+
+

एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि कँडेल र रिजालको उम्मेदवारी दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १७ गते २०:४३

१७ भदौ, बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ ।

सहमतिको प्रयास असफल भएपछि राधाकृष्ण कँडेल र हरि रिजालले उम्मेदवारी दर्ता गरेका हुन् । प्रदेश अधिवेशन उद्घाटनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले सहमतिको सन्देश दिन निर्देशन दिएपछि नेताहरु छलफलमा जुटेका थिए ।

तर दुबै आकांक्षी एकअर्कालाई छाड्न तयार नभएपछि निर्वाचन नै हुने पक्का भएको छ ।

दुबैले उम्मेदवारी दर्ता गरेका छन् । कँडेलको प्रस्तावकमा राजुप्रसाद श्रेष्ठ र समर्थकमा भोजराज पोखरेल छन् । रिजालको प्रस्तावकमा विजयबिराट विष्ट र समर्थकमा बाला सिंह काउछा छन् ।

उम्मेदवारी दर्ताको समय भोलि विहान १० बजेसम्म छ ।

आइतबार दिनभर जारी रहेको निर्वाचन प्रक्रिया नटुङ्गिएपछि निर्वाचन मण्डलले सोमबार विहान १० बजेसम्मका लागि सबै काम स्थगित गरेको संयोजक हरिप्रसाद भण्डारीले बताए । आइतबार निर्वाचन प्रक्रिया अन्तर्गत मतदाताहरुको नामावली प्रकाशन तथा मनोनयन दर्ता गराएको भएपछि थप प्रक्रिया स्थगित गरेको हो ।

सोमबार विहानैदेखि प्रक्रिया पूरा गरी उम्मेदवारहरुको नामावली प्रकाशन, दाबी विरोध, फिर्ता लगायतका काम हुने निर्वाचन मण्डलले बताएको छ । प्रदेशको पहिलो अधिवेशन भएकाले लुम्बिनीबाट जाने सन्देशले ठूलो महत्व राख्ने भन्दै अध्यक्ष कपी शर्मा ओलीले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्न निर्देशन दिएर गएका थिए ।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशनका लागि १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरुबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसंगठनहरुबाट छानिएका गरी १००४ प्रतिनिधिहरु सहभागी छन् ।

अधिवेशनले यसअघि ५७६ सदस्यीय रहेको प्रदेश संगठन कमिटीलाई २०५ सदस्यीय बनाउनेछ ।

सम्मेलनका लागि रुपन्देहीबाट सबैभन्दा धेरै १ सय ६४, कपिलवस्तुबाट ७२, दांङबाट १३१, बाँकबाट ५४, बर्दियाबाट ७४, रुकुमपूर्वबाट १२, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखाँचीबाट ८२, गुल्मीबाट १११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि छनोट भएका छन् । त्यस्तै जनसंगठनबाट ८३ गरी जम्मा १००४ जना प्रतिनिधि छनोट भएका एमाले प्रचार प्रसार विभाग प्रमुख डीआर घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?