+
+

ल्हारक्यालबारे मन्त्री किराती : उहाँ त राष्ट्रिय सहमतिको मान्छे

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १७ गते १७:०३

१७ भदौ, विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त ल्हारक्याल लामा राष्ट्रिय सहमतिको मान्छे भएको टिप्पणी गरेका छन् ।

प्रेस सेन्टर मोरङले विराटनगरमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले ल्हारक्याल खासमा विवादित व्यक्ति नभए पनि विवादित बनाइएको बताएका हुन् ।

‘ल्हारक्याल लामा त राष्ट्रिय सहमतिको मान्छे हो, ल्हारक्याल लामा खासमा विवादित मान्छे होइन, विवादित बनाइयो’ मन्त्री किरातीले भने, ‘नेपाली कांग्रेसको पालामा गुम्बा विकास समितिको अध्यक्ष चलाउनुभयो, नेकपा एमालेको पालामा त संविधानसभाको सदस्य र अर्थ राज्यमन्त्री पनि चलाउनुभयो, त्यही बेला अलिक विवादित हुनुभयो, तर अदालत र कुनै पनि संवैधानिक निकायले उहाँलाई दोषी प्रमाणित गर्न सकेन, संवैधानिक निकायले दोषी प्रमाणित गर्न नसकेपछि मान्छे सधैं अभियुक्त त रहँदैन ।’

ल्हारक्याललाई योग्यता र क्षमताकै कारण लुम्बिनी विकास कोषमा नियुक्त गरेको मन्त्री किरातीले बताए । ‘ल्हारक्याल लामा त आफैं बुद्धिजममा पीएचडी गरेको मान्छे बुद्धिस्ट समुदायको अन्तर्राष्ट्रिय महासचिव मान्छे, संविधानसभाको दुई पटक सदस्य भएको मान्छे हो’ उनले भने, ‘त्यसमा पनि हाम्रो पार्टीको केन्द्रीय सदस्य भइसकेको मान्छेलाई नियुक्त गर्नु त एकदम जायज काम गरेको हो, विस्तारै कुरो खुल्दै गयो मान्छेहरु स्पष्ट हुँदै गए ।’

धरानमा एयरपोर्ट चल्दैन

मन्त्री किरातीले सुनसरीको धरानमा विमानस्थल आवश्यक नरहेको बताएका छन् । धरानमा विमानस्थल निर्माणको चर्चा वर्षौंदेखि चल्दै आएको छ, तर निर्माण भएको छैन । मन्त्री किरातीले नजिकैको शहर विराटनगरमा विमानस्थल भएका कारण धरानमा आवश्यक नरहेको उनले बताए ।

‘विराटनगरमा यत्रो एयरपोर्ट छ, धरानमा पनि अर्काे एयरपोर्ट चल्छ जस्तो मलाई लाग्दैन, उदयपुरमा पनि एयरपोर्ट बन्दैछ’ उनले भने, ‘यति नजिक–नजिक एयरपोर्ट बनाएर हामीले के गर्न खोज्दैछौं, यो बस स्ट्याण्ड हो र ? जहाज उड्ने हो, अर्बौं खर्च गरेर एयरपोर्ट बनाउने तर जहाज नउडाउने गर्नुभएन, एयरपोर्ट आवश्यकताका आधारमा बन्नुपर्छ ।’

उनले धरानमा विमानस्थल बनाउनुको साटो विराटनगर धरान सडकलाई व्यवस्थित गर्नुपर्ने बताए ।

‘आठ लेनको सडक बन्दैछ, आधा घण्टामा धरानबाट विराटनगर आउने वातावरण बनाउनुपर्छ, विराटनगर एयरपोर्टलाई विस्तार गर्नुपर्छ’, उनले भने ।

मन्त्री किरातीले सरकारले गरेका राम्रा कामलाई लिएर पार्टीका नेता तथा कार्यकर्ता तीन महिने अभियानमा जनताको घर–घरमा हिंडेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?