+
+

एसियाडको छैटौं दिन : ब्याडमिन्टनमा पुरुष टिम विजयी, पब्जीमा दोस्रो चरणमा

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० असोज ११ गते २०:३८
प्रिन्स दाहाल । फाइल तस्वीर

११ असोज, हान्झाउ । १९औं एसियाली खेलकुद एसियाडको छैटौं दिन पनि नेपालको प्रदर्शन निराशाजनक नै रह्यो ।

बिहीबार ब्याडमिन्टनमा पुरुष टिम इभेन्टमा मात्रै नेपाल विजयी भयो । यद्यपि पबजीको समूह चरणमा दोस्रो हुँदै नेपाल दोस्रो चरणमा पुग्यो भने महिला फुटबलमा बंगलादेशसँग बराबरी खेल्यो ।

ब्याडमिन्टनको पुरुष टिमले मंगोलियालाई अन्तिम १६ को खेलमा ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

पुरुष टिम इभेन्टमा नेपालका प्रिन्स दाहालले मंगोलियाका गेरेलसुख जार्गलसाइखानलाई तथा सुनिल जोशीले अभितुगुल्दर ब्याम्बाजाभलाई समान २-० ले हराउँदै २-० को अग्रता लिएको थियो । प्रिन्स २१-८, २१-१४ तथा सुनिल २१-११, २१-७ ले विजयी भए ।

तर विष्णु कटुवाल भने सुमियासुरेन एनखबातसँग २-१ ले पराजित भएपछि मंगोलियाले पुनरागमन गरेको थियो । प्रतिस्पर्धात्मक खेलमा विष्णु २१-२३, २४-२२, १७-२१ ले पराजित भए ।

तर प्रिन्स दाहाल र विष्णु कटुवालको जोडीले जोल्जाया मुनखबातार र एनखबात ओलोनबायरको जोडीलाई २-० ले पराजित गर्दै खेल जितेको हो । प्रिन्स र विष्णुको जोडी २१-८, २१-९ ले विजयी भए ।

महिला टिम इभेन्टमा भने नेपाल माल्दिभ्ससँग ३-१ ले पराजित भए । नेपालकी रशिला महर्जन माल्दिभ्सकी फतिमाथ नबाहा अब्दुल रज्जाकसँग २-१ ले, नङ्शल तामाङ अमिनाथ नाबिहा अब्दुल रज्जाकसँग २-० पराजित भए ।

अनु माया राईले अइसाथ अफ्नान असिदलाई २-० ले पराजित गरेपछि नेपालले खेलमा पुनरागमन गरेको थियो । तर रशिला र अनुको जोडी फतिमाथि र अमिनाथको जोडीसँग २-० ले पराजित भएपछि नेपाल खेलमा पराजित भएको हो ।

इस्पोर्ट्समा पबजी टिम दोस्रो चरणमा

१९औं एसियाड अन्तर्गत पदकको आशा गरिएको इस्पोर्ट्स अन्तर्गत पिस एलिट एसियन गेम्स भर्सन (पबजी) मा नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ ।

चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा बिहीबार भएको समूह सी को प्रारम्भिक चरणमा नेपाल दोस्रो हुँदै दोस्रो चरणमा प्रवेश गरेको हो ।

समूहमा नेपालसहित दक्षिण कोरिया, मंगोलिया र भियतनाम थिए । यस समूहमा दक्षिण कोरिया शीर्ष स्थानमा हरँदा नेपाल दोस्रो भएको थियो ।

कोरियाको ४७ मिनेट २८.४६७ सेकेन्डको टाइमिङ निकाल्दा नेपालको ५२ मिनेट २०.२८ सेकेन्ड टाइमिङ थियो । प्रारम्भिक चरणमा चार समूहमा दोस्रो भएका मध्ये बेस्ट टाइमिङका आधारमा नेपाल दोस्रो चरणमा छनोट भएको हो ।

अब दोस्रो चरणमा नेपालले शुक्रबार समूह चरणमा प्रतिस्पर्धा गर्नेछ र त्यहाँबाट उत्कृष्ट ८ टिम अर्को चरणमा पुग्नेछन् ।

प्रारम्भिक चरणमा समूह ए बाट हङकङ, समूह बी बाट चाइनिज ताइपेई, समूह सी बाट दक्षिण कोरिया र नेपाल तथा समूह डी बाट इन्डोनेसिया दोस्रो चरणमा प्रवेश गरेका हुन् । वरीयताका आधारमा आयोजक चीनसहित थाइल्याण्ड प्यालेस्टाइन र अफगानिस्तान यसअघि नै अन्तिम १६ मा पुगिसकेका छन् ।

