
१९ साउन, काठमाडौं । रूसमा ५०० वर्षपछि पहिलोपटक क्रशेनिनिकोभ ज्वालामुखी विस्फोट भएको अधिकारीहरुले बताएका छन् । चार दिन अघि ८.८ म्याग्निच्युडको भूकम्प गएको स्थान कामचाट्का द्वीपमै ज्वालामुखी पनि देखिएको हो ।
बीबीसीका अनुसार २ अगष्टमा विस्फोट भएको ज्वालामुखीका कारण ६ हजार मिटर उचाइसम्म खरानीको मुस्लो फैलिएको थियो । जसका कारण उक्त क्षेत्रको हवाई मार्ग (एयरस्पेस) बन्द गर्नुपरेको थियो । रुसी अधिकारीहरुका अनुसार यो ज्वालामुखीबाट बस्ती भएको क्षेत्रमा कुनै खतरा छैन ।
कामचाट्काको आपत्कालीन मामिला मन्त्रालयले क्रशेनिनिकोभ ज्वालामुखी ५०० वर्षपछि विस्फोट भएको औपचारिक जानकारी आइतबार दिएको थियो । क्रशेनिनिकोभ ज्वालामुखी यसअघि १५ औं शताब्दीमा विष्फोट भएको बीबीसीले जनाएको छ ।
वैज्ञानिकहरूका अनुसार यो विस्फोट चार दिनअघि रूसको कामचाट्का द्वीपमा गएको ८.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पसँग सम्बन्धित हुन सक्छ । कामचाट्काको ‘भल्केनिक इरिप्सन रेस्पोन्स टिम’की प्रमुख ओल्गा गिरिनाले यो ज्वालामुखी सोही शक्तिशाली भूकम्पसँग सम्बन्धित हुनसक्ने बताएको बीबीसीले जनाएको छ ।
विश्वको छैटौं शक्तिशाली भनिएको ८.८ म्याग्निच्युडको भूकम्पपछि बलिया परकम्पहरु गइरहेका छन् । आइतबार मात्रै कुरिल द्वीपमा ७ म्याग्निच्युडको धक्का महसुस भएको थियो ।
भूकम्प र ज्वालामुखी विस्फोट भएका स्थानहरू ‘रिंग अफ फायर’मा पर्दछन् । रिंग अफ फायर त्यो क्षेत्र हो जहाँ धेरै महाद्वीपीय र महासागरीय टेक्टोनिक प्लेटहरू छन् । यिनै प्लेटहरू एकापसमा ठोक्किँदा भूकम्प, सुनामी र ज्वालामुखी विस्फोट जस्ता घटना हुने भूगर्भविदहरु बताउँछन् ।
भूगर्भविदहरुका अनुसार ७५ प्रतिशत सक्रिय ज्वालामुखीहरू रिंग अफ फायर क्षेत्रमा छन् । यसैगरी विश्वका ९० प्रतिशत भूकम्पहरू रिंग अफ फायर क्षेत्रमै पर्दछन् । यो क्षेत्र करिब ४० हजार किलोमिटर लम्बाइमा फैलिएको छ ।
यो क्षेत्रभित्र १५ वटा देशहरू पर्दछन् । जापान, रूस, फिलिपिन्स, इन्डोनेसिया, न्युजिल्यान्ड, अन्टार्कटिका, क्यानडा, अमेरिका, मेक्सिको, ग्वाटेमाला, कोस्टारिका, पेरु, इक्वेडर, चिली र बोलिभिया ‘रिंग अफ फायर’ भनिने क्षेत्रमा पर्ने वैज्ञानिकहरुको भनाइ छ ।
जुलाई महिनामै कामचाट्कामा ६ शक्तिशाली भूकम्प
बुधबारको ८.८ म्याग्निच्युडको भूकम्प विश्वको छैटौं शक्तिशाली भूकम्प थियो । यसको प्रभावपछि रूस, अमेरिका, जापान र चिलीजस्ता देशहरूले सुनामीको चेतावनी जारी गरेका थिए ।
जापानले आफ्नो फुकुशिमा परमाणु रिएक्टर खाली गराएको थियो र लाखौं मानिसहरुलाई घर खाली गर्न आदेश दिइएको थियो ।
जुलाई महिनामै कामचाट्का नजिकैको समुद्रमा ६ वटा शक्तिशाली भूकम्प आएका थिए । तीमध्ये दोस्रो ठूलो भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड थियो ।
सन् १९५२ नोभेम्बर ४ मा कामचाट्कामा ९ म्याग्निच्युडको भूकम्प आएको थियो । त्यसले केही ठाउँमा ९.१ मिटर अग्ला छालहरू उठाएको थियो, तर त्यस घटनामा कसैको मृत्यु भने भएको थिएन ।
प्रतिक्रिया 4