+
+

आईमएई ग्रुपले चिनियाँ कम्पनीसँगको सहकार्यमा डिज्नील्याण्ड बनाउने, १० अर्ब लगानी 

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ११ गते १५:२९

११ असोज, काठमाडौं । आईएमई ग्रुपले चीनको चाइना सीएएमसी इन्जिनियरिङ (क्याम्के) सँगको प्राविधिक सहयोगमा ठूला पर्यटकीय गन्तव्य विकास गर्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा चीनको सांघाइ डिज्नील्यान्डजस्तै थिम पार्क बनाउने गरी दुई कम्पनीबीच सम्झौता भएको हो ।

चीनको चाइना सीएएमसी इन्जिनियरिङ (क्याम्के) चाइना नेसनल मेसिनरी इन्डस्ट्री कर्पोरेसन (सिनोम्याक)को सब्सिडियरी हो ।

यसले इन्जिनियरिङको डिजाइन, निर्माण तथा कन्सल्टिङको काम गरेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको काम पनि यही कम्पनीले गरेको थियो, जुन निर्धारित मितिमै सम्पन्न भएको थियो । विश्वभरि नै उसले सयौं पूर्वाधार तथा उद्योगहरु निर्माणको काम गरेको छ ।

नेपालमा विश्वस्तरका पर्यटकीय गन्तव्यहरु केबलबार, थिम पार्कलगायत तथा उद्योग, पूर्वाधार र सूचना प्रविधिका क्षेत्रमा पनि सहकार्य गर्ने गरी सम्झौता भएको आईएमई समूहका अध्यक्ष चन्द्र ढकालले जानकारी दिए ।

यो सम्झौताले दुई कम्पनीसँग रहेको अनुभव र विशेषज्ञता आदान प्रदानमार्फत परियोजनाको इन्जिनियरिङलगायत गतिविधि सञ्चालन गरिने पनि उनले बताए ।

चीनको सांघाइस्थित डिज्नील्याण्ड थिमपार्क । नेपालमा पनि यही मोडलको थिमपार्क बनाउने आईएमईको योजना छ ।  

‘पहिलो चरणमा ठूलो आकारमा थिम पार्क बनाउने छौं, यो पार्क सांघाइ डिज्नील्याण्ड वा सिंगापुरको सान्तोसा आइल्यान्डजस्तै किसिमको हुनेछ,’ हस्ताक्षरपछि ढकालले भने ।

यो परियोजनामा प्राविधिक सहयोग चिनियाँ कम्पनीले गर्ने तथा लगानी आईएमसी समूहले गर्ने गरी सम्झौता भएको हो ।

थिम पार्क निर्माणको प्रारम्भिक काम सुरु भएको ढकालले बताए । ‘यसका लागि ठूलो क्षेत्रफल चाहिने हुनाले यो काठमाडौंभन्दा बाहिर निर्माण हुने छ, सम्भवतः चितवनमा यसको निर्माण हुनेछ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?