अब अन्तिम १६ मा रहेका टिमलाई चार समूहमा विभाजन गरेर खेलाइनेछ । जहाँ नेपाल रहेको समूह डी मा कजाखस्तान, इन्डोनेसिया र साउदी अरेबिया छन् ।

महिला फुटबलमा बराबर

१९ औं एसियाडको महिला फुटबल खेलमा नेपालले बिहीबार बंगलादेशसँग १–१ को बराबरी खेलेको छ ।

रेखा पौडेलले खेलको अन्त्यतिर गोल गरेपछि नेपालले बंगलादेशसँग बराबरी गरेको हो ।

समूह डी अन्तर्गत वेन्झाउमा भएको खेलमा बंगलादेशले पहिलो हाफमा अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन । सबिना खातुनले ४४ औं मिनेटमा गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिईन् । पहिलो हाफमा पछि परेको नेपालका लागि रेखाले८२ औं मिनेटमा बराबरी गोल गरिन् ।

नेपाल र बंगलादेशले यसअघि नै दुई खेलमा हार बेहोरेकोले यो खेल प्रतिष्ठाको लागि मात्र थियो । दुवै टिम यसअघि जापान र भियतनामसँग पराजित भइसकेका छन् ।

पहिलो खेलमा भियतनामविरुद्ध २–० पराजित भएको नेपाल दोस्रो खेलमा पूर्व विश्व विजेता जापानविरुद्ध ८–० ले पराजित भएको थियो ।

पहिलो पटक एसियाडमा सहभागि भएको नेपाली महिला फुटबल टोलीले एक बराबरी र दुई हारपछि प्रतियोगिता सकाएको छ ।

गल्फमा पहिला दिन सन्तोषजनक प्रदर्शन

१९औं एसियाडअन्तर्गत गल्फको व्यक्तिगत स्पर्धामा नेपालले बिहीबार सन्तोषजनक खेल प्रदर्शन गरेको छ ।

पार ७२ को वेस्ट लेक इन्टरनेसनल गल्फ कोर्समा पहिलो दिन शुक्रबहादुर राईले दुई अन्डर ७० खेले । उनी समग्रमा ३१औं स्थानमा छन् । नेपालले पदकको आशा गरेको सद्भाव आचार्यले एक अन्डर ७१ र सुवास तामाङले इभन पार ७२ मा पहिलो दिनको खेल सकाए । सद्भाव समग्रमा ३८औं र सुवास ४७औं स्थानमा छन् । दुई ओभर ७४ खेलेका युवराज भुजेल ५८औं स्थानमा छन् ।

पुरुषतर्फ पहिलो दिन शीर्ष स्थानमा रहेका कोरियाका जाङ युविनको ११ अन्डर ६१ स्कोर छ ।

महिला एकलतर्फ सुस्मा सिग्देल १६ ओभर ८८ स्कोरका साथ समग्रमा ३६औं स्थानमा छिन् । २० ओभर ९२ खेलेकी कस्मिरा शाह समग्रमा ३८औं स्थानमा छिन् । महिलातर्फ ३९ खेलाडी सहभागी गल्फमा शीर्ष स्थानका रहेकी जापानकी बाबा साकीको सात अन्डर ६५ स्कोर छ ।

तेक्वान्दोमा चुनौती समाप्त

१९औं एसियाडमा तेक्वान्दोतर्फ नेपालको चुनौती समाप्त भएको छ । बिहीबार नेपालका ज्याकी यादव जोर्डनी खेलाडीसँग पराजित भएपछि नेपालको पदक जित्ने आशा समाप्त भएको हो ।

लिनान स्पोर्ट्स कल्चर एण्ड एक्जिबिसन सेन्टरमा भएको पुरुक्ष ८० केजीको अन्तिम १६ को खेलमा ज्याकी जोर्डनी खेलाडी अनास सादेकसँग २-० ले सजिलै पराजित भए । ज्याकी अनास विरुद्ध पहिलो चरणमा १०-१ र दोस्रो चरणमा १३-१ ले पछि परे ।

यस पटक तेक्वान्दोमा सहभागि भएका ११ खेलाडी मध्ये तीन खेलाडीले मात्रै एक-एक खेल जित्न सफल भए । १९औं एसियाडको उद्घाटन समारोहमा मार्सपासमा उसुकी निमा घर्तीमगरसँगै नेपालको झण्डा बोकेका अनुभवी खेलाडी बिर बहादुर महराबाट केही आशा राखेपनि उनी पहिलो खेलमै पराजित भए ।

