+
+

विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस : पुस्तकप्रेमीको पर्व

किशोर पौडेल किशोर पौडेल
२०७८ वैशाख १० गते १३:२५

पठन संस्कृतिको विकास, लेखकहरूलाई प्रोत्साहन र रचनाकारको बौद्धिक सम्पत्तिको रक्षाका लागि भनेर युनेस्कोको पहलमा सन् १९९५ बाट अप्रिल २३ लाई ‘विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस’को रूपमा मनाउन थालियो ।

सन् २००० बाट युनेस्कोले यसमा थप सुधार गरेर प्रत्येक वर्ष एउटा राष्ट्रको शहरलाई विश्व पुस्तक राजधानीको रूपमा घोषणा गर्ने परिपाटीको थालनी गर्‍यो । फलस्वरुप, सन् २००१ मा स्पेनको राजधानी मड्रिडले पहिलो विश्व पुस्तक राजधानी बन्ने सौभाग्य पायो ।

सन् २००३ मा छिमेकी राष्ट्र भारतको राजधानी नयाँदिल्लीले सो अवसर प्राप्त गर्‍यो । विश्व पुस्तक राजधानी घोषणा भएको राष्ट्रमा त्यस वर्ष पुस्तकसँग सम्बन्धित विविध गतिविधि आयोजना गरिनाले यसको महत्व तथा लोकप्रियतामा वृद्धि हँुदै गयो । यस वर्ष (सन् २०२१) को विश्व पुस्तक राजधानीको रूपमा जर्जियाको राजधानी तबिल्सीलाई चयन गरिएको छ ।

उद्देश्य

विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस पुस्तक र लेखकलाई सराहना गर्ने, समाज रूपान्तरणको लागि योगदान गर्ने साहित्यकारहरूको सम्मान गर्ने आशासहित पुस्तक पढ्ने संस्कारमा वृद्धि गराउने उद्देश्यले पढाइको आनन्दको अन्वेषण समेत गर्नका लागि समर्पित दिन हो ।

यस दिनले हामीलाई पुस्तकहरूको गतिशीलतालाई कदर गर्ने अवसर दिन्छ र पुस्तक तथा तिनीहरूलाई उत्पादन, वितरण गरी पाठकको हातसम्म पुर्‍याउने पुस्तककर्मीहरूको प्रशंसा गर्न सिकाउँछ । पछिल्ला वर्षहरूमा संयुक्त राष्ट्रसंघ अन्तर्गतका बहुसंख्यक राष्ट्रका लेखक, प्रकाशक, पाठक, पत्रकार तथा पुस्तकप्रेमीले यसलाई लेख्न, पढ्न र प्रकाशन गर्न पाउने स्वतन्त्रताको रूपमा तथा रचित र लिखित सामग्रीलाई बौद्धिक सम्पत्तिको रूपमा मानेर त्यसको संरक्षणका लागि प्रतिलिपि अधिकार दिवसको रूपमा समेत मनाउने गरेको पाइन्छ ।

रोचक इतिहास

यस उत्सवको इतिहास स्पेनको कातालोनियाको परम्परासँग जोडिएको पाइन्छ । स्थानीय लोकोक्ति अनुसार दोस्रो–तेस्रो शताब्दीतिर कातालोनियाका संरक्षक सेन्ट जर्ज (सन्त जोर्डी) ले अप्रिल २३ का दिन ड्रागनको शिकार हुन थालेकी राजकुमारीलाई ड्रागनको हत्या गरेर बचाए । ड्रागनको रगत पोखिएको उक्त स्थानमा गुलाबको बोट उम्रियो, जसबाट सेन्ट जर्जले गुलाब टिपी राजकुमारीलाई उपहार दिए ।

सोही घटनासँग जोडेर अप्रिल २३ का दिन आफूलाई मन परेको मान्छेलाई गुलाब दिने ‘सेन्ट जर्ज डे’को थालनी गरियो । सन् १९२० मा कातालोनियाका पुस्तक बिक्रेताले अप्रिल २३ को दिन प्रख्यात स्पेनिस लेखक मिगेल डे सर्भेन्टेस र विश्वविख्यात साहित्यकार शेक्सपियरको समेत स्मृतिदिवस भएको स्मरण गरी सो दिन गुलाबको सट्टा साहित्यकार तथा लेखकको समेत सम्मान हुने ठानी पुस्तक उपहार दिने प्रचलनको थालनी गरे ।

बेलायतमा सन् १९९८ मा ग्लोबल थिएटरमा आयोजित एक भव्य कार्यक्रमको उद्घाटन गरेर तत्कालीन प्रधानमन्त्री टोनी ब्लेयरले पुस्तक दिवसको शुभारम्भ गरेका थिए । त्यसको खुशियालीमा बेलायत र आयरल्याण्डका लाखौं विद्यार्थीलाई पुस्तक दिवसको चिनो स्वरुप एक–एक पाउण्ड प्रदान गरिएको थियो ।

