+
+

स्वच्छ बागमती अभियान : धापको पानी अन्तै जाने चिन्ता

ढल पनि टाउको दुखाइ

विनोद घिमिरे विनोद घिमिरे
२०७९ असोज ४ गते १६:२१
पानी तर्काउन सुन्दरीजल जलविद्युत आयोजनाले बनाएको संरचना (बायाँ) र मेलम्ची खानेपानी आयोजनाले प्रयोग गरेका पाइप

४ असोज, काठमाडौं । बागमती नदीमा सफा पानी बगाउने उद्देश्यले गोकर्णेश्वर नगरपालिका–१ धाप ड्यामबाट छाड्ने पानी अन्तै मोडिने भएको छ ।

सुन्दरीजल जलविद्युत, केयूकेएल, मेलम्ची खानेपानी आयोजना, डाँछी खानेपानी आयोजना लगायतले बागमती जलाधार क्षेत्रमा बाँध बाँधेर पानी तर्काएकाले धाप जलासयबाट पठाइएको सबै पानी बागमतीमा नपुग्ने भएको हो ।

बागमतीको सहायक नदी नागमतीको पानी मुलखर्क भन्ने स्थानमा बाँध बाँधेर सुन्दरीजल जलविद्युत आयोजनाले लगेको छ । यसैगरी बागमतीको पानी केयूकेएल, मेलम्ची, डाँछी खानेपानी र अर्को एक परम्परागत सिंचाइ आयोजनाले बाँध बाँधेर लगेका छन् ।

सुन्दरीजल जलविद्युत आयोजनाबाट बगेको पानीलाई केयूकेएलले प्रयोग गरेको छ । त्यसपछि मेलम्ची आयोजनाले पनि नदीमै बाँध बाँधेर ३५५ मिलिमिटर(एमएम)का २ वटा पाइप प्रयोग गरेर लगेको छ ।

‘यदि यी निकायका संरचनाहरुमा फेरबदल नगरिए बागमतीमा बगाउन भनेर छाडिएको पानी अन्तै बाँडिने छ,’ बागमती सुधार आयोजना सिंचाइ युनिटका प्रमुख कृष्ण प्रसाद रिजालले भने ।

सुन्दरीजल जलविद्युत केन्द्रमा लगिएको पानी

बागमतीमा सफा पानी बगाउने उद्देश्यले बनाइएको धाप ड्याम र प्रस्तावित नागमती ड्यामको जिम्मा यही सिंचाइ युनिटले पाएको छ । सिंचाइ युनिटका प्रमुख रिजालले खानेपानी, सिंचाइ र जलविद्युतका लागि पानी तर्काउन बनाइएका संरचना फेरबदलका लागि सरोकारवाला निकायसँग बैठक बसेर छलफल गर्ने तयारी भइरहेको जानकारी दिए ।

सिंचाइ युनिटका एक जना इन्जिनियर निश्चल छतकुलीले पनि बागमती जलाधार क्षेत्रमा बनाइएका संरचना फेरबदल नगरेसम्म बागमतीमा कञ्चन पानी देख्न नपाइने बताए । ‘धाप जलासय भरिइसकेको छ, आगामी कात्तिकदेखि हामी बागमतीमा पानी छाड्ने तयारीमा छौं,’ छतकुलीले भने, ‘तर हामीले छाडेको सबै पानी बागमतीमा नगएर अन्त जाने पनि देखिन्छ । त्यसैले केही स्ट्रक्चरहरु मोडिफाइ गर्नैपर्ने भएको छ ।’

केयूकेएलले पानी प्रयोग गर्न बनाएको संरचना

उनले स्थानीय र विभिन्न निकायले प्रयोग गरिरहेको पानीलाई अवरोध नगरी धापबाट छाडिएको पानी बागमतीमा बग्न दिनका लागि संरचनामा सामान्य सुधार गरिने बताए । ‘उहाँहरुको पानीलाई डिस्टर्ब गर्दैनौं, पानीको भोगाधिकारलाई कायम राख्दै संरचना फेरबदल गर्छौं,’ उनले भने ।

ढल पनि टाउको दुखाइ

बागमतीमा नुहाउनयोग्य पानी बगाउने योजनामा ढल व्यवस्थापन पनि चुनौतीको विषय बनेको छ । एक अध्ययन अनुसार २ हजार ८०० ठाउँबाट बागमती र यसका प्रशाखाहरुमा सिधै ढल मिसाइएको छ ।

