+
+

एन्फाका बहुमत सदस्यले मागे अध्यक्ष र महासचिवको बर्खास्ती*

विशेष साधारणसभा बोलाउन लिखित माग, ३० दिनभित्र बोलाउनुपर्ने विधानको व्यवस्था

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २५ गते १३:१०

२५ भदौ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का बहुमत सदस्यले अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्ने एजेण्डामा छलफलका लागि विशेष साधारणसभा बोलाउन लिखित रुपमा माग गरेका छन् ।

एन्फा पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा ४८ सदस्यले लिखित निवेदन दिएका हुन् । अध्यक्ष र महासचिवलाई बर्खास्त गर्ने विषयसूची खुलाएर एन्फा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई लिखित माग बुझाएको संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले जानकारी दिए ।

उनले अघि भने, ‘उहाँहरुले एक वर्षमा गर्नुपर्ने धेरै प्रतियोगिता गर्न सक्नुभएन । उहाँहरुलाई राखिराख्दा नेपाली फुटबल झन् तल जान्छ भनेर यो निर्णय लिएका हौं ।’

एन्फा विधानको धारा ३६ मा विशेष साधारणसभासम्बन्धी व्यवस्था छ, जसअनुसार ४० प्रतिशत सदस्यले विशेष साधारणसभा बोलाउन लिखित रुपमा माग गरेमा कार्यसमितिले ३० दिनभित्र बैठक आह्वान गर्नुपर्नेछ । यदि नबोलाइएमा माग गर्ने प्रतिनिधिहरुले नै ३० दिनको सूचना जारी गरी विशेष साधारणसभा बोलाउन सक्ने छन् र, सुरुमा तोकिएको विषयसूचीमा छलफल गर्नुपर्नेछ ।

एन्फाको साधारणसभामा ८६ सदस्य छन् । ४८ सदस्यले लिखित निवेदन दिएकाले ३० दिनभित्र विशेष साधारणसभा बोलाउनु अनिवार्य भएको छ, जहाँ अध्यक्ष र महासचिवको बर्खास्तीको एजेण्डामा छलफल हुनेछ ।

तर प्रस्ताव पास गर्न दुई तिहाई मत चाहिने एन्फा विधानको धारा ४१ मा उल्लेख छ ।

के हो विवाद ?

असार २०७९ मा एन्फाको अध्यक्ष चुनिएका नेम्वाङ कार्यकालको सुरुदेखि नै विवादमा पर्दै आएका छन् ।

पछिल्लो विवाद भने विशेष साधारण सभा अनलाइनमार्फत गर्ने निर्णयलाई लिएर भयो । ए डिभिजन क्लबहरुले भौतिक उपस्थितिमै साधारणसभा गर्नुपर्ने माग गरेका थिए । तर एन्फाले आइतबार अनलाइनमार्फत साधारण सभा गर्न खोजेपनि बहुमत सदस्य उपस्थित भएनन् ।

सोमबार पनि अनलाइनमार्फत साधारण सभा राखिएको थियो, तर बहुमत सदस्यले अध्यक्ष र महासचिवविरुद्ध अविस्तावको प्रस्ताव दर्ता भएपछि सुरु हुन सकेन ।

एन्फा प्रवक्ता सुरेश शाहले भने विज्ञप्ति जारी गर्दै सदस्यहरुको विशेष सल्लाह सुझाव बमोजिम एन्फा अध्यक्षले साधारण सभा स्थगित गरेको दाबी गरेका छन् ।

अविश्वासको प्रस्ताव दर्ता गर्नेहरुले भने अध्यक्ष नेम्वाङ स्वतः निलम्बनमा परेकाले अब वरिष्ठ उपाध्यक्षले ३० दिनभित्र विशेष साधारणसभा बोलाउनुपर्ने बताएका छन् ।

*यसअघिको समाचारमा एन्फा अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव भन्ने व्यहोरा उल्लेख भएकामा त्रुटि भएकाले सच्याइएको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?