+
+

आत्मविश्वास बढाउँदै उपसभामुख बबिता

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८० असोज ३ गते १७:४५

३ असोज, जनकपुरधाम । ४ मंसिर २०७९ को चुनावबाट गठन भएको मधेश प्रदेशसभाको हालसम्म बसेका ३६ बैठकमध्ये ८ वटा उपसभामुख बबिता राउत इशरले सञ्चालन गरिन् ।

सभामुख र उपसभामुख फरक लिंगको हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण रामचन्द्र मण्डल सभामुखमा निर्वाचित भएपछि बबिता उपसभामुख बन्ने अवसर पाइन् । ‘सभामुखले अवसर दिनुहुन्छ । मैले आठवटा बैठक चलाएकी छु । कुनै कुनै बैठक एक्लै पाँच घण्टासम्म चलाएको अनुभव छ मेरो’, उनी सुनाउँछिन् ।

प्रदेशसभा बैठक सञ्चालन गर्न पाउँदा बबिता गर्व महसुस गर्छिन् । तर महत्वपूर्ण पदीय जिम्मेवारीमा नयाँ भएकाले कहिलेकाहीँ कठिनाइको सामना गर्नुपर्छ । तर नबुझेको कुरा वा अप्ठ्यारो स्थितिमा उनी सभामुख, कर्मचारी तथा नेताहरुको सल्लाह लिएरै काम पूरा गर्छिन् ।

‘म नयाँ छु । सदन चलाउँदा नौलो, गौरव र खुसीको अनुभूति हुन्छ कि म महिला भएर गरिमामय सदन चलाउन पाएकी छु भनेर । कहिलेकाहीँ कठिनाइहरु पनि आउँछ । त्यतिबेला सबैबाट सल्लाह लिएर समाधान गर्छु’, बबिताले भनिन् ।

मधेश प्रदेशको नीति निर्माण हुने प्रदेशसभाको महत्वपूर्ण जिम्मेवारीमा पुगिएला भन्ने बबिताले कल्पना गरेकी थिइनन् । तर यो अवसर आफूलाई संंविधानले जुराएको बताउँछिन् । बबिताको लागि संसदीय यात्रा र सदन सञ्चालन बिलकुलै नयाँ हो । उनी जनमत पार्टीबाट प्रदेशसभा सदस्य चुनिएपछि सदनमा प्रवेश पाएकी हुन् ।

४ मंसिर २०७९ को प्रदेशसभा निर्वाचनमा पहिलोपटक सदनमा सहभागी भएको जनमत पार्टीबाट समानुपातिक पद्धतिबाट अल्पसंख्यक समुदायकी बबिता प्रदेशसभा सदस्य बनिन् ।

प्रदेशसभा निर्वाचनलगत्तै एमाले–माओवादी–जनमत पार्टीसहितको गठबन्धन बनेका बेला एमालेबाट निर्वाचित रामचन्द्र मण्डल सभामुख बने भने ३ माघमा जनमतकी बबिता उपसभामुख बनिन् ।

राजनीतिमा आउनुअघि बबिता शिक्षक थिइन् । समाजशास्त्रमा स्नातकोत्तर उनी विभिन्न निजी विद्यालय र कलेजमा पढाउँथिन् । जनमत पार्टी मूलधारमा आएपछि उनी पनि राजनीतिमा लागिन् । जनमत पार्टीको उपाध्यक्ष हुँदै बबिता उपसभामुख बनिन् ।

सप्तरीको रुपनी गाउँपालिका–२ को मध्यमवर्गीय परिवारकी बबिताका श्रीमान महेश ईशर सरकारी जागिरे मेकानिकल इन्जिनियर हुन् ।

उपसभामुख बबिता प्रदेशसभाको कामसँगसँगै निर्वाचन क्षेत्रमा पनि उत्तिकै सक्रिय छिन् । जनताहरुको कुरा सुन्ने र छलफलहरुमा पनि सरिक हुने गरेको उनी बताउँछिन् ।

‘उपसभामुख पद जनप्रतिनिधि नै हो । जनताको बीचमा जानैपर्छ । जनताको कुरा, समस्या सुन्नुपर्छ, बुझ्नुपर्छ । कहिलेकाहीँ जान्छु, छलफलमा बस्छु । सुन्छु । समाधानको उपाय निकाल्ने प्रयास गर्छु’, बबिता भन्छिन् ।

प्रदेशसभा जनसरोकारका आवाज उठाउने र कानुन निर्माण गर्ने थलो हो । प्रदेश सरकारलाई नागरिकको पक्षमा काम गर्न खबरदारी गर्ने काम पनि प्रदेशसभाले गर्छ । उपसभामुख बबिताले प्रदेशसभा सदस्यले उठाएको जनताको समस्या सरकारबाट कार्यान्वयन गराउन आफ्नो भूमिका हुने बुझेकी छन् ।

‘म नयाँ भएर होला । केही कुरा बुझ्न नसकेको हुन सक्छु । त्यो कुरा कसरी बुझ्ने भन्ने चासो राखेको छु । सिक्दै अगाडि बढ्छु’ उनी भन्छिन्, ‘प्रदेशसभा जनताको माग सम्बोधन गर्ने महत्वपूर्णस्थल हो । सांसदहरु जनताकै आवाज उठाउनुहुन्छ । कार्यान्वयन कति हुन्छ भन्ने कुरामा निर्भर हुन्छ । कसरी प्रभावकारी भूमिका खेल्छु भन्नेमा लागेको छु । अवसरको सदुपयोग गर्छु ।’

महिलालाई अहिलेसम्मको स्थितिमा घरबाहिरको काममा चुनौती भएपनि संविधानले दिएको अवसरलाई सदुपयोग गर्नुपर्ने उनको तर्क छ । ‘महिला भएपछि चुनौती त हुन्छ नै । घरव्यवहारको साथसाथै पदीय दायित्व पनि निर्वाह गर्नैपर्छ’ उनी भन्छिन् ‘सम्भावनाहरु प्रशस्त छन् । जनताको बीचमा पुगेर, बुझेर, अझै अगाडि बढेर जनताको पक्षमा काम गर्नेछु ।’

ठूलो संघर्ष बलिदान पश्चात आएको संविधानले नै देशमा संघीयता कार्यान्वयन भएको छ । यसले बबिता मात्र होइनन्, उनी जस्ता धेरै महत्वपूर्ण पदसम्म पुग्ने अवसर पाएका छन् । संविधानमा भएका असन्तुष्टिहरुलाई संशोधन गरेर सम्बोधन गरी सर्वस्वीकार्य एवं प्रभावकारी बनाउनुपर्ने बबिताको जोड छ ।

‘धेरै संघर्ष, धेरैको सहादत पश्चात संविधान बनेको छ । देशमा संघीयता आएको छ । यसको कार्यान्वयन पक्ष कसरी प्रभावकारी बनाउने, अगाडि बढ्ने भन्ने कुरा सबैले विचार गर्नुपर्छ’ उपसभामुख बबिता भन्छिन्, ‘मधेशका केही माग अझै समेटिएको छैन । त्यसमा संविधानलाई संशोधन गरेर अथवा के गरेर हुन्छ, असन्तुष्टि मेटाउनुपर्छ । सबैलाई चित्त बुझ्दो तरिकाले संशोधन गरेर अगाडि बढ्नुपर्‍यो ।’

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?