ती ढललाई ट्रंक लाइनमार्फत् ट्रिटमेन्ट प्लान्टमा जोड्ने र त्यसबाट निस्किने सफा पानी मात्र नदीमा खसाउने व्यवस्था नमिलाएसम्म बागमती सफा हुनेछैन । ‘ढललाई ट्रक लाइनमार्फत् ट्रिटमेन्ट प्लान्टमा नजोडेसम्म हामीले सङ्लो पानी छाड्नुको अर्थ रहँदैन,’ छतकुली भन्छन् ।

गोकर्णेश्वर गुह्यश्वरी खण्डमा सिधै मिसाइएको ढल ।

गुह्येश्वरीमा ढल प्रशोधन सम्बन्धी प्लान्ट बनेर प्रयोगमा आइसकेको छ । गत साउन १५ गते प्रधानमन्त्री शेरबहादुर देउवाले उदघाटन गरेको यो केन्द्रमा दैनिक ३ करोड २४ लाख लिटर फोहोर पानी प्रशोधन गर्ने क्षमता छ । तर अन्य क्षेत्रमा भने प्रशोधन सम्बन्धी प्लान्ट बनिसकेको छैन ।

काठमाडौंको धोबीघाट क्षेत्रमा दैनिक ३ करोड ७० लाख लिटर क्षमताको प्रशोधन केन्द्र निर्माणको अन्तिम चरणमा पुगेको छ । तर ललितपुरको बालकुमारीस्थित कोड्कु (१ करोड ७५ लाख लिटर क्षमता) र भक्तपुरको सल्लाघारी (१ करोड २२ लाख लिटर क्षमता)को प्रशोधन केन्द्रको निर्माण भने सुस्त छ ।

गोकर्णमा दैनिक ३० लाख लिटर र हनुमानघाटमा १० लाख लिटर क्षमताका फोहोर पानी प्रशोधन केन्द्र निर्माण प्रक्रिया पनि अघि बढेको छ । गुह्येश्वरीबाट ढल प्रशोधन हुँदै आए पनि अन्य केन्द्रको निर्माणमा भइरहेको ढिलाइले बागमतीमा सफा पानी बगेको छैन ।

गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल

त्यसो त बागमती सुधार आयोजनाले हरेक शनिबार बागमती सफा गर्ने अभियान चलाउँदै आएको छ । बागमती सफाइ महाअभियानको ४८८ औं हप्ता पूरा भइसकेको छ । यो अभियानबाट बागमती नदी किनारका क्षेत्र केही सफा देखिए पनि हिउँदयाममा जलप्रवाह भने ठप्पप्राय हुने गरेको छ ।

त्यसैले ढल व्यवस्थापन र बागमती जलाधार क्षेत्रमा बनाइएका संरचना फेरबदल गर्ने काममा स्थानीय सरकारको अझ बढी सहयोग आवश्यक रहने  इन्जिनियर छतकुली बताउँछन् ।

गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले बागमतीमा सफा पानी बगाउने योजना अन्तर्गत नगरपालिकाले गर्नुपर्ने काममा पूर्णसहयोग रहने बताए । ‘स्थानीयवासीको चित्त बुझ्ने गरी केके काम गर्नुपर्छ हामी गर्छौं,’ उनले भने ।

नागमती विना अपुरो धाप

जापानी सहयोग नियोग जाइकाले गरेको एक अध्ययनअनुसार  बागमतीको पानी नुहाउनयोग्य बनाउन प्रतिसेकेण्ड ४४० लिटर सफा पानी मिसाउनुपर्छ । सोही योजना अनुसार शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप भन्ने स्थानमा २४ मिटर अग्लो बाँध बाँधेर वर्षाको पानी संकलन गरिएको छ । धापमा वार्षिक ८ लाख ५० हजार घन मिटर पानी संकलन गर्ने क्षमता छ । त्यहाँबाट ४० लिटर प्रतिसेकेण्ड पानी बागमतीमा छाड्न सकिन्छ ।

धापमा संकलन गरिएको पानी नागमती हुँदै बागमतीमा आइपुग्छ । धाप नागमती नदीको मुहान हो । नागमती बागमतीको सहायक नदी हो । नागमती र बागमती शिवपुरी राष्ट्रिय निकुञ्जभित्रको सुन्दरीमाई मन्दिर नजिक मिसिन्छन् ।

