+
+

पोखरी सौन्दर्यकरणमा खेलाँची, काम नसकिँदै भासियो घाट र किनार

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८० भदौ २१ गते ७:२९

२१ भदौ, जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १७ स्थित ओसरा टोलमा रहेको ‘अधिकारी पोखरी’ सौन्दर्यकरणको काम नसकिँदै भत्किन थालेको छ ।

संघीय सरकार मातहत रहेको संघीय आयोजना कार्यान्वयन इकाई जनकपुरधाम मार्फत भइरहेको सौन्दर्यकरण अन्तर्गत यो पोखरीको पूर्वमा दुईवटा र पश्चिममा एउटा घाट गत असारमा निर्माण गरिएको थियो । तर निर्माण सम्पन्न नहुँदै कतै किनार भत्किएको छ भने कतै घाट नै ।

आर्थिक वर्ष २०७८/०७९ मा ४५ लाख रुपैयाँको बजेटमा ढुंगाको पर्खाल तलैबाट उठाइएको छ । पश्चिम छेउमा उत्तरतर्फबाट बाटोसँगै उठाइएका पर्खालमाथि सडकलाई जोडेर असारमा पीसीसी ढलान गरिएको थियो, जुन भासिएर करिब दुई फिट तल झरेको छ । सौन्दर्यकरणको काम पूरा नहुँदै निर्माण गरिएको घाट ठाउँठाउँमा चर्किने र भासिने क्रम जारी छ ।

गुणस्तरहीन निर्माण सामग्री प्रयोग र जथाभावी काम गर्दा नवनिर्मित संरचना चर्किन र भासिन थालेको स्थानीयको आशंका छ । पोखरी किनारमा ढलान गर्दा इस्टिमेट भन्दा निकै कम छडको प्रयोग गरिएको स्थानीय युवक रामजीवन यादवले सुनाए । ‘असारमा रातारात यो ढलान भएको छ । ढलान अघि रोलर चलाउनुपर्थ्यो त्यो गरिँदै गरिएन । टाढा-टाढा छड हालिएको छ । एकदम कम पैसामा काम सकाउन जथाभावी काम गरियो’, रामजीवन भन्छन् ।

आर्थिक वर्ष २०७९/८० मा घाट निर्माण तथा किनारामा पीसीसी ढलान गरेर रेलिङ लगाउने काम जनज्योती कन्सट्रक्सनले गरिरहेको छ । कार्यालयका सूचना अधिकारी इन्जिनियर लक्ष्मण साहका अनुसार ९७ लाख रुपैयाँ बजेट रहेकोमा टेन्डर मार्फत ४४ प्रतिशत बिलोमा गत फागुन महिनामा ठेक्का कबुल भएको थियो ।

हालसम्मको काम बापत ठेकेदारलाई करिब ४१ लाख रुपैयाँ भुक्तानी कार्यालयले गरसकेको साइट इन्जिनियर साहले जानकारी दिए । उनका अनुसार योजनाको काम अगामी मंसिरमा सकिने छ । कन्सट्रक्सन कम्पनीका सन्चालक रामदुलार यादव अब दुई/अढाई लाख जतिको काम मात्र गर्न बाँकी रहेको बताउँछन् ।

झण्डै योजनाको काम अन्तिम अवस्थामा पुग्दा अस्तव्यस्त अवस्थामा पुगेको नवनिर्मित कामले स्थानीय खिन्न छन् । पोखरी सौन्दर्यकरणको नाममा गुणस्तरहीन काम गरेर कर्मचारी र ठेकेदारले मिलेर भ्रष्टाचार गर्न खोजेको स्थानीयको आरोप छ ।

पूर्व-दक्षिण किनारा तर्फ बनाएको घाट भासिएको र सडकतिरबाट भ्वाङ् नै परेको स्थानीय उपेन्द्र यादवले बताए । ‘यी हेर्नुस् । यसमा पानी पसेर घाट नै पोखरीतिर ढल्ने अवस्था थियो । मैले बालुवाले पुरेपछि अहिले बँचेको छ । हेर्नुस् दक्षिण तर्फको तलको स्टेप भासिएको छ । ठाउँ-ठाउँमा चिरा परेको छ,’ उनले भने, ‘यिनीहरु काम होइन, खेलाँची गरेका हुन् ।’

