
News Summary
Generated by OK AI. Editorially reviewed.- पत्रकार तथा लेखक लक्ष्मण वियोगीको कथासङ्ग्रह 'सत्यम्'को गृह-विमोचन समारोह सम्पन्न भएको छ।
- 'सत्यम्'मा स्याङ्जाका गाउँ र द्वन्द्वकालीन घटनाहरू मार्मिक रूपमा प्रस्तुत भएका छन्।
- वियोगीले सामाजिक यथार्थलाई संवेदनशील र कलात्मक रूपमा कथामा उतारेका छन्।
म नेपाली साहित्यिक जगतको एक पाठक हुँ । लामो समयदेखि सञ्चारजगतमा आवद्ध भएर नै होला म एउटा अचम्म र सोच्दै नसोचेको भूमिकामा उभिन पुगेँ । त्यो हो, पत्रकार तथा लेखक लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’को गृह-विमोचन समारोह ।
मलाई थाहा थिएन, नेपाली वाङ्मयको क्षेत्रमा कलम चलाइरहेका वियोगी एक बहुप्रतिभाशाली व्यक्ति रहेछन् । पेशाले पत्रकार उनी कवि र गीतकार हुन् भन्ने जानकारी पाउँदा आश्चर्य पनि लाग्यो । कसरी उनले यी सबै विधालाई समानरूपमा हिँडाएका होलान् । पत्रकारितामा उनका लेख, रचना र सिर्जना पढ्दै आए पनि उनीसँग बाक्लो परिचय हुने मौका मिलेको थिएन । उनले साहित्यिक क्षेत्रमा एक सशक्त कोसेली लिएर आए र एउटा वक्ताको भूमिकामा मलाई उभिने अवसर दिए । यसमा मैले गर्व महसुस गरेँ ।
केही दिनदेखि हेरिरहेकी छु, पढिरहेकी छु । देखिरहेकी छु । सामाजिक सञ्जाल र सञ्चार जगतमा उनको कथा-कृति ‘सत्यम्’ले विशेष चर्चा कमाइरहेको छ । ती पत्रकार जसले पत्रकारिताको मेलो र तुनेलो छोडेर भावनाका छालहरूसँगै डुबुल्की मार्दै बाहिर निस्कन्छन् । समाजका बिम्ब र प्रतिबिम्बलाई कथासङ्ग्रहमा उतारेर समाजको यथार्थ बुझाउँने प्रयास गरेका छन् ।
स्याङ्जाको साविक माझकोट र मनकामना गाविस भएर बग्ने मिर्दी खोलो, अर्मादी खोलो, त्रियासी, एलादी तथा तिनै ठाउँका उकाली-ओराली, भञ्ज्याङ-चौतारी, खोला-नाला, टाकुरा एवम् माझकोटबाट देखिने माछापुच्छ्रे र अन्नपूर्ण हिमश्रृङ्खलाको मोहक दृश्य ‘सत्यम्’मा खुलेर आएका छन् । द्वन्द्वकालमा स्याङ्जा कुमेरदुङ सिद्धथान मन्दिरको द्वन्द्व, मनकामना गहतेमा निहत्था नागरिकसहित मारिएको घट्ना, माझकोट र खाल्टेमा मारिएका दाजुभाइ दिदीबहिनीको घटनाबाट मुटु चुडाउँने यथार्थतालाई ‘सत्यम्’ले झनै बल्झाइदिएको छ ।
लेखनको पृष्ठभूमि
विगत दुई दशकदेखि छापा र अनलाइन सञ्चार क्षेत्रमा क्रियाशील वियोगी जलस्रोत तथा ऊर्जालाई विशेष विधा बनाएका एक श्रमजीवी पत्रकार रहेछन् । उनले सञ्चारकर्मसँगै साहित्यमा पनि आफूलाई सशक्तरूपमा प्रस्तुत गरिरहेको देखिन्छ । समाजमा यथार्थ घट्ना, परिघट्ना, विसङ्गति र अन्य अत्यचारलाई कहिले पत्रकारिता र कहिले साहित्यमार्फत खबरदारी गरिरहने उनले ‘सत्यम्’मार्फत् समाजका हुने खाने र हुँदा खाने वर्ग बीचको प्रेम, जीवन र दर्शनलाई करुणा र श्रृङ्गारिक रसमा प्रस्तुत गरेका छन् । यसर्थमा ‘सत्यम्’ एक सामाजिक र संवेदनशील दस्तावेज हो भन्न सकिन्छ ।
वियोगीको यो पहिलो कथासङ्ग्रहलाई समाजशास्त्रीय सिद्धान्तमा आधारित साहित्यिक दस्तावेज भन्न हिच्किचाउनु पर्दैन । १५ कथाको यस सङ्गालोले नेपाली समाजका तह-तहमा गाडिएका पीडा, द्वन्द्व, विस्थापन, भिन्नता र स्वाभिमानलाई कलात्मक तरिकाले उजागर गरेका छन् ।
वियोगीका कथामा गाउँको माटोको गन्ध छ । ऋतुपिच्छे फुल्ने फूलहरूको वासना छ । तत्कालीन समयलाई झस्काउने माओवादी द्वन्द्वको कालो छाया छ । भाषा, संस्कार, संस्कृति र रीतिरिवाजको दर्पण छन् । कथामा प्रयुक्त झर्रा शब्दले स्याङ्जाको माझकोट, मनकामना र एलादी घुमाइरहन्छ । सिंगारभञ्ज्याङ र यादीभञ्ज्याङमा चल्ने बतासझैँ माछापुच्छ्रे हिमालको चिसो सिरेटोले कथालाई सिइरहेको हुन्छ । पहाडका गुरुङ र मधेशका थारु पात्रलाई कथामा जीवन्त उतार्दै उनीहरूको हाँसो, आँसु, चुप्पी र विद्रोह सबैले पाठकलाई समातेर राखिरहहन्छ ।
