+
+

रगत छादेर मरेको नाटक गर्ने अनौठो सर्प

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३१ गते ९:४०

जनावरहरू आफ्नो शत्रुजीव वा सिकारीबाट बच्नका लागि आफू मरेको नाटक गर्दछन् । सिकारी जीवलाई मुर्ख बनाउनका लागि किराहरु, माछा र उभयचरदेखि सरीसृप, पन्छी र स्तनधारी जनावरहरु सम्मले यस्तो अभिनय गर्दछन् ।

मृत्युको यस्तो नाटक अर्थात् अभिनयलाई थानाटोसिस भनिन्छ। वैज्ञानिकहरुले एउटा सर्पमा यस्तै अनौठो तथा अद्भुत व्यवहार फेला पारेका छन् ।

बायोलोजी लेटर्स जर्नलमा यही मे ८ मा एउटा शोध प्रकाशित भयो । त्यसमा शोधकर्ताहरुले डाइस सर्प (नेक्ट्रिक्स टेसेलाटा) ले आफू मरेको उच्चतहको अभिनय गर्ने गरेको उल्लेख गरेका छन् ।

जब कुनै पनि सिकारी जीव यो सर्पको नजिक आउँछ तब यसले मल तथा पाचन तन्त्रबाट सडेगलेको खानेकुरा निकाल्छ। त्यसपछि ऊ आफ्नो पिठ्युँको भरमा अर्थात् उत्तानो फर्किएर सुत्छ र मृत्युको नाटक गर्दछ।

यसले आफ्नो शत्रुजीवलाई आफू केही दिनअघि नै मरेको देखाउने कोसिस गर्दछ । कहिलेकाही उसले आफू मरेको अभिनय गर्ने क्रममा मुखबाट रगत पनि निकाल्छ ताकि सिकारी जीवले उसलाई खानका लागि मन नपराओस् ।

बेलग्रेड विश्वविद्यालयका जीव वैज्ञानिक तथा उक्त शोधका प्रमुख वुकासिन बजेलिका भन्छन्- मृत्युको नाटक गर्नु एउटा उच्च खतरायुक्त काम हो । तर, यसले ठूलो पुरस्कार पनि प्राप्त हुनसक्छ । किनकि सिकारी जीवले ऊ मरेको ठानेर छाडिदिन सक्छ । तर, सिकारी जीवले जस्तोसुकै भएपनि खान्छु भन्ने ठान्यो भने चाहिं मरेको अभिनय गरेको अवस्थाबाट भाग्न निकै कठीन हुन्छ।

डाइस सर्पको लम्बाइ ४ फिटभन्दा धेरै हुन्छ । यो विषालु हुँदैन । त्यसैले यसले सिकारीहरुबाट बच्नका लागि विभिन्न उपायहरु अपनाउने गर्दछ।

एउटा टापुमा २६३ वटा डाइस सर्पमाथि परीक्षण गरिएको थियो । त्यसक्रममा एउटा सिकारी उनीहरुतर्फ आइरहेको परिस्थिति तयार पारियो । त्यसो गर्दा १२४ वटा सर्पहरु उत्तानो पल्टिए र उनीहरुको सरीरमा मल लागेको थियो । त्यस्तै २८ वटा सर्पहरुको भने मुखबाट रगत निस्किएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?