+
+

पोखरामा पुस्तक साटेर पुस्तकालय दिवस मनाइयो

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १५ गते १५:५०

१५ भदौ, पोखरा । १६ औं पुस्तकालय दिवसको अवसरमा शुक्रबार बिहानै साहित्यप्रेमी पोखरेली हिमालयन रिडर्स कर्नरमा जम्मा भए । उनीहरु प्रत्येकको हातहातमा फरकफरक किताब थियो । किताब नलिएर आएकाहरु रिडर्स कर्नरमै रोजीरोजी पुस्तक किन्न व्यस्त देखिन्थे ।

पुस्तकसँगै सहभागी भएका उनीहरुले धमाधम आफूले ल्याएको पुस्तकको नाम टिपाए । जति सहभागी छन्, सबैको संख्या पुग्ने गरी गोला बनाई कचौरामा राखियो । लेखक गनेस पौडेलले एउटा गोला थुते । नम्बर निस्कियो, २४ ।

२४ नम्बर प्रदीप कुमालको नाममा थियो । पौडेलले मञ्चमा डाक्दै उनलाई लेखक कुमार नगरकोटीको ‘कल्पग्रन्थ’ सुम्पिए । लेखक पौडेलले सुरुमै प्रदीप कुमाललाई कल्पग्रन्थ सुम्पिएपछि सहभागी धेरैले खुसी मनाए, ‘अहो ! किताब उपहार परोस् त यस्तो !’

प्रदीप आफूले चाहिँ नेपालीमा अनुवाद गरिएको एडल्फ हिटलरको जीवनीकृति ‘मेरो संघर्ष’ लिएर गएका थिए । प्रदीपले उनी पछि नम्बर परेका अर्को व्यक्तिलाई आफूसँग भएको पुस्तक साटे ।

¥यान्डम रिडर्स सोसाइटीले शुक्रबार पोखरामा पुस्तक साटासाट गरेर १६ औं पुस्तकालय दिवस मनाएको हो । कार्यक्रममा सहभागी हुनका लागि प्रत्येकले पुस्तक ल्याउनैपर्ने सूचना जारी गरिएको थियो । सोहीअनुसार उनीहरुले फरकफरक पुस्तक लिएर कार्यक्रममा आएका थिए ।

सोसाइटीले राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा बर्सेनि पुस्तक साटासाट गरेर दिवस मनाए पनि कोभिड महामारीयता रोकिएको थियो । पोखरामा पुस्तकको परिचर्चा, बहस र पठन संस्कृतिसँग सम्बन्धित कार्यक्रम गर्दै आएको सोसाइटीको साहित्यका रुपीन्द्र प्रभावीको नेतृत्वमा आएसँगै पुस्तक साटासाट कार्यक्रमलाई पुनः निरन्तरता दिइएको हो । यसअघि पत्रकार केशवशरण लामिछाने संस्थाको नेतृत्वमा थिए ।

०६७ सालमा स्थापना भएर पोखरामा साहित्यिक गतिविधि चलाइरहेको ¥यान्डम रिडर्स सोसाइटीको नयाँ कार्य समितिलाई पदस्थापन गराइसकेपछि संस्थापक अध्यक्ष तथा लेखक गनेस पौडेलबाट गोला थुत्ने र पुस्तक साट्न सुरु भएको थियो । कार्यक्रममा सहभागी ४० भन्दा बढी पोखरेली साहित्यप्रेमीले एकअर्कासँग पुस्तक साटासाट गरेर पुस्तकालय दिवस मनाए ।

संस्थाका अध्यक्ष रुपीन्द्र प्रभावीले पठन संस्कृति विकास गर्न यस्ता कार्यक्रमले सहयोग गर्ने बताए । उनले कोभिड महामारीपछि रोकिएको संस्थाको साहित्यिक गतिविधिलाई निरन्तरता दिने सुनाए ।

‘संस्थाको नयाँ नेतृत्व आएपछि पहिलो कार्यक्रम नै पुस्तक साटासाट गरेर मनाउन पाएका छौं । अबदेखि संस्थाले आफ्नो नियमित कार्यक्रम जारी राख्छ,’ उनले भने, ‘प्रत्येक महिनाको अन्तिम शनिबार हुने नियमित कार्यक्रमबाहेक पनि अन्य नयाँ योजनाहरु अगाडि ल्याएका छौं ।’ संस्थाले भदौ अन्तिम शनिबार डा नवराज केसीको शून्यको मूल्यमाथि परिचर्चा गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?