+
+

मार्जिन ट्रेडिङ नीति चाँडै आउँदैछ, बुक बिल्डिङले ‘ब्रेक थ्रु’ पाउँछ : हमाल

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २९ गते १९:४८

२९ भदौ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र मार्जिङ ट्रेडिङसम्बन्धी नीति ल्याउने तयारी गरेको छ । बोर्डका अध्यक्ष रमेशकुमार हमालले केही सातामै मार्जिन ट्रेडिङ सम्बन्धी नीति आउने बताए । उनले केही दिनमै ब्रोकर मार्फत मार्जिन ट्रेडिङ सम्बन्धी नीति कार्यान्वयनमा आउने प्रतिवद्धता व्यक्त गरे ।

बोर्डले हाइड्रोपावर तथा वास्तविक क्षेत्रका कम्पनीमा स्वतन्त्र सञ्चालकहरुको छुट्टै योग्यता तोक्ने पनि उनले बताए । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘आर्थिक मन्दिमा पूँजीबजार : सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) सँग उक्त विषयमा छलफल समेत भइसकेको उनले बताए ।

अध्यक्ष हमालले स्वतन्त्र सञ्चालकहरुको रोष्टर पनि धितोपत्र बोर्डले नै बनाउने पनि बताए । ‘हाइड्रोपावर तथा वास्तविक क्षेत्रका कम्पनीमा स्वतन्त्र सञ्चालकको योग्यता तोक्दै छौं, रोष्टर नै बनाउँदै छौं । स्वतन्त्र सञ्चालकले स्वतन्त्र लेखा परीक्षकलाई नै रिपोर्ट बुझाउने ब्यवस्था गर्दैछौं,’ हमालले भने ।

उनले ‘इन्ट्रा डे ट्रेडिङ’ पनि सञ्चाल हुने उनले बताए । ‘धितोपत्र बजारको रिफर्म गर्ने आँट र विज्ञता मेरो नेतृत्वको सेबोन टिमसँग छ,’ उनले भने, ‘समग्र अर्थतन्त्रमा देखिएको निराशाले सेयर बजारमा पनि कमी कम्फिडेन्टमा कमी देखिएको छ । तर, अर्थतन्त्रका सूचक खराब अवस्थामा नभएको र अझै सुधारोन्मुख भएको छ । सबै सकारात्मक हुनुपर्छ । कन्फिडेन्टको कमी छ, त्यसलाई बढाउनुपर्छ ।’

अध्यक्ष हमालले ब्रोकरलाई समस्यामा पारेर कमिसन घटाउने निर्णय नहुने पनि स्पष्ट पारे । ‘ब्रोकरको कमिसन घटाउदा प्रस्ताव सञ्चालक समितिमा लैजाँदा बोर्डको कमिसन पनि घटाउने प्रस्ताव सँगै जान्छ,’ उनले भने, ‘ब्रोकर सस्टेन नहुने गरी कमिसन घटाउने पक्षमा छैनौं । ब्रोकर कमिसन घटाउँदा सँगै ब्रोकरलाई सुविधा थप गर्ने प्रस्ताव पनि सँगै लैजान्छौं ।’

अध्यक्ष हमालले ब्रोकरको सुविधा थप्ने बताए पनि त्यो सुविधा के हुने भनेर खुलाएनन् । तर, सीमित कार्य गर्ने र ब्रोकरलाई पनि मार्जिन ट्रेडिङ, पोर्टफोलियो म्यानेजमेन्ट लगायतका सुविधा थप्ने विषयमा बोर्डले छलफल गरिरहेको छ ।

अध्यक्ष हमालले हकप्रद सेयरबारे पनि नयाँ नियम ल्याउने तयारी गरिरहेको बताए । यसका साथै सार्वजनिक निष्कासनमा बुक बिल्डिङ विधिमा पनि चाँडै ‘ब्रेक थ्रु’ हुने बताए ।