लेखन शैली
वियोगीको लेखन साधारण घटनालाई असाधारण संवेदना दिने कलामा पारङ्गत देखिन्छ । उनी आन्तरिक मोनोलग र प्रतीकात्मक संवाद प्रयोग गरेर कथालाई गहिरो बनाउँछन् । उनका कथामा घटनाभन्दा पनि भावनात्मक तरलता प्रधान हुन्छ । यसले पाठकलाई केवल कथा पढ्ने होइन, अनुभव गर्ने अवसर दिन्छ ।
उदाहरणार्थ, कथाहरूमा प्रस्तुत वैदेशिक रोजगारमा गएका बाबुहरूको छायामात्र बाँकी रहेको परिवार, बालश्रममा सकस भोगिरहेका बालबालिक वा द्वन्द्वबाट घाइते गाउँ लगायत सामाजिक यथार्थलाई साहित्यमा रूपान्तरण गरिएको छ ।
विवेचना
कविता, गीत, निबन्ध र कथा चार वटै विधामा आफूलाई अब्बल बनाएका वियोगीलाई प्राज्ञ, समीक्षक र पाठकले ‘सम्वेदनशील यथार्थवादी लेखक’को रूपमा मूल्याङ्कन गर्लान् भन्ने मेरो बुझाइ छ । उनको लेखनमा न त अतिशयोक्ति छ, न भावनाहीन तथ्यवाद । हरेक कथामा दुवैको सन्तुलनमा जन्मिएको अनुभूतिको गहिराइ भेटिन्छ । वियोगी नेपाली साहित्यमा ती स्रष्टा हुन्, जसले पत्रिकामा नलेखिएका संवेदनालाई कथाका पानामा उतारेका छन् । ‘सत्यम्’ केवल कथासङ्ग्रह होइन, समयको दस्तावेज हो । जसमा लेखिएको सत्य केवल वस्तुगत होइन, अनुभूतिजन्य, संवेदनशील र जीवन्त सत्य हो।
‘सत्यम्’ कृतिकारको प्रारम्भिक तर बलियो पाइला बनेर उभ्भिएको छ, जहाँ सत्य केवल वस्तुगत होइन, भावनात्मक र जीवन्त छ । त्यसको नमुना हो, राँकेभूतको लीला ।’राँकेभूतको लीला’ कथा गुरुङ समुदाय केन्द्रित छ, जसमा समुदाय विशेषका संस्कार, लोकगीत, ठाउँ विशेष, जातीय अनुभव र माओवादी द्वन्द्वकालीन प्रभावहरू मार्मिक ढङ्गले समाविष्ट छन् ।
अन्य कथामा पनि गुरुङ समुदायका संस्कार उनीहरूको मृत्यु संस्कार, पशुबली, लामा, पहच्यु, घ्याप्री धामीझाँक्रीको परम्परा, सेवा र संस्कारको अनुष्ठान जीवितरूपमा देखिन्छन् । विशेषतः मृतकको आत्मालाई सम्झने, सम्मान गर्ने संस्कार र पितृलाई सम्झिने परम्परालाई पनि केही कथाले छोएका छन् । यसबाट थाहा हुन्छ, कृतिकार गुरुङ समाज र संस्कृतिमा राम्रैसँग भिजेका छन् ।
लोकगीतहरू
कथाभरि विशेषतः गुरुङ जातिमा प्रचलित रोदी, मृत्यु संस्कारसँग जोडिएको घाँटूमा गाइने लोकभाका र यस समाजमा अहिले पनि कायम मौखिक परम्परालाई अभिलेखन गरिएको छ । भूगोल, भाषा, समाज र सन्देश गाउँपाखा, बारी, भञ्ज्याङ, खोलानाला, र हिमश्रृङ्खलाले कथामा जीवन्तता ल्याएका छन्। स्याङ्जाको परिवेशबाट बाहिर मध्यपश्चिम तथा सुदूरपश्चिमका डाँडाकाँडातिर केही कथा डुल्न भ्याएका छन् ।
ती सबैमा कहीँ न कहीँ ठाउँ विशेषको लोकभाका जोडिएर आएको देखिन्छ । कथामा भाषा सरल, लोकशैलीयुक्त छ तर भावात्मकरूपमा समृद्ध। साथै, गहिरो सामाजिक सन्देश छ, विस्थापन, वञ्चना, वर्गीय विभेद र मानवीय करुणा। धेरै ठाउँमा यी विरहहरू लोकगितमार्फत प्रकटीकरण भएका छन् ।
सारमा
वियोगीका कथाहरू नेपाली साहित्यमा ग्रामीण चेतना, मौनआवाज र दबिएका वर्गको प्रतिनिधित्व हो भन्दा अन्यथा हुँदैन । उनले समाजको गहिरो आवाज सुन्ने, देख्ने र लेख्ने काम गरेका छन् । साहित्य समयको साक्षी हो, अनि वियोगी समयका संवेदनशील द्रष्टा । उनका कथाले हामीलाई समाजको अन्तिम कुना-कन्दरासम्म लिएर जान्छन् र हाम्रो आफ्नै वास्तविकता देखाउँछन्। तिनमा पाठकको सोच, संवेदना र आत्मचेतनामा नयाँ सन्देश ल्याउन सक्ने सामर्थ्य देखिन्छ । उनलाई लेखनयात्राको शुभकामना !
प्रतिक्रिया 4