उक्त योजनालाई धेरैले समर्थन गरेपछि कातालोनियामा उक्त दिनलाई ‘द डे अफ द बुक’ को रूपमा मनाउन थालियो र विस्तारै यो बार्सिलोनासहित स्पेनभर फैलिन पुग्यो । लेखक तथा प्रकाशकले यही मितिमा पुस्तकहरू विमोचन गर्ने, पुस्तक मेलाको आयोजना गर्ने, पुस्तक खरीद गर्ने सबैलाई गुलाब उपहार दिने लहर नै चलाए ।

पुस्तकप्रेमीहरूले उक्त दिनलाई पर्वको रूपमा मनाउन थाले । र, पछि यसलाई युनेस्कोले अप्रिल २३ मा विभिन्न प्रसिद्ध साहित्यकारहरूको जन्म तथा मृत्यु दिन समेत पर्ने भन्दै उनीहरूको सम्मानमा विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसको रूपमा मनाउन उपयुक्त हुने निर्णय गर्‍यो ।

अर्को घटना अनुसार स्पेनिस लेखक भिसेन्ट क्लेभल एन्ड्रेसले अर्का प्रख्यात स्पेनिस लेखक मिगेल डे सर्भेन्टेस (डन क्विजोटका लागि चर्चित) लाई सम्मान गर्ने उद्देश्यका साथ उनको स्मृतिदिवस अप्रिल २३ लाई विश्व पुस्तक दिवसको रूपमा मनाउने सोच बनाए ।

फलस्वरुप, फ्रान्सको राजधानी पेरिसमा सन् १९९५ मा आयोजित युनेस्कोको विश्व सम्मेलनले अप्रिल २३ मा विश्वप्रसिद्ध साहित्यकार शेक्सपियर र स्पेनिस लेखक ग्रेसिलासोको स्मृतिदिवस, फ्रेन्च साहित्यकार मौरिस ड्रवन, सन् १९५५ को साहित्यतर्फका नोवल पुरस्कार विजेता हल्दोर ल्यासनेस, रसियन लेखक भ्लादिमिर नोबोकोभ, स्पेनिस लेखक जोसेप प्ला, कोलम्बियन लेखक तथा पत्रकार मेनुअल भलेजो जस्ता चर्चित व्यक्तित्वहरूको जन्मदिन समेत पर्ने हुँदा उक्त मितिलाई युनेस्कोको सम्मेलनले निर्विवाद विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसको रूपमा मनाउने निर्णय गर्‍यो ।

विश्व पुस्तक दिवसको व्यापकता

विश्वव्यापी रूपमा मनाइने यस दिवसका अवसरमा विश्वका विभिन्न देशमा पुस्तक प्रदर्शनी, पढाइ प्रतियोगिता, साहित्यिक गोष्ठी, लेखक सम्मान, कृति सम्मान, वाचन प्रतियोगिता आदि कार्यक्रमको आयोजना गरिन्छ । यसले पुराना पिंढीलाई सम्मान, युवालाई ऊर्जा तथा नयाँ पिंढीलाई यस क्षेत्रमा लाग्न प्रोत्साहन गरेको पाइन्छ ।

केही देशमा यस दिवसको दिन आ–आफूले पढेका पुस्तक एकापसमा आदानप्रदान गरेर पढ्ने, पुराना पुस्तकसँग नयाँ पुस्तक साटफेर गर्ने, पुस्तकमा भारी छुट प्रदान गर्ने, लेखक तथा पाठक संवाद गर्ने, पुस्तक विमोचन गर्ने तथा पुस्तकालय, विद्यालय, विश्वविद्यालयहरूले विभिन्न प्रतियोगिता आयोजना गरी पर्वको रूपमा मनाएको देखिन्छ ।

बेलायतमा सन् १९९८ मा ग्लोबल थिएटरमा आयोजित एक भव्य कार्यक्रमको उद्घाटन गरेर तत्कालीन प्रधानमन्त्री टोनी ब्लेयरले पुस्तक दिवसको शुभारम्भ गरेका थिए । त्यसको खुशियालीमा बेलायत र आयरल्याण्डका लाखौं विद्यार्थीलाई पुस्तक दिवसको चिनो स्वरुप एक–एक पाउण्ड प्रदान गरिएको थियो ।

विश्वका विभिन्न देशमा यस दिनसँग अरू स्थानीय प्रसंगहरू समेत जोडेर यसलाई आत्मीय रूपमा मनाउने गरिएको छ । स्पेनमा सेन्ट जर्ज डे (सन्त जोर्डी) को प्रसँग जोडेर पुस्तक तथा गुलाब उपहार दिएर मनाइन्छ, स्विडेनमा भल्दस्बोक्दागेनको रूपमा मनाइन्छ, बेलायत र आयरल्याण्डका केही स्थानमा ‘विश्व रात्रि पुस्तक दिवस’को रूपमा मनाइन्छ भने कतिपय ठाउँमा ‘शेक्सपियर डे’ को रूपमा समेत मनाउने गरिन्छ ।