पुम्सेका प्रेम बहादुर लिम्बु एक खेल जित्दै क्वाटरफाइनलमा पुगे पनि त्यसपछि अघि बढ्न सकेनन् ।  ग्योरोगीतर्फ अन्जली तामाङ र गोविन्द बहादुर आलेले एक-एक खेल जित्नु बाहेक बाँकी खेलाडीले कुनै खेल पनि जित्न सकेनन् । अन्जली र गोविन्दले अन्तिम ३२ को खेल जितेपनि अन्तिम १६ को खेलमा पराजित हुँदै बाहिरिए ।

बक्सिङमा रविन थापा पराजित

१९औं एसियाड अन्तर्गत बिहीबार भएको बक्सिङको एक मात्र खेलमा नेपालका रविन थापा पराजित भएका छन् ।

पुरुष ५१ केजीमुनी तौल समूह अन्तर्गत अन्तिम १६ को खेलमा रविन उत्तर कोरियाली खेलाडी चोनयोङ सोसँग ५-० ले पराजित भएका छन् । अन्तिम ३२ मा इन्डोनेसियाका खेलाडीलाई पराजित गर्दै अघिल्लो चरण पुगेका रविन अन्तिम १६ बाट अघि बढ्न सकेनन् ।

अनुशिया तन्डुकार हिटबाटै बाहिर

१९औं एसियाड अन्तर्गत पौडीतर्फ नेपालकी अनुशिया तन्डुकार हिट चरणबाटै बाहिरिइन् । महिला ५० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा उनले २९.५३ सेकेण्डमा निर्धारित दूरी पूरा गरेकी थिइन् ।

हिट १ मा प्रतिस्पर्धा गरेकी अनुशियाले आप्नो हिटमा तेस्रो स्थानमा रहेपनि अघिल्लो चरणमा पुग्न सकिनन् । उनी समग्रमा २६औं स्थानमा रहे ।

टेबल टेनिसमा नविता र सिक्का पराजित

१९औं एसियाड अन्तर्गत टेबल टेनिसमा महिला सिंगल्सतर्फ नेपालकी नविता श्रेष्ठ र सिक्का सुवाल श्रेष्ठ बिहीबार पराजित भएका छन् ।

नविता अन्तिम ३२ को खेलमा भारतकी मनिका बात्रासँग ४-० ले पराजित भइन् । मनिकाले नवितालाई ११-५,  ११-४,  ११-३,  ११-२ ले हराइन् ।

यस्तै महिला सिंगल्समै अन्तिम ३२ को खेलमा नेपालकी सिक्का सुवाल जापानकी मिउ हिरानोसँग ४-० ले नै पराजित भइन् । मिउ हिरानोले सिक्कालाई ११-५,  ११-४,  ११-३,  ११-२ ले पराजित गरिन् ।

यस्तै महिला डबल्समा पनि नविता र सिक्काकै जोडी पराजित भए । यो जोडी चीनका मेङ चेन र यिदी वाङको जोडीसँग ४-० ले पराजित भए । उक्त खेल चिनियाँ जोडी ११-३, ११-४, ११-१ ले पराजित भए ।

फेन्सिङ पुरुष र महिला टिममा पराजित

एसियाड अन्तर्गत बिहीबार फेन्सिङमा नेपालको पुरुष र महिला टिम दुवै पराजित भयो ।

पुरुष साब्रे टिम कजाखस्तानसँग ४५-१५ ले पराजित भयो । यस्तै महिला फोइल टिम क्वाटरफाइनलमा जापानसँग ४५-१० ले पराजित हुँदै बाहिरियो ।

स्क्वासमा नेपाल भारतसँग पराजित

१९औं एसियाड अन्तर्गत पुरुष टिम इभेन्टमा बिहीबार नेपाल पराजित भएको छ ।

पुरुष टिम इभेन्ट अन्तर्गत समूह ए मा नेपाल भारतसँग ३-० ले पराजित भयो ।

नेपालका अमृत थापा मगर भारतका अभय सिंहसँग, अरहान्त केशर सिंह महेश मानगाएनकारसँग र अमिर ब्लोन हरिन्दर पाल सिंह सन्धुसँग समान ३-० को स्कोरमा पराजित भए ।

सिंगल्सको पहिलो खेलमा अमृत थापामगरले भारतका अभय सिंहसँग ११–२, ११–४, ११–१ ले पराजित भए भने अर्को खेलमा अराहन्त केशर सिंहले महेश मान्गोनकरसँग ११–२, ११–३, ११–३ ले  पराजित भएपछि भारतले २–० अग्रता बनायो। तेस्रो खेलमा पनि अमिर ब्लोनले हरिन्दर पाल सिंहसँग ११–१, ११–२, ११–६ ले भएपछि भारतले सोझो सेटमा नतिजा आफ्नो बनायो ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?