ठूलो मुनाफा खान सक्छन् । तर यसो गर्दा बजार अस्थिर हुन्छ । मूल्यहरू दिगो हुँदैनन् । र रेकर्ड ब्रेकिङ मूल्यहरू सुन्नमा आउँछ ।
कसैले भने संस्कृति तथा पहिचानका प्रतीकहरूका लागि किन्ने गर्छन् । हैसियतका वस्तुहरूको रूपमा किन्न सक्छन् । यस्तो कुरा आम मान्छेका लागि भने अनौठो र आश्चर्यचकित लाग्न सक्छ । बेतुकको खर्च लाग्न सक्छ ।
के सोच्नुपर्छ भने यो एउटा व्यापार हो । व्यापारमा जहिल्यै पनि नाफाको कुरा हुन्छ । धेरै कम मात्र हुन्छन्, जसले सम्मानका लागि मात्र त्यस्ता वस्तुहरू किन्ने गर्छन् । फेरि लिलामी गृहहरू आफैंमा कर्पोरेट हाउसहरू हुन् । जहाँ पैसाको बाहेक अन्य कुराकानी नै हुँदैन ।
प्रतिक्रिया 4