तर धापको ड्यामबाट बगेर आएको पानीले मात्रै बागमती सफा नहुने भएकाले धापभन्दा करिब ५ किलोमिटर तल नागमती भन्ने स्थानमा अर्को बाँध बाँधेर जलाशय बनाउने योजना बनाइएको छ ।

नागमती ड्यामबाट प्रतिसेकेण्ड ४५० लिटर पानी बगाउन सकिने अष्ट्रेलियन सरकारको समेत स्वामित्व रहेको इन्टुरा तास्मानिया कम्पनीले गरेको अध्ययनको निष्कर्ष छ । धापको र नागमतीको पानी सँगै बागमतीमा मिसाइँदा सुन्दरीजलदेखि चोभारसम्मै कञ्चन पानी बगाउन सकिने छ । त्यसैले बागमतीमा नुहाउनयोग्य पानी बगाउने योजनामा धाप र नागमती एकअर्काका परिपुरक मानिएका छन् ।

नागमतीमा बन्ने ड्याम धापकोभन्दा १० गुणा ठूलो हुनेछ । शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रको ५० हेक्टर जमिन ओगट्ने नागमती जलाशयमा ८८ लाख घन मिटर पानी सञ्चय गर्ने क्षमता रहने छ ।

बागमतीमा मिसाउन धापमा बाँध बाँधेर संकलन गरिएको पानी

धापको ड्याम २४ मिटर अग्लो र १७४.७ मिटर लामो छ भने नागमती ड्याम ९४.५ मिटर अग्लो र ५५४ मिटर लामो हुनेछ ।

धापबाट प्रतिसेकेण्ड ४० लिटर पानी बग्छ भने नागमतीको ड्याम बनेमा प्रतिसेकेण्ड ४५० लिटर पानी बागमती नदीमा प्रवाह हुने अध्ययनको निष्कर्ष छ ।

नागमतीमा बाँध बाँधेर दुई मेगावाट बिजुली निकाल्ने योजना पनि बनाइएको छ । यसको रिजर्भवायर र ड्याम राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने छ । विद्युत गृह भने सुन्दरीजलस्थित हाल मेलम्चीको पानी प्रशोधन केन्द्र बनाइएको स्थान नजिकै रहने छ ।

विद्युत् आयोजनाबाट निस्किएको पानीलाई सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको प्रशोधन प्लान्टमा पनि जोड्न सकिने र त्यसलाई प्रशोधन गरी खानेपानीको रुपमा समेत प्रयोग गर्न सकिने सम्भावनाबारे अध्ययन भइरहेको इञ्जिनियर छतकुलीले बताए । नागमतीबाट महांकाल क्षेत्रका १४ घरधुरी र मुलखर्कका केही घरधुरी प्रभावित हुने अनुमान छ ।

नागमती ड्याम बन्ने स्थान

सन् २०१७ मा भएको अध्ययन अनुसार नागमती ड्यामको लागत ७ अर्ब ६२ करोड छ । अध्ययन भएकै पाँच वर्ष पूरा भइसकेकाले यो लागत अब केही बढ्नेछ ।

यसको डीपीआर लगायत अन्य सबै काम सकिएकाले अब वन मन्त्रालयबाट स्वीकृती पाउनासाथ ठेक्का आह्वान गरेर निर्माणको प्रक्रिया थाल्ने योजना बनाइएको छ । धाप बाँध भने बनिसकेकाले आगामी कात्तिक महिनादेखि नै बागमतीमा बगाउने योजना बनाइएको छ ।

वागमती नदी जलाधार क्षेत्र सुधार आयोजनामा एसियाली विकास बैंकले सन् २०१७ देखि सहयोग गर्दै आएको छ । यो आयोजना अन्तर्गत नागमती ड्याम निर्माण, काठमाडौंको सहरी क्षेत्रको ४.२ किलोमिटर क्षेत्रको नदी किनारामा वातावरणीय सुधार र नदी किनारको सौन्दर्यीकरण लगायत पर्दछन् । यसबाट पशुपति नाथको मन्दिर क्षेत्रमा बाह्रै महिना नुहाउनयोग्य पानी र पशुपति मन्दिरभन्दा तल बग्ने पानीको गुणस्तरमा सुधार आउने अपेक्षा छ ।

लेखकको बारेमा
विनोद घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?