+
+

सरकारी विद्यालय सुनसान, निजीमा पढाइ

अमृत चिमरिया अमृत चिमरिया
२०८० असोज ४ गते १९:५१
अनामनगरमा रहेको एसियन पब्लिक स्कुलमा कक्षाकोठामा भइरहेको पढाइ (दायाँ) र स्कुल छुट्टि भएपछि घर फर्किदै विद्यार्थी(बाँया) तथा रत्न राज्य स्कुलका शिक्षकहरू बाइक पार्किङ गरेर आन्दोलनमा गएपछि सुनसान देखिएको विद्यालय भवन (बीचमा)। तस्वीर: शंकर गिरी/अनलाइनखबर

४ असोज, काठमाडौं । बिहीबार दिउँसो करिब ३ बजे मध्य बानेश्वरको रत्नराज्यलक्ष्मी माविमा पुग्दा विद्यालय सुनसान थियो । कक्षा १२सम्म पढाइ हुने विद्यालयमा न शिक्षकहरु थिए न विद्यार्थी, गेटमा सुरक्षाकर्मी मात्र थिए ।

‘विहानै केही विद्यार्थी आएर फर्किए, १० बजेपनि विद्यार्थीहरु आएका थिए । विदा भनेपछि फर्केर गए’ ती सुरक्षाकर्मीले भने । पढाइ नहुनुको कारण थियो शिक्षकहरुको आन्दोलन । आन्दोलनमा गएका कतिपय शिक्षक शिक्षिकाले सवारी साधन भने विद्यालयभित्रै पार्किङ गरेका थिए । ‘सर/मिसहरु हाजिर गरेर सवारी साधन यहिँ राखेर चोकमा आन्दोलनमा जानुभएको छ’, सुरक्षाकर्मीले भने

बानेश्वरकै धोबिखोला करिडोरमा रहेको रुद्रमती आधारभूत विद्यालयमा दिउँसो ३ बजेर ४ मिनेटमा पुग्दा गेटमा ताला लागिरहेको थियो । सबै कक्षाकोठाको झ्याल ढोका बन्द थियो, विद्यालयमा शिक्षक, कर्मचारी कोही भेटिएनन् ।

यही विद्यालय अगाडिको बाटो हुँदै निजी विद्यालयका विद्यार्थीहरु विद्यालयबाट घर फर्किँदै थिए । रुद्रमती माध्यमिक विद्यालयको पारिपट्टी रहेको एसियन पब्लिक स्कुलमा ३ बजेर ११ मिनेटमा पुग्दा कोही विद्यार्थी पढिरहेका थिए, कोही छुट्टी भएर घर फर्कँदै थिए ।

विद्यालयका एक शिक्षकले पढाइमा कुनै समस्या नरहेको बताए । बरु सरकारी शिक्षकको आन्दोलनले आवतजावतमा समस्या भएको बताए ।

शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षक आन्दोलनमा छन् ।

शिक्षक महासंघका पदाधिकारीहरु निजी विद्यालयका शिक्षक, विद्यालय कर्मचारी, बालविकास सहजकर्ता, राहत शिक्षकलगायत विद्यालयका सबै शिक्षक र कर्मचारी आन्दोलनमा रहेको दाबी गर्छन् । तर सरकारी विद्यालयको ढोका बन्द हुँदा निजी विद्यालयमा भने निर्वाध पठनपाठन भइरहेको छ ।

बिहीबार बुद्धनगर आधारभूत विद्यालय नजिकै केही विद्यार्थीहरु खेलिरहेका थिए । ‘हामीलाई त म्यामले दुई–तीन दिन स्कुल बन्द हुन्छ, नआउ भन्नुभएको छ । खुलेपछि आफैं बोलाउँछु भनेका छन्,’ ती विद्याथीले भने । बुद्धनगरमै रहेको केएमसी विद्यालयमा भने विद्यार्थीहरुले नियमित पढाइ भइरहेको छ ।

काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएका छन् । शिक्षकहरु विद्यालय जान छाडेर माइतीघर–नयाँबानेश्वर सडकमा भइरहेको आन्दोलनमा सहभागी भएका छिन् । बन्द भएको विद्यालयमा विद्यार्थी आए पनि फर्किनुपरेको थियो ।

विद्यालयमा नगर प्रहरीको अनुगमन

बिहीबार काठमाडौं महानगरपालिकाले विद्यालयको अनुगमन गर्न नगर प्रहरी खटाएको थियो ।

‘हामी अनुगमन गर्न जाँदा सबै विद्यालय बन्द भेटिएका छौं, विद्यालय बन्द भएको टिप्पणी उठाएर महानगरपालिकाको शिक्षा विभागमा हामीले पठाएका छौं,’ नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले भने ।

महानगरपालिकाको शिक्षा विभागलाई नगर प्रहरीले प्रत्येक सरकारी विद्यालयमा पुगेर हाजिर हेर्दै, विद्यालयको कोठमा कोठामा पुगेर प्रतिवेदन बनाएर बुझाएको छ ।

काठमाडौं महानगरपालिकाले शिक्षकहरुको आन्दोलनले विद्यार्थीहरुको भविष्यमाथि खेलबाड गरेको भन्दै यस्ता गतिविधि सह्य नहुने जनाएको छ । महानगरका मेयर बालेन शाहका प्रमुख स्वकीय सचिव भुपदेव शाहले महानगरको निर्देशन उलंघन गर्नेहरुलाई कानुन बमोजिम हदैसम्म कारबाही गर्ने बताए ।

‘प्रत्येक विद्यालयका शिक्षकहरुको रिपोर्ट तयार हुँदैछ, कानुनमा उल्लेख भएको कारबाही के हुनसक्छ, त्यो सबै गर्ने तयारी गरेका छौं, यो सहनसक्ने विषय नै होइन’, शाहले अनलाइनखबरसँग भने ।

महानगरका प्रवक्ता नविन मानन्धरले नगर प्रहरीले दिने प्रतिवेदनका आधारमा कारबाही गर्ने बताए । ‘नगर प्रहरीहरु विद्यालय विद्यालयमा पुगेर रिपोर्ट ल्याएको छ । यसको शिक्षा विभागले अध्ययन गरिरहेको छ । रिपोर्ट हेरेर सकिएपछि के गर्ने बारेमा निर्णय हुन्छ’, उनले भने ।

काठमाडौं महानगरपालिकाका अन्तर्गत केन्द्रीय कारागारभित्रको बाहेक ८६ वटा सामुदायिक विद्यालयहरु रहेका छन् । काठमाडौं महानगरले विद्यालय अनुगमनको क्रममा विद्यालय बन्द भएको पाइएमा प्रधानाध्यापक तथा शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएको थियो ।

तर काठमाडौं महानगरपालिकाका प्रधानाध्यापकहरुले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै अर्को सूचना नभएसम्मका लागि महानगरभित्रका विद्यालयका शिक्षक तथा कर्मचारीलाई आन्दोलनमा सहभागी हुन आह्वान गरेको थियो ।

सरकारले हालै ल्याएको विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै शिक्षकहरुले बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् ।

   

तस्वीरहरू: शंकर गरी/अनलाइनखबर

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?