+
+

ललितपुर महानगरले कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल निर्माण गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १८ गते १८:३९

१८ भदौ, काठमाडौं । ललितपुर महानगरले कुसन्तीस्थित चक्रपथमा लिफ्ट र शौचालयसहितको अपाङ्‍गतामैत्री अत्याधुनिक आकाशे पुल निर्माण गर्ने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागले आइतबार ललितपुर महानगरलाई पैदलयात्रुका आकाशे पुल निर्माणका लागि स्वीकृति दिएसँगै पुल निर्माणको बाटो खुलेको हो ।

ललितपुर महानगरले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई एक वर्ष अघि उक्त स्थानमा पुल निर्माण गर्न सहमति माग्दै पत्राचार गरेको थियो । आठ मिटरभन्दा बढीको सडकमा स्थानीय सरकारको क्षेत्राधिकार नहुने भएर महानगरले मन्त्रालयसँग स्वीकृत मागेको थियो । ललितपुर महानगर केही दिनभित्र आकाशे पुल निर्माणका लागि टेण्डर आव्हान गर्ने जनाएको छ ।

ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले चक्रपथको उक्त स्थानमा सडक वारपार गर्न आकाशे पुल अत्यावश्यक भएको बताए । ‘उक्त स्थान सुरक्षाका दृष्टिले अति नै जोखिमपूर्ण छ, गएको एक वर्षमा छ, सात जनाको ज्यान गइसक्यो,’ महर्जनले भने । कुसुन्तीको यातायात व्यवस्था कार्यालय नजिकैको चक्रपथमा पुल निर्माण गरिने महानगरले जनाएको छ ।

शौचालयको समेत व्यवस्था हुने यो पुल टफन ग्लासबाट निर्माण गरिनेछ । यो ग्लास पारदर्शी हुन्छ । महानगर प्रमुख महर्जनले महानगरले निर्माण गर्ने यो पुल उपत्यकाकै पहिलो भएको दाबी गरे ।

उनले भने, ‘आकाशे पुल त धेरै छन् तर ती पुलहरु अपाङगतामैत्री, ज्येष्ठ नागरिकमैत्री छैैन, बिरामी, अशक्तले प्रयोग गर्न सक्ने पुल बनेका छैनन् , पुल चढेपछि थकाइ लाग्छ, यो पुलबाट सडक वारपार गर्दा थकाइ लाग्दैन ।’ ललितपुर महानगरले निर्माण गर्न लागेको यो पुल देशकै नमुना आकाशे पुल हुने उनले दाबी गरे ।

पूर्वाधार महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर श्रीकुमार महर्जनले प्राविधिक दृष्टिले कुसुन्तीमा निर्माण हुने पुल अब्बल हुने स्पष्ट पारे । उनका अनुसार करिब ४ करोड बराबरको लागत अनुमानमा पुल निर्माण हुनेछ । दुई वर्षभित्र निर्माण सम्पन्न हुने इन्जिनियर महर्जनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?