प्रतिलिपि अधिकारको प्रसंग

विश्व पुस्तक दिवसमा प्रतिलिपि अधिकारसमेत जोडिंदा यसले बृहत्तर क्षेत्रलाई समेट्ने प्रयास गरेको छ । यसले पुस्तकका लेखकको प्रतिलिपि अधिकारको मात्र कुरा गरेको छैन । प्रकाशक, गीतकार, संगीतकार, साहित्यकार, चित्रकार, डिजाइनर, कार्टुनिष्ट, निर्देशक, कथाकार, कलाकारलगायत सम्पूर्ण बौद्धिक रचनाको सिर्जना गर्ने व्यक्ति वा त्यसको स्वामित्व लिने व्यक्ति र संस्थासँग रहने प्रतिलिपि अधिकारमा जोड दिएको छ । त्यसैले यो दिवस सम्पूर्ण सिर्जनात्मक क्षेत्रसँग जोडिन पुगेको छ ।

पछिल्लो समयमा विना स्वीकृति एकअर्काका रचनाहरूको अनधिकृत प्रयोग बढ्न थालेको सन्दर्भमा यस दिवसले सचेतना वृद्धि गर्ने अपेक्षा गरिन्छ । बौद्धिक सम्पत्तिको रक्षार्थ सन् १९६७ देखि नै विश्व बौद्धिक सम्पत्ति संगठनले समेत अन्तर्राष्ट्रिय रूपमा कार्य गर्दै आएको छ । नेपालमा प्रतिलिपि अधिकार सम्बन्धी कानून सर्वप्रथम वि.सं. २०२२ मा लागू भएको थियो । हाल प्रतिलिपि अधिकार ऐन २०५९ र प्रतिलिपि अधिकार नियमावली २०६१ ले रचनाकारहरूको हकमा काम गर्दै आएको देखिन्छ ।

नोवेल पुरस्कार विजेता कवि जोसेप ब्रोडस्कीको विचारमा ‘किताब जलाउनुभन्दा पनि ठूलो अपराध किताब नपढ्नु हो ।’ त्यसो हो भने जानीजानी किन अपराध गर्नु ?

नेपालमा यसको प्रचलन

युनेस्कोले घोषणा गरेको करीब एक दशकपछि सन् २००४ तिरबाट नेपाली कलाकार तथा रचनाकारहरूले नेपालमा प्रतिलिपि अधिकार सम्बन्धी विविध कार्यक्रम गरेको पाइन्छ । पछिल्लो समयमा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र नेपाल पुस्तक प्रकाशक तथा बिक्रेता संघले वार्षिक रूपमा विभिन्न कार्यक्रमहरूको आयोजना गरी यसलाई मनाउँदै आएका छन् ।

जसले समाजमा केही सकारात्मक सन्देश दिन सफल भएको छ । यस वर्ष भने विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ का कारणले यससँग सम्बन्धित गतिविधि समेत प्रभावित हुने देखिन्छ ।

अन्त्यमा,

पुस्तक पढ्ने बानी बसाल्न, रचनाकारको रचनालाई बौद्धिक सम्पत्तिको रूपमा सुरक्षा गर्न र पुस्तक पढ्ने परम्परालाई जीवित राख्ने उद्देश्यका साथ आयोजना गरिने यस दिवसले पछिल्ला केही वर्षहरूमा व्यापक लोकप्रियता प्राप्त गरिरहेको छ ।

पुस्तकहरू समाजको ऐना र विगतको प्रतिबिम्ब भएकाले यिनले हाम्रो संस्कृति, सभ्यता, सम्पदा र महिमाको बारेमा बताउँछन् । त्यसैले यस दिनलाई पनि उही उत्साह, उमंग र ऊर्जाका साथ मनाउनुपर्दछ, जसरी हामी चाडपर्वहरू मनाउने गर्दछौं ।

नोवेल पुरस्कार विजेता कवि जोसेप ब्रोडस्कीको विचारमा ‘किताब जलाउनु भन्दा पनि ठूलो अपराध किताब नपढ्नु हो ।’ यसलाई स्वीकार्ने हो भने जानीजानी किन अपराध गर्नु, बरु पढेर, पढाएर वा पढ्ने वातावरण सिर्जना गरेर पठन संस्कृतिको विकास गर्दै यस दिनको सार्थकता पुष्टि गर्नुपर्दछ ।

लेखकको बारेमा
किशोर पौडेल

डेढ दशकदेखि प्रकाशन क्षेत्रमा आबद्ध लेखक त्रिवि पुस्तकालय तथा सूचना विज्ञान विभागमा अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?