+
+

नारायणगढ र भरतपुरमा खाली हुन थाले सटर

सुवास पण्डित सुवास पण्डित
२०८० भदौ २५ गते १९:४४

२५ भदौ, चितवन । चितवनको व्यस्त बजार नारायणगढमा कुनै जमानामा व्यवसाय गर्न सटर पाउन निकै समस्या थियो । पुराना घरमा कसैले सटर खाली गर्न लागे लाखौं रकम सलामी तिरेर मात्रै पाइन्थ्यो ।

व्यापार राम्रो हुन्थ्यो । तर, हिजोआज बजार क्षेत्रका ब्यापारी भाडा बुझाउनसमेत नसक्ने अवस्थामा पुगेको बताउन थालेका छन् । कतिपय व्यवसायीले पसल छाडेर सटर खाली गराइरहेका छन् । नारायणगढ र भरतपुर बजार क्षेत्रका मुख्य तथा भित्री सडक क्षेत्रमा सटरहरु भाडामा छ भनेर लेखेको देख्न सकिन्छ ।

भरतपुरको सिजी ल्याण्डमार्कका म्यानेजर उज्जव केसीले मलमा रहेको ६२ वटा सटरमध्ये १७ वटा खाली भइसकेको बताए । ‘ब्यापार नै छैन, सामान किन्न आउने ग्राहक नै विदेश गइरहेका छन् अनि कसरी चल्छ व्यवसाय ?’ केसीले प्रश्न गरे ।

नारायणगढको पुल्चोकदेखि गोन्द्राङसम्म थालिएको ६ लेनको सडक विस्तार अझै सकिएको छैन । त्यही कारण यो सडकखण्ड छेउछाउका सटर भाडामा लिएर ब्यापार गर्नेहरुको व्यापार राम्रो छैन । नारायणगढ पुल्चोक नजिकै शुभकामना इलेक्ट्रोनिक्स पसल सञ्चालन गर्ने सूर्यभक्त अधिकारी व्यवसाय धान्नै नसक्ने अवस्थामा पुगेको गुनासो गर्छन् ।

‘पोहर भन्दा अहिले झनै खत्तम छ हालत, ५० प्रतिशत पनि व्यापार छैन, तीन महिनामा ५ लाख तिर्नुपर्ने बैंकको ब्याज अहिले १२ लाख तिर्नपर्छ, घरबेटीले एक सुको घटाउने हैन’, अधिकारी भन्छन्, ‘केही होला, केही कमाउला भनेर बस्नेहरु चरम निराश छन् ।’

गत बर्षको पुसमा बजार क्षेत्रमा सडक सीमा अतिक्रमण गरेर मिचिएका संरचना सडक डिभिजन कार्यालय भरतपुरले डोजर चलाएर भत्काएको थियो । त्यही बेलादेखि भरतपुरमा खस्किएको ब्यापार व्यवसाय माथि उठ्न नसकेको उद्योग बाणिज्य संघ चितवनका उपाध्यक्ष शिरिष पन्त बताउँछन् ।

‘सडक कार्यालयले डोजर त लगायो, तर नोक्सानी घर धनीको भन्दा बढी व्यवसायीको भयो’, उपाध्यक्ष पन्त भन्छन्, ‘यसमा हामीले व्यवसायीलाई कुनै राहत दिन सकिएन, न त घरधनीहरुले नै दिए ।’

अहिले नारायणगढ बजार क्षेत्रमा सडक विस्तारको काम भइरहेकाले पानी पर्दा हिलो र घाम लागे धुलो हुने अवस्था छ । ‘नारायणगढ बजार झर्न नै मान्छे मान्दैन, नाक खुम्च्याउँछ, अनि कसरी ब्यापार हुन्छ, व्यवसायीहरुले भाडा तिर्न सकेनन्, बैंकले ढाड सेक्यो, अनि सटर बन्द नगरे के गर्ने भन्नुस् त ?’ उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष पन्त भन्छन् ।

सडक विस्तारमा ढिलाइ भइरहे यो क्रम अझै बढ्ने उनको भनाइ छ । व्यापारमा मन्दी हुँदा पनि घरधनीले भाडा नघटाएको व्यवसायीहरुको गुनासो छ । धेरैजसो घर भाडामा लगाउनेहरु नै उद्योग वाणिज्य संघमा सदस्य रहेकाले आफूहरुको पक्षमा बोलिदिने खासै नभएको गुनासो एक व्यवसायीले गरे ।

भरतपुर र नारायणगढको जस्तै छ पूर्वी चितवनको टाँडी बजार र बकुलहरको अवस्था पनि । नाफा कमाउने त परै जाओस् भाडासमेत तिर्न नसक्ने अवस्थामा पुगेर व्यवसायी पलायन भइरहेको उद्योग वाणिज्य संघ रत्ननगरका वरिष्ठ उपाध्यक्ष शंकर गिरीले बताए । ‘नेपालमा केही गर्न सकिएन भनेर विदेश जानेहरु देख्छु’, गिरी भन्छन् ।

व्यवसाय बन्द गर्नेहरु धेरै भएपछि उद्योग वाणिज्य संघ रत्ननगरले व्यवसायीहरुसँग बसेर छलफलसमेत गरेको थियो । त्यस क्रममा आफ्नै घरमा व्यवसाय गर्ने भन्दा भाडा तिरेर व्यवसाय गर्नेहरु बढी समस्यामा परेको पाइएको गिरीले बताए ।

युवा उद्यमी मञ्च चितवनका निवर्तमान अध्यक्षसमेत रहेका सूर्यभक्त अधिकारी आर्थिक मन्दीको प्रभाव सबै क्षेत्रमा पर्न थालेको बताउँछन् । ‘सरकारले घोषणा नगरेको मात्रै हो, तर देश आर्थिक संकटको चपेटामा परिसकेको छ’ अधिकारी थप्छन्, ‘विदेश युवा मात्रै गएका छैनन् मोटो रकम वैध, अवैध बाटो भएर गएको छ ।’

बजारमा मात्रै नभईं आर्थिक मन्दीको असर होटल व्यवसायमा समेत परेको छ । होटल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष दिनेशकुमार चुकेले होटल व्यवसाय क्षेत्रमा कोरोना महामारीको समयमा भन्दा पनि अहिले खतरनाक अवस्था आएको बताए ।

कोरोना कालमा १० देखि १५ प्रतिशत होटल बन्द भएकामा अहिले आर्थिक मन्दीले त्यो भन्दा जटिल अवस्था आएको उनको भनाइ छ । होटलहरुको सञ्चालन खर्च धान्न पनि कठिन रहेको चुकेले बताए ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?