अध्यक्ष हमालले सार्वजनिक निष्कासनमा १० कित्ते नीतिमा पनि केही पुनरवलोकन गर्ने संकेत गरे । १० कित्ते नीतिले गर्दा धितोपत्र बजारको विस्तार भएको भन्दै त्यसलाई अवसरको रुपमा लिनुपर्ने र त्यसमा रहेको केही कमजोर सुधार गर्ने पक्षमा रहेको अध्यक्ष हमालले बताए । ‘बोर्डले समग्र बजार र अवस्थाका विश्लेषण र अध्ययन गरेर सुझबुझ पूर्ण निर्णय गर्छ,’ उनले भने, ‘१० कित्ते नीति पुनरवलोकन गर्नु पर्नेछ । त्यसबारे अध्ययन गर्ने छौं ।’

अध्यक्ष हमालले बजारमा संस्थागत लगानीकर्ताको अभाव भएको बताए । उनले सूचीकृत कम्पनीको गभर्नेन्स स्ट्यान्डर्ड र प्रोटोकलमा पनि सुधार ल्याउनुपर्ने बताए ।

अध्यक्ष हमालले बोर्ड स्वीकृत गरेको ट्रेड म्यानेजमेन्ट सिस्टम सम्बन्धी विनियमावली नेप्सेले कार्यान्वयन नगरेकोमा पनि असन्तुष्टि व्यक्त गरे । ‘टीएमएस प्रणाली सम्बन्धी विनियमावली स्वीकृत भएर पनि कार्यानवयन भएको छनै । त्यसको लागि प्लान बी सुरु गर्दै छौं,’ अध्यक्ष हमालले भने ।

उनले ब्रोकरलाई सुविधा सहितको कमिसनका प्रस्ताव ल्याउन समेत आग्रह गरे । राम्रो सुविधा र नराम्रो सुविधामा पनि एउटै कमिसन भन्दा ब्रोकरहरुले यस्तो सुविधा लिन्छौं यसरी कमिसन ल्याउछौं भनेर ब्रोकरले सुविधा अनुसारको कमिसन प्रस्ताव ल्याए बोर्ड त्यसमा छलफल गर्न तयार रहेको बताए ।

हमालले हाइड्रोपावरको सेयर संरचना लगायतका विषयमा पनि छलफल भइरहेको बताए । बोर्डमा रियल टाइम सर्भिलेन्स आवश्यक रहेको भन्दै त्यसको प्रक्रिया अगाडि बढेको उनले बताए ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले नेप्से इन्डेक्स र बजार पूँजीकरणरणमा वैज्ञानिक छैन भन्ने लागेको बताए । तर, सूचक नै गलत भने नभएको उनले बताए ।

कार्यक्रमममा कार्यपत्र प्रस्तुत गर्दै नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायणप्रसाद शर्माले धितोपत्र बजारमा लगानीको औजारमा सबैभन्दा धेरै ऋणपत्र भएपनि लगानीकर्ता सबैभन्दा धेरै भने इक्विटी मार्केटमा रहेको बताए ।

उनले कोभिडको समयमा हरियो भन्ने नदेखेका र सोही बेला बजार प्रवेश गरेका लगानीकर्ता अहिले बजार घट्दा आतालिएको बताए ।

‘पछिल्लो ३ आर्थिक वर्षमा धेरै लगानीकर्ता बजार प्रवेश गरेका छन् । तर, उनीहरुमा लगानीकर्ता शिक्षा र पूँजीबजारको आधारभूत ज्ञानको कमी छ,’ उनले भने, ‘त्यसले गर्दा बजारमा केही असर पनि गरेको छ । तर, ती लगानीकर्तालाई लगानीकर्ता शिक्षा र आधारभूत ज्ञान प्रदान गर्न सक्ने हो भने बजार विकासको लागि अवसर पनि हुनसक्छ ।’

उनले अहिले पनि ४४ वटा सामुहिक लगानी योजना मार्फत ४४ अर्ब नै संस्थागत पूँजी परिचालन भएको बताए । जसमध्ये कोष प्रवद्र्धक बैंकहरुको करिब १८ प्रतिशत, योजना व्यवस्थापकको १ प्रतिशत लगानी छ । पूँजीमध्ये करिब दुई तिहाइ इक्विटी मार्केटमा नै लगानी रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?