+
+

दयाहाङ भन्छन्– ममा बक्स अफिसको दबाब हुँदैन, रेकर्ड तोड्ने लोभ पनि छैन

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३१ गते ११:४७

काठमाडौं । अभिनेता दयाहाङ राईले आफूलाई कहिल्यै पनि बक्स अफिसको दबाब नहुने बताएका छन् । ‘नांगो गाउँ’को सुखद ओपनिङबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा राईले यस्तो बताएका हुन् ।

उनले भने, ‘यो फिल्मको कथाले मलाई छोएको थियो । निर्देशक दीपेन्द्र लामाले पनि फिल्मलाई राम्रो तरिकाले तयार पारेका छन् । यसैले मन पर्‍यो होला जस्तो लाग्छ । निर्माता सुरक्षित भएको सुन्दा खुसी लाग्छ । यसकारण ममा बक्स अफिसको दबाब रहँदैन ।’

आफूलाई अघिल्ला फिल्मको व्यावसायिक कीर्तिमान तोड्ने लोभ नहुने उनले बताए । ‘एउटा कलाकारलाई दर्शकले दिने माया र साथ नै ठूलो कुरा हो । यो फिल्मले अरु फिल्मसँग स्क्रिन सेयर गर्नुपरेकाले पनि सुरुवाती दिनमै रेकर्ड ब्रेक गर्न सक्दैन होला । तर बुकिङ रातो देख्दा खुसी लागेको छ ।’

निर्माता हिमाल कडरियाले विदेशबाट फिल्मको लगानी सुरक्षित भइसकेको बताए । उनले फिल्मको नेपाल कमाइ भने सार्वजनिक भने गरेनन् । निर्देशक लामाले बनाउँदादेखि नै फिल्म चल्छ भन्ने विश्वास लागेको बताए । ‘मलाई यो फिल्म चल्दैन भन्ने त कतै पनि लागेको थिएन । दर्शकले प्रतिक्रिया पनि उत्कृष्ट दिनु भएको छ,’ उनले भने ।

फिल्मले शुक्रबार र शनिबार सुखद कमाइ गरेको देखिएको छ । फिल्मको ओपनिङमा दयाहाङ र मिरुना फ्याक्टर प्रमुख देखिएको छ । ‘कबड्डी ४’ र ‘जारी’जस्ता ब्लकबस्टर फिल्ममा सहकार्य गरेका दयाहाङ र मिरुनाले सँगै काम गरेको यो तेस्रो फिल्म हो ।

तीज र संविधान दिवसको बिदामा फिल्मको व्यापार अझै बढ्ने निर्माताको अपेक्षा छ । प्रस्तुतकर्ता हिमाल शर्माले चाँडै नै नयाँ फिल्मको घोषणा गर्ने समेत सुनाए । फिल्ममा शिशिर बाङ्देल, कार्म, साम्राज्ञी शाह, बुद्धि तामाङ र रविन्द्र झाको पनि अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?