+
+

गोकर्णेश्वरमा प्रस्तावित नागमती आयोजनाको थप प्रक्रिया अघि बढ्यो, वन मन्त्रालयले माग्यो सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १८ गते ११:०४

१८ भदौ, काठमाडौं । बागमतीमा सफा पानी बगाउने उद्देश्यले काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा निर्माण हुने प्रस्तावित नागमती बाँध आयोजनाको थप प्रक्रिया अघि बढेको छ ।

शहरी विकास मन्त्रालय अन्तर्गतको यो प्रस्तावित आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा वन तथा वातावरण मन्त्रालयले राय सुझाव संकलन सुरु गरेको छ ।

मन्त्रालयले आज प्रथमपटक सार्वजनिक सूचना जारी गरी सात दिनभित्र राय सुझाव दिन सकिने जनाएको छ ।

वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन वन मन्त्रालयको वेबसाइट, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रको पुस्तकालय, त्रिभुवन विश्वविद्यालयको पुस्तकालय, नेपाल राष्ट्रिय पुस्तकालय, ऊर्जा मन्त्रालय, जिल्ला समन्वय समिति काठमाडौंको कार्यालय र गोकर्णेश्वर नगरपालिकाको कार्यालयमा हेर्न वा उतार गर्न सकिन्छ ।

के हो नागमती बाँध आयोजना ?

गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालका अनुसार शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने धाप नागमती नदीको मुहान हो । यो नागमती नदी बागमती नदीमा मिसिन्छ । नागमती र बागमती नदीको संगमस्थलभन्दा करिब तीन किलोमिटर माथि मूलखर्क गाउँ नजिक बाँध बाँधेर जलाशय बनाउने र त्यो जलासयको सङ्गलो पानी बागमतीमा बगाउने मुख्य उद्देश्यले नागमती आयोजना प्रस्ताव गरिएको छ । नागमती र धापलाई स्वच्छ बागमती अभियानको परिपूरक मानिएको छ ।

 

बागमतीमा सफा पानी बगाउने उद्देश्यले शिवपुरी राष्ट्रिय निकुञ्ज भित्रै पर्ने धापमा बाँध बाधेर पानी संकलन गरिएको छ । तर त्यो पानी बागमतीमा सफा पानी बगाउन अपर्याप्त भएकाले धापभन्दा करिब पाँच किलोमिटर तल नागमतीमा पनि धापको जस्तै ‘कंक्रिट फेस्ड रकफिल ड्याम’ प्रविधिबाट अर्को बाँध बाँधेर जलासय बनाउने प्रस्ताव छ ।

धापमा बाँध बाँधेर जम्मा गरिएको पानी । फाइल फोटो

शहरी विकास मन्त्रालय अन्तर्गतको बागमती सुधार आयोजनाको सिंचाइ युनिटले धाप र नागमती आयोजनाका लागि काम गर्दै आएको छ ।

अष्ट्रेलियन सरकारको समेत स्वामित्व रहेको इन्टुरा तास्मानिया कम्पनीले गरेको अध्ययनमा नागमतीको बाँध धापकोभन्दा १० गुणा ठूलो हुने अनुमान रहेको बागमती सुधार आयोजनाको सिंचाइ युनिटका एकजना इन्जिनियर निश्चल छतकुली बताउँछन् ।

धापको बाँध २४ मिटर अग्लो छ भने नागमती बाँध ९४.५ मिटर अग्लो हुने अनुमान छ । लम्बाइ ५५४ मिटर र क्रेष्टमा ७ मिटरको चौडाइ हुनेछ । त्यहाँ बाँध बनाउँदा ४८०,४२६ वर्गमिटरमा फैलिएको र ९४.८४ लाख घनमिटर भण्डारण क्षमताको जलासय बन्ने छ ।

धापबाट प्रतिसेकेण्ड ४० लिटरसम्म पानी बग्छ भने नागमतीको ड्याम बनेमा प्रतिसेकेण्ड ४०० लिटर पानी वाग्मती नदीमा मिसाउन सकिने अध्ययनको निष्कर्ष छ । धापमा संकलित पानी अपुग भएकाले विशेष चाडपर्वको बेलामा मात्र बागमतीमा छाड्ने गरिएको छ । जापानी सहयोग नियोग जाइकाले गरेको एक अध्ययनअनुसार बागमतीको पानी नुहाउनयोग्य बनाउन प्रतिसेकेण्ड ४४० लिटर सफा पानी मिसाउनुपर्छ । त्यसैले धापसँगै नागमती ड्यामको पानी पनि बागमतीमा मिसाउने गरी गृहकार्य भइरहेको हो ।

नागमती ड्याम बन्ने स्थान

नागमती जलाशयबाट दुई मेगावाट बिजुली निकाल्ने, मेलम्चीको पानी प्रशोधन केन्द्रमा मिसाएर खानेपानीको आवश्यकता पूर्ति गर्ने र जलबिहारका लागि आकर्षक पर्यटकीय केन्द्र बन्ने सम्भावना छ ।

यसको विद्युत गृह सुन्दरीजलस्थित हाल मेलम्चीको पानी प्रशोधन केन्द्र बनाइएको स्थान नजिकै राख्ने प्रस्ताव छ । विद्युत् आयोजनाबाट निस्किएको पानीलाई सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको प्रशोधन प्लान्टमा पनि जोड्न सकिने र त्यसलाई खानेपानीको रुपमा समेत प्रयोग गर्न सकिने विकल्प अघि सारिएको छ ।

नागमती आयोजनाका लागि ६५.३०४ हेक्टर जमिन आवश्यक पर्ने छ । जसमध्ये ६२.९७७ हेक्टर जग्गा स्थायी रुपमा र २.३२७ हेक्टर जग्गा अस्थायी रुपमा आवश्यक पर्ने आयोजनाले जनाएको छ ।

कूल जग्गामध्ये ६५.००९ हेक्टर वन क्षेत्र र ०.२९५ हेक्टर निजी जग्गा आयोजनाले प्रस्ताव गरेको छ । यसबाट महाकांल क्षेत्रका करिब १४ घरधुरी प्रभावित हुने अध्ययनमा देखिएको छ ।

सन् २०१७ मा भएको अध्ययन अनुसार नागमती ड्यामको लागत ७ अर्ब ६२ करोड छ । अध्ययन भएकै ६ वर्ष पूरा भइसकेकाले यो लागत थप बढ्नेछ ।

वागमती नदी जलाधार क्षेत्र सुधार आयोजनामा एसियाली विकास बैंकले सन् २०१७ देखि सहयोग गर्दै आएको छ । यो आयोजना अन्तर्गत नागमती ड्याम निर्माण, काठमाडौंको सहरी क्षेत्रको ४.२ किलोमिटर क्षेत्रको नदी किनारामा वातावरणीय सुधार र नदी किनारको सौन्दर्यीकरण लगायत पर्दछन् । यसबाट बागमती नदीमा चोभारसम्मै सफा पानी बगाउन सकिने बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?