कार्यालयका इन्जिनियर साहले भने पारदर्शी तरिकाले नै स्थानीयलाई जानकारी गराएर काम गरेको दाबी गरे ।

तर कर्मचारी र ठेकेदारसँग थुप्रैपटक स्टिमेट र बजेटको विवरण माग्दा नदिएको स्थानीय मुनेश्वरकुमार यादव बताउँछन् । ‘थुप्रैपटक निवेदन दिएर कर्मचारी र ठेकेदारसित इस्टिमेट, डिजाइन र बजेटबारे बुझ्न खोजें, तर दिएनन्,’ यादव भन्छन्, ‘यिनीहरुको नियत नै ठीक छैन, यसको छानबिन होस् ।’

दुई नम्बर इँटा तथा कमसल निर्माण सामग्री प्रयोग गरेर काम भएको भन्दै वडा नं. १७ का वडाध्यक्ष रामवृक्ष यादवले पनि रोक्न लगाएका थिए । आफू निर्वाचित भएर आउनु अघिको काम भए पनि गुणस्तरमा स्थानीयले प्रश्न उठाएपछि कार्यालयमा फोन गरेर काम रोक्न लगाएको उनी बताउँछन् ।

‘हामीसँग निर्माणको विषयमा समन्वय पनि गरिएको थिएन । स्थानीयले पनि गुणस्तरमा प्रश्न उठाइरहेका थिए । वादविवाद भएर काममा अवरोध हुन खोजेपछि मैले समन्वय गरिदिएको छु,’ वडाध्यक्ष यादव भन्छन्, ‘बीचमा कमसल निर्माण सामग्री प्रयोग भएको छ भनेर स्थानीयले गुनासो गरेपछि आफैं रोकाएको थिएँ ।’

रामवृक्ष यादव वडा अध्यक्ष बन्नुअघि २०७८/७९ मा हनुमान उपभोक्ता समिति मार्फत पर्खाल उठाउने काम भएको थियो । आयोजनाका इन्जिनियर साहका अनुसार त्यतिबेला उपभोक्ता समितिका अध्यक्ष स्थानीय जीवक्ष यादव थिए । ४५ लाख रुपैयाँ खर्च गरेर पश्चिम र उत्तर तर्फको पर्खाल खडा गरिएको थियो ।

ठेकेदार कम्पनीका सन्चालक यादव पहिलेको उपभोक्ता समितिले गरेको माटो भरोठ तथा पर्खाल निर्माणको कामले निर्माणमा हल्का समस्या आएको बताउँछन् । त्यसको मर्मत आफूले गरिदिने पनि उनले बताए ।

‘पहिले उपभोक्ता समितिले गरेको माटो भरोठ तथा पर्खाल निर्माणको कामले निर्माणमा समस्या आएको हो’ सन्चालक यादव भन्छन्, ‘घाट बनाउने बेला माटो भिजेर दलदल थियो । त्यसमै बनाउँदा हल्का समस्या आएको छ । पर्खाल भाँसिदा पश्चिम किनारको ढलान भाँसिएको हो । हामी त्यसको मर्मत गर्छौं ।’

इन्जिनियर साहले निर्माणमा कमसल सामग्री प्रयोग नभएको दाबी गर्दछन् । आफू निर्माण कार्यको बेला पटक-पटक साइटमा गएर निरीक्षण गरेको बताउँदै उनले भने, ‘दुई नम्बर इँटा प्रयोग भएको छैन । पटक-पटक सुपरभिजन गरेका छौं । इँटा झार्दा एक-दुई प्रतिशत दुई नम्बर हुन्छ । त्यसलाई हटाएर काम गर्न भन्यौं’ उनले भने, ‘काम त राम्रै भएको हो । वर्षाको कारणले समस्या आएको हो । पश्चिमतिरको ढलान पानीको प्रेसरले भासिएको हो ।’

योजनाको काम सम्पन्न नभएकाले चर्केको र भासिएको भागको मर्मत गराउने उनले बताए ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?