+
+

वैद्य र बास्तोला निकट पत्रकार संगठनबीच एकता, क्रान्तिकारी प्रेस संगठन घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ८ गते ७:१२

८ असोज, काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघ र क्रान्तिकारी पत्रकार संगठन, नेपालबीच एकता भएको छ । एकतापछि नयाँ संगठनको नाम ‘क्रान्तिकारी प्रेस संगठन’ घोषणा गरिएको छ ।

क्रान्तिकारी पत्रकार महासंघ मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट र क्रान्तिकारी पत्रकार संगठन, नेपालधर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) निकट पत्रकारका संगठन हुन् । यसअघि वैद्य र बास्तोला नेतृत्वको पार्टीबीच एकता भइसकेकाले जनवर्गीय तथा शुभेच्छुक संस्थाहरुबीच पनि एकता गर्ने क्रममा पत्रकार संगठनहरुबीच एकता भएको हो ।

ललितपुरको कुपण्डोलस्थित वैकुण्ठ–चेत स्मृति भवनमा आयोजित एकता भेलाले दुवै संगठनको एकताबाट नयाँ संगठनको नाम ‘क्रान्तिकारी प्रेस संगठन’ पारित गरेको हो ।

शनिबार राति सम्पन्न भेलाबाट संगठनको संयोजकमा कमल बुढा र सहसंयोजकमा नारायण पंगेनी चयन भएका हुन् । दुवै संगठनका देशैभरबाट उपस्थित प्रतिनिधिहरुको भेलाले ६५ सदस्यीय राष्ट्रिय सम्मेलन आयोजक कमिटी गठन गरेको छ ।

भेलाले पत्रकारहरुको पेशागत सुरक्षाका विषयमा सशक्त आवाज उठाउने तथा नेपाल पत्रकार महासंघले पत्रकार शुद्धीकरणका नाममा पार्टीमा आस्था राखेकै आधारमा महासंघको सदस्यताबाट बञ्चित गरिएको भन्दै त्यसको भण्डाफोर गर्ने लगायतका समसामयिक प्रस्ताव पारित पनि गरेको सहसंयोजक पंगेनीले जानकारी दिए ।

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)बीच पार्टी गत वैशाख १८ गते एकता भई ‘क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल’ घोषणा भएको थियो ।

दुई पार्टीबीच एकतापछि त्यसका जनवर्गीय तथा शुभेच्छुक संस्थाहरुबीच एकता प्रक्रिया कार्यक्रम जारी रहेको क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बास्तोलाले बताए । यसअघि विद्यार्थी, युवा, महिला, मजदुर, बुद्धिजीवी लगायतका जनवर्गीय संगठनका एकता सम्मेलन सम्पन्न भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?