+
+

‘डाकिनी’ वा ‘हल्कारा’ : ओस्कारमा नेपालको प्रतिनिधित्व कुन फिल्मले गर्ला ?

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २६ गते १४:०७

काठमाडौं । आगामी ओस्कार अवार्डका लागि नेपालबाट कुन फिल्मले प्रतिनिधित्व गर्ला ? फिल्मप्रेमी यो कुरालाई लिएर प्रतीक्षा गरिरहेका छन् । मंगलबारसम्म ‘डाकिनी’ र ‘हल्कारा’ले ओस्कारको अन्तर्राष्ट्रिय फिचर विधाका लागि आवेदन दिएका छन् ।

आवेदन दिने मिति शुक्रबार सकिंदैछ । म्यादसम्म अन्य कुनै फिल्म दर्ता नभए यी दुई फिल्मबीच कुनै एकले आगामी ओस्कारमा मुलुकको प्रतिनिधित्व गर्नेछ । ओस्कारको नेपाल छनोट कमिटीले फिल्म हेरेर एक फिल्मलाई ओस्कारमा पठाउनेछ ।

कमिटीले अक्टोबर १ सम्म फिल्मलाई अमेरिका पठाइसक्नुपर्नेछ । खिन्से नोर्बू रिम्पोछे निर्देशित ‘डाकिनी’ संसारका ठूला फेस्टिभलको चक्र पूरा गरेर गत जेठमा नेपाली हलमा रिलिज भएको थियो । बौद्ध ग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी (डाकिनी)का प्रशस्तै मिथक र दन्त्यकथा छन् । यो फिल्म पनि यस्तै देवीको खोजीको कथा हो, जसले बौद्ध ग्रन्थको यो सुन्दर आयामलाई बाहिर ल्याउँछ ।

काठमाडौंमा क्याफे चलाएर बसिरहेका तिब्बती मूलका युवालाई एक दिन सपनामा केही संकेत मिल्छ । एक दिन उसको साथीले सपनाको अर्थ खुलाइदिन्छ र भन्छ– तिमी अब जम्मा सात दिन बाँच्छौं । तर जब उसले यो संकट डाकिनीले हटाउन सक्ने थाहा पाउँछ अनि सुरु हुन्छ जुँगा र दाह्रा भएकी डाकिनीको खोजी । उसले डाकिनी कहाँ फेला पार्छ ? उसको जीवन बच्छ कि बच्दैन ? यसकै वरपर डाकिनीको कथा बगेको छ ।

यस वर्ष रिलिज भएको अर्को नेपाली फिल्म हो हल्कारा । विक्रम सापकोटा निर्देशित हल्काराले एक चिठीलाई गन्तव्यमा पुर्‍याउन मुख्य पात्रले गर्ने संघर्षको कथा प्रस्तुत गर्छ । यो फिल्ममार्फत निर्देशकले वैदेशिक रोजगारीको सामाजिक आयामलाई प्रस्तुत गरेका छन् । फिल्मको शीर्ष भूमिकामा महेश त्रिपाठी र विनिता थापाले अभिनय गरेका छन् ।

यी दुईबाहेक अन्य केही फिल्म पनि शुक्रबारसम्म दर्ता हुन सक्ने कमिटी अध्यक्ष राजु केसीले अनलाइनखबरलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?